+
+
Shares
चार्ली टेलरसँग वार्ता :

‘नेपाल परिवर्तनको मोडमा छ, संसारले हेरिरहेको छ’

नेपाल अहिले विश्वभरका मानिसका लागि एउटा उदाहरण र उत्सुकताको विषय बनेको छ । नेपालका युवा अहिले विश्वका नेता हुन् । संसारले नेपाललाई हेरिरहेको छ ।

कौशल काफ्ले प्रसुन संग्रौला कौशल काफ्ले, प्रसुन संग्रौला
२०८२ चैत २१ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीबीसी वर्ल्ड क्वेसन्स कार्यक्रम ७ अप्रिल काठमाडौंको मण्डला थिएटरमा रेकर्ड हुनेछ र ११ अप्रिलदेखि विश्वभर प्रसारण हुनेछ।
  • कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनाल, जेनजी फ्रन्टकी रक्षा बम, नेपाली कांग्रेसका डा. प्रकाशरण महत र कानुनी विज्ञ डा. मन्दिरा शर्मा प्यानलिस्ट छन्।
  • कार्यक्रमले दर्शकका प्रश्नलाई प्राथमिकता दिन्छ र नेपालमा भएको युवा आन्दोलनलाई विश्वका अन्य देशसँग तुलना गर्दै नेपालको शान्तिपूर्ण संवैधानिक प्रक्रिया विशेष भएको बताइएको छ।

नेपालको राजनीति यतिबेला ऐतिहासिक मोडमा उभिएको छ । गत भदौमा भएको जेनजी आन्दोलन र हालै सम्पन्न निर्वाचनपछि विश्वकै ध्यान नेपालतर्फ केन्द्रित हुन थालेको छ । यही सन्दर्भमा बीबीसीको चर्चित कार्यक्रम ‘बीबीसी वर्ल्ड क्वेसन्स’ यसपटक काठमाडौं हुँदैछ ।

विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको यो कार्यक्रम आउँदो ७ अप्रिल, मंगलबार काठमाडौंको मण्डला थिएटरमा रेकर्ड हुनेछ । त्यसपछि ११ अप्रिलदेखि बीबीसी वर्ल्ड सर्भिस रेडियो, युट्युब र पडकास्टमार्फत विश्वभर प्रसारण हुनेछ ।

खासमा यो कार्यक्रम नेपालमा तत्काल गर्न किन आवश्यक थियो ? वर्ल्ड क्वेसन्स आफैंमा के हो ? नेपाल र अन्य देशमा भएका युवा आन्दोलनका फरक र समानता के हुन् ? अनि प्रविधिको यो युगमा विश्व पत्रकारिता कुन बाटोमा हिँडिरहेको छ ?

यिनै विषयमा बीबीसीका कार्यकारी निर्माता चार्ली टेलरसँग अनलाइनखबरले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

सुरुवात बीबीसी वर्ल्ड क्वेसन्सबाटै गरौं । यो कार्यक्रम आउँदो हप्ता नेपालमा गर्दै हुनुहुन्छ । तयारी कसरी भइरहेको छ ?

राम्रो तयारी भइरहेको छ । कार्यक्रम ७ अप्रिल मंगलबार काठमाडौंको मण्डला थिएटरमा रेकर्ड गरिने छ । रेकर्डिङपछि ११ र १२ अप्रिल शनिबार र आइतबार बीबीसी वर्ल्ड सर्भिसको रेडियोमा पहिलो पटक प्रसारण हुनेछ । त्यसपछि आउने हप्ता पनि प्रसारण जारी रहने छ । टेलिभिजन संस्करण पनि त्यसपछि आउने छ ।

यही कामको सिलसिलामा मैले पहिलो पटक नेपाल आउने मौका पाएँ । यहाँ आउँदा मलाई निकै न्यानो महसुस भयो । तपाईंहरू जस्ता मिलनसार व्यक्ति भेट्दै सुन्दर ठाउँ हेर्दैछु । सबैभन्दा महत्वपूर्ण कुरा, नेपालको यो परिवर्तनको घडीमा यहाँ हुनु मेरो लागि विशेष अनुभव हो ।

यो कार्यक्रम दर्शकका प्रश्नले नै चल्छन् भन्नुभएको छ । खासमा यसको प्रक्रिया के हो ?

