+
+

‘नेपाललाई श्रीलंका बन्नबाट रोक्ने परदेशीका पसिना’

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक २५ गते १८:५६

२५ कात्तिक, पोखरा । ‘हामी अहिले नेपालमा धेरै छलफल गर्छौं, के नेपाल श्रीलंकाजस्तै बन्छ ? यो ठूलो बहसको कुरा हो । श्रीलंका आजको अवस्थामा आइपुग्नुको एउटै कारण विदेशी विनिमय नहुनाले हो । नेपाल पनि भीरमा जान लागेको ट्रकजस्तै भइराखेको छ । तर, त्यो भीरमा जान लागेको ट्रकलाई पैयाँमा ओत लगाइदेको छ । त्यो ओत लगाउने नै परदेशीको पसिना हो ।’

किताब प्रकाशनले शुक्रबार पोखरामा गरेको ‘परदेशको पसिना, कसरी लिने प्रतिफल ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आप्रवासनविद् एवं राष्ट्रिय योजना आयोगका पूूवसदस्य डा. गणेश गुरुङले बोलेका शब्द हुन्, यी ।

कार्यक्रममा गुरुङसहित पोखरा महानगरका मेयर धनराज आचार्य, आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङ र पूर्वश्रमिक भीम श्रेष्ठ वक्ता थिए । छलफलको सहजीकरण पत्रकार जनकराज सापकोटाले गरेका थिए ।

कार्यक्रममा आप्रवासनविद् डा. गुरुङले वैदेशिक रोजगारमा गएका नेपालीले एक दिनमा २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स नेपाल पठाइराखेको सुनाए । तर, उनीहरुकै मर्यादा राज्यले गर्न नसकेकोसमेत उनले औंल्याए ।

‘वैदेशिक रोजगार बोर्डले यो–यो गरेको छ भनिन्छ । तर, त्यो पैसा पनि नेपाल सरकारको होइन । बोर्डमा झण्डै ६ अर्ब रुपैयाँ छ । त्यसैको ब्याजले हातखुट्टा भाँच्चिएको, मरेको, तलब नपाएकोहरुलाई दिइन्छ,’ डा. गुरुङले भने, ‘त्यो पैसा जो हरेक मान्छे वैदेशिक रोजगारमा जान्छ । उहाँहरुले लेबर परमिट लिँदा राखेको पैसा हो । त्यो पैसा पनि परदेशीको पसिना हो ।’

वैदेशिक रोजगार, कामदार र समस्याबारे समाधानमा काम गर्दा नेपाल असफल भइरहनुको एउटा कारण तथ्य र तथ्यांक नहुनु नै भएको डा. गुरुङको तर्क छ । ‘हामीसँग तथ्य र तथ्यांक नभएर सधैं चुकिराखेका छौं । हामीले लिनुपर्ने वडामा होइन, डेस्टिेनेसनमा लिने हो, वडामा सत्य नदिन पनि सक्छन्,’ भन्छन्, ‘किनभने वैदेशिक रोजगारको पनि क्याटेगोरी छ । अमेरिका जानेको बेग्लै इज्जत छ । साउदी, कतार जानेहरुको अवस्था अर्कै छ ।’

तर, डा गुरुङको कुरामाथि असहमति जनाउँदै वैदेशिक रोजगारमा जानेको डाटा डेस्टिनेसनभन्दा पनि वडाबाटै लिँदा राम्रो हुने मत राखे मेयर आचार्यले । ‘वडाबाटै लिँदा यथार्थ आउन सक्छ भन्ने हो । अहिले हामी विदेश गएका, फर्केका र बेरोजगारीहरुको डाटा लिन सुरु गरेका छौं,’ मेयर आचार्यले भने । उनले ३–४ महिनामा सबैको डाटा संकलन गरिसक्ने सुनाए ।

‘वैदेशिक रोजगारमा गएकाबाट उत्पादमुखी लगानी खोज्नु गलत’

डा. गुरुङले वैदेशिक रोजगारीमा गएका नेपालीबाट उत्पादनमुखी उद्योग, व्यवसायमा लगानी खोज्नु पनि गलत रहेको बताए । न्यूनतम् जीवनयापनका लागि परदेशिनु पर्ने अवस्था रहेकाले अझै पनि उनीहरुले ठूला उत्पादनमुखी योजनामा लगानी गर्न नसक्ने प्रष्ट्याए ।

