+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हारको विगत बदल्ने चाहनामा पृथ्वीसुब्बा

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २४ गते १६:०७

गण्डकीको मुख्यमन्त्रीबाट सत्ताच्यूत भएका पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुन चाहन्थे । संघीयतालाई बलियो बनाउन संघीय सरकार अनुदार भएको भन्दै कार्यकालभरि केन्द्रतिर ‘चोरऔंला’ ठड्याएका पृथ्वीसुब्बालाई यो चुनावमा नेतृत्वले सबक सिकाउने हतियार चलायो ।

फेरि मुख्यमन्त्री हुने पृथ्वीसुब्बाको योजनालाई इन्कार गर्दै एमाले शीर्ष नेतृत्वले लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाइदियो । गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा दिएका अभिव्यक्ति र गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका कारण केपी शर्मा ओली र महासचिव शंकर पोखरेल खुसी थिएनन् । मुख्यमन्त्री गुरुङले आफ्नै नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेर संघीय सरकारले नै संघीयतालाई कमजोर बनाउन खोजेको आरोप लगाएका थिए ।

लमजुङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट देव गुरुङ उठ्ने पक्का जस्तै भएकाले पनि भरसक देव गुरुङसँग प्रतिस्पर्धा गर्नभन्दा प्रदेशमै उठेर फेरि मुख्यमन्त्री बन्ने योजना पृथ्वीसुब्बाले बुनेका थिए । तर, प्रतिनिधिसभाको टिकट हात परेपछि अहिले चुनावी मैदानमा उनले भनिरहेका छन्, ‘नेतृत्वले मुख्यमन्त्री भइसकेको मान्छे, संघीयता बलियो बनाउन पनि राम्रो मन्त्रालय सम्हाल्ने गरी प्रतिनिधिसभामै चुनाव लड्नुपर्छ भनेर म आएको हुँ ।’

गण्डकीको मुख्यमन्त्री भएर काम गरिरहँदा एमालेको सरकार ढाल्नकै लागि माओवादीसहितको दलले गठबन्धन गरेकाले आफू पनि त्यसको शिकार भएको उनले चुनावी आमसभाहरूमा बताउने गरेका छन् ।

पहिचानको राजनीति गर्ने भन्दै अशोक राईहरू एमालेबाट बाहिरिंदा पृथ्वीसुब्बाले पार्टी छाडेनन् । अशोक राईहरूलाई बाहिरिने वातावरण बनाएर आफू चाहिं एमालेमै बसेको आरोप आज पनि उनीमाथि बेला–बेला उठ्ने गरेको छ । तर, अहिले पनि एमालेभित्र पार्टी नेतृत्वसँग हाकाहाकी कुरा गर्ने र आफ्नो एजेण्डा राख्ने नेताहरूमध्ये उनी पर्छन् ।

एमाले पार्टीभित्र हस्तक्षेप र आफ्नो हैसियत बढाउँदै लगेका पृथ्वीसुब्बा निर्वाचन क्षेत्रमा भने कहिल्यै बलियो देखिएनन् । सातौं पटक चुनावी मैदानमा उत्रिएका उनले ४ पटक त हारको मार नै खेपेका छन् ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेर मुख्यमन्त्री भएका पृथ्वीसुब्बा त्यसअघि पहिलो संविधानसभा निर्वाचन जितेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएका थिए ।

यसअघि एमाले सचिव हुँदै गर्दा प्रदेशमा झरेका उनी पार्टीभित्र र बाहिर बौद्धिक, तार्किक तथा निडर नेताका रूपमा चिनिन्छन् । अध्ययनशील र तथ्यसहित गर्ने उनको भाषण कलाको प्रशंसा हुने गरेको छ ।

२०१४ साल फागुन १ गते तत्कालीन गिलुङ गाविस–८, टक्सार (हाल क्होलासोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा जन्मेका गुरुङले विज्ञानमा स्नातक गरेका छन् । २०३४ सालदेखि तत्कालीन मालेको सदस्यता लिएका उनी शिक्षणसँगै २०४० सालमा राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।

२०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएका उनी सुरुदेखि नै हक्की स्वभावका थिए । शिक्षण कालमै पञ्चायतविरुद्धको आन्दोलन छेडेका पृथ्वीसुब्बा पटक–पटक जेल परेका छन् ।