बीबीसी वर्ल्ड क्वेसन्सको सबैभन्दा खास कुरा नै यही हो । यो कार्यक्रम पूर्णत: दर्शकका प्रश्नले चल्छ । प्यानलिस्टले होइन, बीबीसीले होइन दर्शकले चलाउने हो । दर्शकका प्रश्न नभए हामी कार्यक्रम गर्नै सक्दैनौं ।

प्रक्रिया कस्तो हुन्छ भने, दर्शकहरू स्वागत कार्यक्रममा हुन्छन्, आपसमा कुराकानी गर्दै रहन्छन् । त्यही बेला म र प्रस्तोता जोनी डाइमन्ड भित्र हुन्छौं । सबै प्रश्नहरू हेर्दै हुन्छौँ । कुन प्रश्न राख्ने, कुन विषय छुने, कस्तो क्रम मिलाएर सोध्ने भनेर निर्णय गर्छौँ । यो हाम्रो लागि निकै तनावपूर्ण समय हुन्छ ।

कार्यक्रममा एक–दुई ठाउँमा हामी दर्शककहाँ फर्कन्छौं र उनीहरूको राय पनि सोध्छौं । जसले प्रश्न सोध्छन् उनीहरूलाई पनि आफ्नो विचार राख्ने मौका दिइन्छ । करिब १६०–१७० जना दर्शक हुनेछन् ।

प्यानलमा को–को हुनुहुन्छ ? उहाँहरूलाई कसरी छान्नुभयो ?

यसपटक चार जना प्यानलिस्ट हुनुहुन्छ ।

पहिलो हुनुहुन्छ शिशिर खनाल, नेपाल सरकारका परराष्ट्र मन्त्री । नयाँ सरकारको प्रतिनिधित्व गर्न उहाँ प्यानलमा हुनुहुन्छ ।

दोस्रो हुनुहुन्छ रक्षा बम, नेपाल जेनजी फ्रन्टकी अगुवा । युवा आन्दोलनको आवाज प्यानलमा हुनु हाम्रो लागि अनिवार्य थियो । किनकि, नेपालको यो आन्दोलन विश्वले हेरिरहेको छ, त्यसैले यो पुस्ताको प्रतिनिधित्व जरुरी थियो ।

तेस्रो हुनुहुन्छ डा. प्रकाशरण महत, नेपाली कांग्रेसका नेता र पूर्वअर्थमन्त्री । विपक्षी आवाज पनि कार्यक्रममा हुनु जरुरी छ । चौथो हुनुहुन्छ डा. मन्दिरा शर्मा ।

नेपालमा अहिले संविधानमाथि चुनौती बढिरहेको भन्ने प्रश्नहरू उठेका छन् । धेरै कानुनी प्रश्न उठिरहेका छन् । त्यसैले गैरदलीय कानुनी विज्ञको उपस्थिति हामीलाई महत्वपूर्ण लाग्यो ।

प्यानल छान्दा हाम्रा केही मापदण्ड हुन्छन् । जस्तो, फरक–फरक दृष्टिकोण, फरक विशेषज्ञता, फरक उमेर र लैङ्गिक सन्तुलन । यसपटक दुई महिला र दुई पुरुष छन् । म आफैं यो प्यानललाई सुन्न निकै आतुर छु ।

नेकपा एमालेबाट चाहिँ किन कोही राखिएन ?

यो स्वाभाविक प्रश्न हो । हामीले नेकपा एमालेसँग कुराकानी गरेका थियौँ । चुनावअघि केपी शर्मा ओलीजीसँग पनि सकारात्मक छलफल भएको थियो । तर, परिस्थिति अर्कै आयो । चुनावपछिको अवस्था र पछिल्लाका घटनाक्रमका कारण उहाँ भाग लिन सक्नुभएन ।

तर, एउटा महत्त्वपूर्ण कुरा के भने, यो कार्यक्रम कुनै एउटा मुद्दा वा एउटा पार्टीमाथि मात्र केन्द्रित छैन । यो नेपालको भविष्यबारेको खुला बहस हो । एमालेका समर्थकहरू दर्शकको रूपमा आएर आफ्नो प्रश्न राख्न सक्नुहुन्छ । प्यानलमा नभए पनि दर्शकमार्फत त्यो आवाज आउन सक्छ । हामी सकेसम्म सबैको आवाज समेट्ने कोसिस गर्छौं ।

दर्शकबाट कस्ता प्रश्न आउलान् भन्ने अपेक्षा गर्नुहुन्छ ?

म धेरै केही भन्न चाहन्नँ । किनभने, यदि यो बाहिर आयो भने दर्शकहरूले त्यही विषयमा मात्र प्रश्न बनाउन सक्छन्, जुन मैले चाहेको होइन । दर्शकले आफ्नै मनले, आफूलाई सबैभन्दा महत्त्वपूर्ण लागेको विषयमा स्वतन्त्र रूपमा प्रश्न राखुन् भन्ने चाहन्छु ।

अहिलेलाई यत्ति भन्छु– गत सेप्टेम्बरका घटनाबारे प्रश्न उठ्लान् । रोजगारी र भ्रष्टाचारबारे पनि प्रश्न उठ्लान् । नयाँ सरकारले युवाका माग पूरा गर्न सक्छ कि सक्दैन भन्ने जिज्ञासा पनि हुनेछ । मध्यपूर्वको युद्धले नेपाललाई कसरी असर गर्छ भन्ने विषय पनि उठ्न सक्छ । अरू केके आउँछन्, त्यही दिन हेर्नुपर्छ ।

जेनजी आन्दोलनको प्रसंग उठाउनुभयो । विश्वभर विभिन्न देशमा यो पुस्ताले आन्दोलन गर्‍यो । ती र नेपालको जेनजी आन्दोलनलाई कसरी हेर्नुहुन्छ ? नेपालको आन्दोलन अरूभन्दा कसरी फरक छ ?

