+
+

भूकम्पले उजाडेको परिवार : जसका लागि मुग्लान पसे, उनै रहेनन्

रामहरि ओझा रामहरि ओझा
२०७९ कात्तिक २४ गते २०:२८

२४ कात्तिक, डोटी । श्रीमान्-श्रीमती, दुई छोरी र एक छोरा, चिटिक्क परेको परिवार । यही परिवारको आधारभूत आवश्यकता पूरा गर्न दुई बर्ष पहिले मुग्लान पसेका थिए पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम सिंह बोहरा ।

उनी आफू दुःख गरेर भएपनि श्रीमती र छोराछोरीको अनुहारमा खुशी देख्न चाहन्थे । गाउँमा आम्दानीको बाटो केही नभएपछि उनी रोजगारीको लागि भारत गए । पछिल्लो पटक दुई बर्ष भएको थियो उनले घर छोडेको ।

भारतको मुम्बईमा रोगजारी गर्ने पदम टाढा भएको र बाटोमा धेरै खर्च हुने भएका कारण हतपत्त घर आउँदैनथे । फोनबाटै परिवारको हाल खबर बुझ्थे, परिवारलाई खर्च पठाइदिन्थे । मंगलबार साँझ करीव नौ बजेतिर पनि उनले फोनमै श्रीमतीसंग कुरा गरे, छोराछोरीको हाल खबर बुझे ।

सोही दिन मुम्बईबाट घर पुगेका प्रेम बोहरासंग पदमले छोराछोरीका लागि लुगा कपडा पठाइदिएका थिए । यसबारे पदमले परिवारलाई खबर पनि दिएका थिए ।

तर, पदमको यो सुखी संसार छिनभरै हावामा बिलिन भयो । मंगलबार मध्यराति आएको भूकम्पले पदमको हराभरा जीवनमा उजाड बनाइदियो । भूकम्पमा परी उनकी जीवन साथी भगवती बोहरा, १३ बर्षीया छोरी सीता बोहरा र ८ बर्षीय छोरा हर्क बोहराले ज्यान गुमाए । स्थानीयले तत्कालै उद्दार गर्दा ११ बर्षीय छोरी धौलीको ज्यान बच्यो, उनी घाइते भइन् ।

घटनाबारे आफन्तहरुले राति नै मुम्बइमा रहेका पदमलाई जानकारी गराए । यस्तो खबरले उनको स्वास रोकिन थाल्यो । उनी आफूले बाँचेर पो के हुने हो र भन्दै चिच्याउन थाले । स्थानीय रामबहादुर बोहरा भन्छन् ‘फोनमा कुरा गर्दा अब मेरो केही बाँकी रहेन्, मैले पो बाँचेर के गर्ने हुँ र भन्दै चिच्याउनुभयो ।’ पदमलाई संगै भएका आफन्तहरुले सम्झाइ बुझाइ गरे । स्वदेश फर्काउने जोहो गरे ।

आफन्तहरुको सहरामा पदम बिहीबार बिहान गाउँमा त पुगे तर, उनलाई आफ्नै जन्मथलो बिरानो लाग्यो । न आफ्नो घर देख्छन्, न छिमेकीको घर । गाउँमा देख्छन् त जताततै टाँगिएका त्रिपाल । आफन्तको शोकमा कपाल खौरिएका अनुहार अनि रुदाँरुदै बसेका स्वरहरु, भत्केका घरका भग्नावशेषहरु । चारैतिर आँखा डुलाउँदै निःशब्द हुन्छन् उनी । आँखा भरि आँशु बनाउछन्, चिच्याउँछन्, थचक्क बस्छन् ।

दुई बर्ष पहिले मुम्बई जाँदा श्रीमती भगवतीले उनलाई टीका लगाएर बिदा गरेकी थिइन् । बाबासंग छुट्टिनु पर्दा छोराछोरीहरुले पनि आँशु खसाएका थिए । तर फर्केर आउँदा उतिबेला बिदाइ गर्ने ती हातहरु, आँशु खसाउने ती आँखाहरु कतै भेटेनन् उनले । भेटे त केवल अरु सबैथोक गुमाएर बुबा ब्यग्र प्रतीक्षामा बसेकी घाइते छोरी सीता ।

पदमले मृत्युपछि पनि श्रीमती र छोराछोरीको मुख हेर्न पाएनन् । पदमलाई मुम्बइबाट घर पुग्न समय लाग्ने हुँदा आफन्तहरुले बुधबारै दाह संस्कार गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?