+
+

धनकुटेलीको वर्षौंदेखि माग– खानेपानी, सडक र स्वास्थ्य

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक २५ गते १२:५२

२५ कात्तिक, धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति आउन ९ दिनमात्र बाँकी रहँदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । मतदाताहरु पनि उम्मेदवारहरुको समीक्षा गर्दै मत दिने तरखरमा छन् ।

धनकुटाका मतदाताको माग पुरानै छ– खानेपानी, स्वास्थ्य र सडकको सुविधा । बहुदलीय व्यवस्था सुरु भएपछि भएको पहिलो निर्वाचनदेखि नै धनकुटेलीको माग यही छ । २०४८ सालयता प्रतिनिधिसभा तथा स्थानीय तहमा धेरै जनप्रतिनिधि फेरिए, तर जनताको माग तीन दशकयता उस्तैउस्तै छन् । काम भने नेताका बोली र पार्टीका घोषणा पत्रमा सीमित छन् ।

धनकुटा नगरपालिका वडा नं. ७ तोमुवाकी रिना लिम्बुले मत माग्दै आएका उमेद्वारसँग गाउँमा राम्रो सडकको माग गरिन् । सडकसँगै उनको जोड खानेपानी र स्वास्थ्यमा समेत थियो । गाउँमा खानेपानी, सडक र स्वास्थ्यकै समस्या रहेको तमुवाकै दुखलाल राई पनि बताउँछन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का सन्तोष बानियाँले सडक सुधार, गाउँमै गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवाको माग रहेको बताए । उनले हरेक पटक यस्तै माग गरे पनि मागपत्र वा नेताका प्रतिबद्धतामा मात्रै सीमित हुने गरेको गुनासो गरे ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचन होस् वा २०४९ को स्थानीय तहको निर्वाचन होस् वा त्योभन्दा पछिका निर्वाचनमा समेत उनीहरुको माग सडक, स्वास्थ्य, खानेपानी नै हुने गरेको छ । राजनीतिक दलका घोषणा पत्र भने स्वास्थ्य, शिक्षा, पूर्वाधारबाट पनि धेरै अघि बढेर अन्य महत्वकांक्षी योजनातर्फ लम्किसकेका छन् । जसले गर्दा ग्रामीण क्षेत्रका बासिन्दाको माग र दलहरुको घोषणा पत्र बिच तालमेल नै देखिँदैन ।

दलले मत तान्न एकभन्दा बढी विषय समावेश गर्ने भएकाले ग्रामीण क्षेत्रका बासिन्दाको माग र दलहरुको घोषणा पत्र बिच तालमेल नखाने धनकुटा बहुमुखी क्याम्पस धनकुटाका उपप्राध्यापक दिनेश अधिकारी बताउँछन् । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले स्थानीय तहको बजेट बढाइदिएसँगै सडक, स्वास्थ्य, खानेपानी आदिको माग बढ्न थालेको पाइन्छ ।

सामाजिक अभियन्ताहरुको अनुभव भने फरक छ । ग्रामीण क्षेत्रका बासिन्दाले पूर्वाधारको मागसँगै आर्थिक आयआर्जन लगायत अन्य पाटोलाई भुल्ने गरेको तथा राजनीतिक दलले समेत आयआर्जनको पाटोलाई प्राथमिकतामा नराख्ने गरेको बुझाइ उनीहरुको छ ।

मतदाता र घोषणापत्रमा राजनितिक दलले आय आर्जनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा त्यसो गरेको नपाएको कृषि तथा सामाजिक अभियन्ता जीवन राईले गुनासो गरे ।

प्रतिनिधि सभामा एक क्षेत्र रहेको धनकुटामा यो पटक सत्ता गठबन्धनबाट कांग्रेसका सुनिलबहादुर थापा, नेकपा एमालेबाट राजेन्द्र राई तथा एकीकृत नेकपा माओवादी परित्या गरेका स्वतन्त्र हेमराज भण्डारी सहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?