ठूलो रकम रेमिट्यान्समार्फत भित्रिएको देखिए पनि राज्यतवरबाटै उचित प्रयोग हुन नसकेको डा. गुरुङको भनाइ थियो । ‘सुरुमै प्रोडक्टिभ सेक्टरमा लगानी खोज्छौं । त्यो उनीहरुको उद्देश्य नै होइन, उनीहरु त आफ्नो सामान्य जीवन चलाउने भनेर गएका हुन्छन्,’ उनले भने ।

नेपालको बैंकिङ क्षेत्र लगानीमैत्री नहुँदा पनि वैदेशिक रोजगारबाट फर्किएकाहरु लगानी गर्न नसक्ने डा. गुरुङ सुनाउँछन् । बैंकले योजनाका आधारमा ऋण प्रवाह नगर्ने तर, सुरुमै घरजग्गा जमानी खोज्दा पनि सामान्य नागरिकले लगानी गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

तर, वैदेशिक रोजगारमा गएकाहरुलाई लगानीमा प्रेरित गर्न प्रणालीमै परिवर्तन आउनुपर्ने डा. गुरुङको सुझाव छ । ‘हामीसँग सिस्टम नै गलत छ । प्रतिफल उठाउन पनि जाँदाखेरि नै २ वटा खाता खोल्न लगाउनुपर्छ-एउटा उसले लगानी गर्ने र अर्को घरखर्ची,’ उनले भने, ‘जाँदाखेरि समयावधि कति बस्यो भन्नेले पनि फरक पार्छ । पहिलो वर्ष त उनीहरुले आफ्नो ऋण तिर्नै लगाउँछन् । दोस्रो वर्ष आवश्यकता पूरा गर्छ । त्यसपछि घरघडेरी जोड्न थाल्छन् । त्यसपछिकोमात्रै हो कम्फर्ट जोनमा पुग्ने हो ।’

डा. गुरुङले वैदेशिक रोजगारमा लामो समय बिताएर आएकाहरुसँग अनुभव र बचत दुवै हुने भएकाले सरकारले उद्यमीका रुपमा परिचालन गर्न सक्ने सुुझाव दिए ।

‘एक पटक विदेश गएका महिलाको पटकपटक जानुपर्ने बाध्यता’

युएनवुमनको हालैको प्रतिवेदनले पनि वैदेशिक रोजगारीमा गएका महिलाहरुमध्ये ३५ प्रतिशत महिलाहरुको न्यून आयकै कारण फेरि पनि वैदेशिक रोजगारमै जानुुपर्ने प्रतिवेदन दिएको थियो । आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङआवद्ध संस्थाले गरेको अध्ययनले पनि सोही तथ्यांक देखायो ।

‘यसको पछाडिको कारण भनेको महिलालाई समाजले हेर्ने दृष्टिकोण हो । उनीहरुको आवश्यकतालाई राज्यले सम्बोधन गर्न सकेको छैन । महिला एउटा ब्लेम के पनि छ भने उनीहरुले पठाएको रेमिट्यान्स अनुत्पादक लगानी भयो भन्ने बढी सुनिन्छ,’ उनले भनिन्, ‘तर, मैले बारम्बार प्रतिकार गर्छु, उहाँहरुको त्यो आम्दानी बच्चाको शिक्षा, स्वास्थ्यमा, खानपानमा लगानी हुन्छ । यसलाई पनि रेस्पेक्ट गर्नुपर्छ ।’

वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको स्वाभिमानका विषयमा पनि समाजले यौनिकतासँग प्रश्न उठाइरहने गुरुङले सुनाइन् । ‘कमाएर आए पनि यल्ले के काम गरेर आई होली भनेर यौनिकतासँग जोडेर हेरिन्छ । यसले पनि महिलाहरु नेपाल फर्किसकेपछि सम्मानित किसिमले समुदायमा स्थापित हुन नसक्ने अवस्था हामीले देखेका छौं,’ उनले भनिन् ।

कतारमा ८ वर्ष पसिना बगाएर फर्किएका पूर्व वैदेशिक श्रमिक भीम श्रेष्ठ नेपालमा सम्भावना नभएकै कारण आफू विदेश जानु परेको बाध्यता सुनाए । उच्च शिक्षा सकेर पनि नेपालमै रोजगार नपाउँदा आफू विदेशिनु परेको सुनाए ।

‘यति लामो समय विदेश बसेर पत्रकारका लागि समाचार बनें । साहित्यकारका लागि कथा भएँ, र मजस्तोले एउटा जीवन पाएँ,’ उनले भने, ‘विदेशमा पसिना बगाएर फर्किएको यो जीवन पाउनु नै मेरा लागि प्रतिफल हो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?