कांग्रेसको दबदवा रहेको लमजुङबाट उनी राष्ट्रिय राजनीतिको केन्द्रमा उकालो त चढिरहेका छन् तर पटक–पटक निर्वाचनमा हार खेपेको अनुभव पनि छ । राजनीतिक जीवनको उत्तराद्र्धमा उनी जटिल परीक्षामा सहभागी छन् । यो परीक्षामा उत्तीर्ण हुनै पर्ने दबाव उनीमाथि छ ।

उनीसँगको प्रतिस्पर्धामा यसपटक नेकपा हुँदाका सहयात्री माओवादीका महासचिव देव गुरुङ छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा र माओवादी महासचिव देवबीचको यो प्रतिस्पर्धालाई देशैभरि निकै चासोका साथ हेरिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी र एमालेको एकता गरेर देशैभरि सन्देश दिन नेतृत्व गरेका पृथ्वीसुब्बाले अर्को चुनावमा देव नै प्रतिस्पर्धी हुन्छन् भन्ने कल्पना गरेका थिएनन् । २०७४ मा जसलाई जिताउन लागेका थिए, यो चुनावमा उसैलाई हराउनुपर्ने दबाव र चुनौती पृथ्वीसुब्बासँग छ ।

लमजुङका एक एमाले नेता भन्छन्, ‘सम्भवतः पृथ्वीसुब्बाको यो अन्तिम चुनाव हुन सक्छ । सातौं पटक त प्रतिस्पर्धा नै गरिसकेका छन् । लमजुङमा सधैंभरि उनले मात्रै टिकट पाउनुपर्छ भन्ने हुँदैन भन्ने आवाज यसपटक नै सुनिएको थियो । उमेर हदका कारण पनि अब अप्ठेरो होला ।’ तर, ६५ वर्षीय पृथ्वीसुब्बा पार्टी र देशका लागि अझै आफ्नो आवश्यकता रहेको उद्घोष गर्दै जोसका साथ चुनावी अभियानमा छन् ।

लोकतन्त्र, परिवर्तनका पक्षमा आफूले निरन्तर संघर्ष गरेको बताउँदै उनले आफू मुख्यमन्त्री हुँदा धेरै कामको थालनी गरेको तर कांग्रेस सरकार आएपछि रोकिएको भन्दै अब आफ्नै आवश्यकता रहेको मतदातालाई भनिरहेका छन् ।

पटक–पटक आदिवासी जनजाति आन्दोलनको नेतृत्वसमेत गर्दै पार्टी पदाधिकारीमा प्रवेश गरेका उनले जनजाति भाषा, संस्कृतिको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यकता रहेको बताइरहेका छन् ।

पहिलो संविधानसभामा आदिवासी जनजाति सभासद् सदस्य रहेको ‘ककस’ को नेतृत्व गर्दा चर्चा र पार्टीभित्रै अप्ठेरोमा पनि परेका थिए । लमजुङमा गुरुङ र आदिवासी जनजाति समुदायको भोट यस पटक देव गुरुङसँग बाँडिने भएकाले पृथ्वीसुब्बालाई चुनौती थपिएको छ ।

उनी संघको उम्मेदवार हुँदा संविधानसभा सदस्य जमिन्द्रमान घले र कृष्ण अधिकारी प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । केही पार्टीभित्रैको अन्तरद्वन्द्वले पनि पृथ्वीसुब्बालाई चुनौती बढ्न सक्ने अनुमान धेरैको छ । तर, पृथ्वीसुब्बाले फेरि पनि मुख्यमन्त्री लमजुङले नै पाउने एजेण्डा जनतामाझ राखिरहेका छन् । उनले संविधानसभा सदस्य जमिन्द्रमान अबको मुख्यमन्त्री बन्न सक्ने बताउन थालेका छन् ।

एउटा मात्र प्रतिनिधिसभा रहेको लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । उनको गृहपालिका क्वहोलासोंथार गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

तर, संघमा देव गुरुङसँगको प्रतिस्पर्धा र स्थानीय तहको मत हेर्दा केही जोखिम छ । पृथ्वीसुब्बा पनि अहिलेको गठबन्धनको सरकारले जनताको हुर्मत लिने काम गरेकाले आफ्नो जितको विकल्प नदेखेको बताउँछन् ।

राष्ट्रिय राजनीतिमा चर्चामा र केन्द्रमा रहिरहने तर निर्वाचन क्षेत्रमा हार व्यहोर्ने पृथ्वीसुब्बाले यसपटक हारको इतिहास सच्याउन चाहन्छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?