पछिल्ला केही वर्षमा बंगलादेश, केन्या, मोरक्को, माडागास्कर, फ्रान्स लगायतका धेरै देशमा युवा आन्दोलन भए । हामी डिसेम्बरमा केन्यामा थियौं । त्यहाँ पनि युवाहरू एउटा वित्त विधेयकविरुद्ध सडकमा ओर्लिए र धेरै जना मारिए, नेपालमा जस्तै ।

तर, नेपाल पहिलो देश हो जहाँ यस्तो आन्दोलनपछि संवैधानिक प्रक्रियाबाट चुनाव भयो र युवाका भावना अनुरूपकै नयाँ सरकार सत्तामा आयो । बंगलादेशमा सरकार परिवर्तन भयो, माडागास्करमा ‘कु’ भयो । तर नेपालमा ? यहाँ हिंसात्मक आन्दोलनबाट शान्तिपूर्ण प्रक्रिया हुँदै नयाँ सरकार बन्यो ।

त्यसैले नेपाल अहिले विश्वभरका मानिसका लागि, विशेषगरी ती देशहरूका लागि जहाँ यस्तै आन्दोलन भएको छ, एउटा उदाहरण र उत्सुकताको विषय बनेको छ । नेपालका युवा अहिले विश्वका नेता हुन् । संसारले नेपाललाई हेरिरहेको छ ।

फेरि बीबीसीको प्रसंगमा फर्कौँ । खासमा यो बीबीसी वर्ल्ड क्वेसन्स कसरी सुरु भयो ?

एकपटक म टर्कीएमा थिएँ । कसैले भन्यो, ‘ब्रिटेनको ‘एनी क्वेसन्स’ कार्यक्रम टर्किएमा ल्याउन मिल्दैन ?’ यो बेलायतमा करिब ७५ वर्षदेखि चल्दै आएको साप्ताहिक रेडियो कार्यक्रम हो ।

त्यसबेला मेरो चासो थियो, यो बेलायती कार्यक्रम विदेशमा कसरी गर्ने ? त्यसपछि मैले सोचेँ– बेलायती ढाँचाबाट बाहिर आएर विश्वकै दर्शकका लागि (अंग्रेजीमा) विभिन्न देशमा किन नगर्ने ?

पहिलो संस्करण हामीले बेल्जियमको ब्रसेल्समा गर्‍यौंं । संयोगवश त्यहीबेला पेरिसमा भयानक आतंकवादी हमला भएको थियो । र, ती आतंकवादीहरू ब्रसेल्समा आधारित थिए । त्यसैले कार्यक्रम गर्ने कि नगर्ने भन्ने ठूलो प्रश्न आयो ।

तर, हामीले सोच्यौं, अभिव्यक्ति स्वतन्त्रता र खुला विचार विमर्शमाथि नै आक्रमण भएको बेला छ । त्यसैलाई रोक्नु भनेको ती आतंकवादीको जित हुन्छ । अनि हामी अगाडि बढ्यौं । सुरक्षा चुस्त बनायौँ । दर्शकको लाइन लाग्यो । यसरी उक्त कार्यक्रम सफल भयो ।

त्यसपछि लाग्यो– यसले काम गर्छ । विश्वभरका मानिसलाई यो चाहिन्छ ।

विश्वभर ६० भन्दा बढी देशमा कार्यक्रम गरिसक्नुभएको छ । पछिल्लो १० वर्षमा के–के परिवर्तन देख्नुभएको छ ?

