+
+

बुङमतीको सम्पदा बस्तीमा देखिन थाले मौलिक घर

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक २५ गते १८:४०

२५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका भित्रका साढे ४ दर्जन सम्पदा बस्ती मध्ये एकमा पर्छ बुङमती । ललितपुर महानगरपालिका-२२ मा पर्ने बुङमतीमा नक्सा पास गर्ने समयमै मौलिक शैलीमा घर निर्माणको सुनिश्चित गर्नुपर्छ । सोही अनुसार भवन निर्माणको अनुमति पाइन्छ । जावलाखेलबाट दक्षिणतर्फ करिब ८ किलोमिटरमा पर्ने यो परम्परागत बस्तीमा अब मौलिक शैलीमा घरहरु देखिन सुरु भएको छ ।

स्थानीय अभियन्ता अनिल तुलाधरका अनुसार बङमतीमा कुल ८४६ वटा घरहरु रहेका छन् । यसमध्ये २०७२ सालको भूकम्पबाट ५७६ वटा घर भत्किएका थिए । जसमध्ये २ सय घरको पुनर्निर्माण भइसकेको उनले जानकारी दिए । अन्य कतिपय घर पुनर्निर्माणको चरणमा छन् भने कतिपय घरहरु निर्माण नै सुरु भएको छैन । यसमा स्थानीयको कमजोर आर्थिक आयदेखि अंशबण्डामा हुने समस्याले समेत पुनर्निर्माण प्रभावित भएको उनले जानकारी दिए ।

भूकम्पपछि भत्किएका सम्पदा र अमूर्त सम्पदाको समेत संरक्षण गर्न यहाँ संयुक्त राष्ट्र मातहतको ह्युमन सेटलमेन्ट प्रोग्रामले ‘पर्‍यासम्पदा’ कार्यक्रम नै चलाएको थियो । सो कार्यक्रमबाट युवाहरुलाई स्वःउद्यमी बनाउन आर्थिक सहयोगदेखि सीप समेत दिइएको ‘यूएन ह्याबिट्याट’का सिनियर प्रोग्राम अफिसर प्रविण बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार यहाँका पाटी, पौवा तथा सत्तलहरुलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न तथा युवालाई काष्ठकला र चित्रकलाको तालिम दिएर स्वरोजगार बनाउन समेत कार्यक्रमले भूमिका खेलेको थियो । सोही अनुसार सम्पदा बस्तीलाई मौलिक शैलीमा पुनः लैजाने काम भइरहेको उनले बताए ।

धार्मिक गन्तव्यका रुपमा परिचित बुङमती अब पर्यटकको स्वागतका लागि समेत तयार रहेको स्थानीयले बताएका छन् ।

बुङमतीमै मौलिक परिकार पाउने गरी भिलेज क्याफे खाजाघर सञ्चालन गरिरहेकी विद्या तुलाधरले स्थानीय परिकार चाख्न बुङमति आउन निम्ता दिन्छिन् ।

उनका अनुसार बुङमती योमरीका लागि प्रख्यात छ । यसबाहेक बारा, चटामरी, समयबजीसहितका मौलिक परिकार भ्रमणमा आउनेहरुले बढी रुचाउने गरेका छन् ।

बुङमती जान जावलाखेलबाट नियमित सार्वजनिक बस चल्ने गरेको छ । सँगै रहेको कार्यविनायक मन्दिरसहित दर्जनौं सम्पदाको अवलोकन यहाँ गर्न सकिन्छ । बुङमतीको मूख्य आकर्षण रातो मच्छिन्द्रनाथको मन्दिर भने अहिले पुनर्निर्माणकै चरणमा छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?