
काठमाडौं । १२ वर्षको अन्तरालपछि फुटबल विश्वकपको नयाँ संस्करण आयोजना भएको हो । दोस्रो विश्वयुद्धका कारण भएको विनाश, त्रासदी र राजनीतिक उथलपुथलको असर प्रमुखतः सबै युरोपेली देशले व्यहोरेका थिए ।
संसारका अरु हिस्सामा पनि यसको दुस्परिणाम महशुस गरिएको थियो । यसैको फलस्वरुप चौथो विश्वकपको आयोजक खोज्न नै फिफालाई धेरै समय लाग्यो ।
ऐतिहासिक पहिलो संस्करणयता दक्षिण अमेरिकाले आयोजना अवसर पाएको थिए । सोही अवसरको उपयोग गरी ब्राजिलले आफ्नो देशमा पहिलोपल्ट विश्वकपको आयोजना अधिकार पायो ।
आर्थिक कमजोरी र राजनीतिक कारणले छनोट प्रक्रिया निकै जटिल थियो । साविक विजेता इटली आफैं ठूलो संकटमा थियो । सुपर्गा हवाई दुर्घटनामा उसले आफ्ना थुप्रै सुपरस्टार खेलाडीलाई गुमाउनुपरेको थियो । त्यसैले ब्राजिल विश्वकपमा इटलीले युवा खेलाडी समावेश गरी कमजोर टिम पठाएको थियो ।
विश्वकपमा छनोट भएर पनि भारत र टर्कीले आर्थिक र व्यवस्थापकीय कारण देखाउँदै नाम फिर्ता लिउ । संसारमा फुटबलको जन्मदाता बेलायत फिफाको सदस्य बनेसँगै पहिलोपल्ट विश्वकपमा सहभागी भयो ।
प्रतियोगिताको मुख्य स्पर्धा सुरु हुँदासम्म दुई समूहमा चार–चार, एक समूहमा तीन र एउटा समूहमा दुई वटा टिममात्र थिए । समूहको विजेता फाइनल चरणमा पुगेका थिए । खेलको संख्या बढाउन र अधिकतम टिम विक्रीको लक्ष्यसहित रोउण्ड रोविन प्रणालीमा खेल सन्चालन गरिएको थियो ।
मराकाना रंगशालामा उपस्थित २ लाख घरेलु समर्थकको अगाडि ब्राजिल आफ्नो पहिलो विश्वकप उपाधिको प्रमुख दावेदारका रुपमा देखिएको थियो । ४७औं मिनेटमा गोल गरी उसले खेलमा अग्रता पनि बनायो । तर, पुनरागमन गर्दै उरुग्वेले १३ मिनेटको अन्तरमा २ गोल गरी दोस्रोपल्ट विश्व च्याम्पियन बन्यो ।
इटलीपछि उरुग्वे दुईपल्ट विश्वकप जित्ने दोस्रो देश बन्यो ।
एक दशकभन्दा बढी समयदेखि दुःख र युद्धलाई भुलेर संसारले एउटा फरक उत्सव देख्न पायो । आयोजकका रुपमा अगाडि आएको ब्राजिलले तीन साताका लागि संसारभरका फुटबल समर्थकलाई खुसी दियो ।
आयोजक ब्राजिलले रियो दि जेनेरियोमा २ लाख क्षमताको एउटा विशाल रंगशाला, मराकाना निर्माण गरेको थियो । फाइनल तथा ब्राजिलले खेलेका सबै खेलमा यो रंगशाला पूर्ण क्षमतामा भरिएको थियो । पहिलोपल्ट विश्वकपमा खेलाडीले नम्बर लेखिएको जर्सी लगाएका थिए ।
ब्राजिल फुटबल महासंघसँग असहमति व्यक्त गर्दै अर्जेन्टिनाले यो विश्वकपबाट आफ्नो नाम फिर्ता लिएको थियो । युद्धको असर बाँकी रहेका जर्मनी, चेकोस्लोभाकिया र हंगेरीजस्ता ‘पावर हाउस’ टिमले यो विश्वकपमा सहभागी हुन सकेनन् । यो विश्वकपमा एसियाबाट कुनै टिम थिएनन् ।
तथ्यांकमा विश्वकप १९५०
आयोजकः ब्राजिल
टिमः १३
फर्म्याटः समूह चरण, फाइनल चरण राउण्ड रोविन
खेलः २२
गोलः ८८
विजेताः उरुग्वे
उपविजेताः ब्राजिल
गोल्डेन बुटः अडेमिर (ब्राजिल)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4