पछिल्लो समय देखिएको परिवर्तन सुखद छैन । हामी पहिले जति देशमा जान पाउँथ्यौँ, अहिले त्यति सक्दैनौँ । किनभने, धेरै देशमा अभिव्यक्ति स्वतन्त्रता साँघुरिँदै गएको छ । केही देशहरू हामीलाई आउन दिन्छन् तर भित्र आएपछि के बोल्न मिल्छ, के मिल्दैन भनेर नियन्त्रण गर्न खोज्छन् । यसरी कार्यक्रम गर्नुले आम दर्शकलाई न्याय गर्दैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी त्यस्ता ठाउँमा जाँदैनौँ ।

अझ कोरोना महामारीको बेला सरकारहरूले जनताको रक्षा गर्ने नाममा धेरै अधिकार आफूकहाँ केन्द्रित गरे । महामारी सकिएपछि पनि ती अधिकार धेरैले फिर्ता गरेनन् । त्यसले लोकतन्त्र कमजोर भएको छ ।

अर्कोतर्फ, सकारात्मक परिवर्तन पनि भएको छ । डिजिटल माध्यमका कारण बहस पहिलेभन्दा धेरै फराकिलो भएको छ । पहिले हामी पोल्यान्डमा कार्यक्रम गर्थ्यौं, रेडियोमा जान्थ्यो, सकियो । अहिले युट्युबमा राख्छौं, अनि संसारभरका दर्शकले हेर्छन्, टिप्पणी गर्छन् । बहस कार्यक्रमस्थल बाहिर पनि जारी रहन्छ ।

सामाजिक सञ्जाल र युट्युबकै कारण माध्यम फराकिलो त बन्दै गएको छ । तर पछिल्लो समय रिल्स र छोटो भिडियोको जमानामा पत्रकारिताको भविष्य कस्तो देख्नुहुन्छ ?

म यसलाई खतराको रूपमा देख्दिनँ । युट्युबमा एक घण्टा लामा कार्यक्रमहरूले पनि लाखौं दर्शक पाउँछन् । तर अचेल मानिसलाई विविधता चाहिन्छ । छोटो पनि चाहिन्छ, लामो पनि । यसको सन्तुलन भने मिलाउनुपर्छ ।

हाम्रो कार्यक्रम पहिले केवल रेडियोको थियो । अहिले त्यही सामग्री युट्युबमा छ, पडकास्टमा छ, टेलिभिजनमा छ । त्यस बाहेक छोटा क्लिप (रिल्स) सम्म पुग्छन् । एउटै सामग्रीलाई अनेक रूपमा ढाल्न सकिन्छ ।

भ्रामक कुराहरूको पनि त बाढी लागेको छ । यस्ता फेक न्युज र गलत सूचनाको विरुद्ध बीबीसीले कसरी काम गर्छ ?

बीबीसी विश्वकै सबैभन्दा विश्वसनीय समाचार संस्थाहरूमध्ये एक हो । र, त्यो विश्वास कायम राख्नु हाम्रो जिम्मेवारी हो ।

हामीसँग ‘बीबीसी भेरिफाइ’ नामक एकाइ छ, जसको काम नै समाचारको तथ्य प्रमाणित गर्नु हो । गल्ती भयो भने हामी लुकाउँदैनौं, स्वीकार गर्छौं, सच्चाउँछौं र प्रकाशित गर्छौं ।

पछिल्लो समय बाढी लागेको झुटो सूचनाको सबैभन्दा राम्रो जवाफ हो– झनै भरोसालायक, झनै प्रमाणित समाचार दिने । त्यसैले हामीले अझै बलियो बनेर काम गर्नुपर्छ । हाम्रो रेडियो विश्वभर नि:शुल्क सुन्न पाइन्छ । हामी सार्वजनिक सेवाका लागि काम गर्छौं ।

अन्त्यमा, युवा पत्रकारहरूलाई के सल्लाह दिनुहुन्छ ?

पहिलो कुरा– आफ्नो मूल्य–मान्यता पहिचान गर्नुस् । यो सजिलो लाग्छ, तर सजिलो छैन । जीवनभर यो काम भइरहन्छ । यिनै कुरालाई आफ्नो पत्रकारितामा देखाउनुस् ।

दोस्रो कुरा– क्षणिक लाभको पछि नलाग्नुस् । सम्झौता नगर्नुस् । पत्रकारितामा कहिलेकाहीँ सर्टकटको अवसर पनि आउँछ । तर त्यो आफैँमा घातक हुन्छ । त्यसैले म सबैलाई भन्न चाहन्छु, आफू किन यो पेसामा आएको थिएँ भन्ने सम्झनुस् र अडिग रहनुस् ।

तेस्रो कुरा– कहिलेकाहीँ रिपोर्टिङ गर्दा शक्तिकेन्द्रले दबाब दिन सक्छ । प्रलोभन दिन सक्छन् । तर आफू के हो र आफ्नो काम के हो भन्ने थाहा भयो भने त्यो दबाबले डगमगाउन दिँदैन ।

म यो किन भनिरहेको छु भने, अहिले इमानदार, तथ्यमा आधारित र साहसी पत्रकारिताको खाँचो पहिलेभन्दा बढी छ । यो लोकतन्त्रका लागि अनिवार्य काम हो । यो पेसामा आउने सबै युवा यी कुरामा स्पष्ट हुनुभयो भने हामीले पत्रकारितालाई अझ बलियो र जीवन्त बनाउन सक्छौँ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?