+
+

उधारो खाता नभेटेपछि जन्मेको ‘कारोबार’ एप बन्यो उत्कृष्ट स्टार्टअप

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ कात्तिक २५ गते २२:१७

२५ कात्तिक, काठमाडौं । ‘यो मेरो घरको पसल हो । सन् २०२० नोभेम्बरतिरको एक दिन बुबा पसलमा हुनुहुन्थ्यो । हाम्रो पसलबाट उधारो लगेको एक जना ग्राहक आफ्नो बाँकी रकम तिर्न आउनुभयो । बुबाले पसलको खाता खोज्नु भयो, धेरै बेरसम्म फेला परेन,’ २० वर्षीय समीर फुयाँललेले स्टेजको ठूलो स्क्रिनमा आफ्नो बुबा आमाको किराना पसलको फोटो देखाउँदै भनिरहेका थिए,’आज ढिला भयो, अर्को दिन आउँछु भन्दै ती मानिस बक्यौता नतिरी हिंडे । यो सबै म छेउमा बसेर हेरिरहेको थिएँ । बुबाले भन्नु भयो, ओइ ! यसको पनि एप बना, भेट्टाउन गाह्रो भो । म हाँसे… ।’

उनको यो भनाइले कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित सयौं अतिथिमा हाँसोको फोहोरा छुट्यो ।

,’बुबाले त मजाकमा आफ्नो समस्या बताउनु भएको थियो, तर मैले एकान्तमा सोचें, यो त ठूलो बिजनेस आइडिया हो,’ उनले त्यति बेला सोचे,’नेपालका साना किराना तथा लघु घरेलु उद्योगको यस्ता खाता मोबाइल एपमार्फत व्यवस्थापन गर्न सकियो भने त ठूलो बिजनेस हुन्छ ।’

यो आइडियालाई साकार पार्न चारजना साथीहरु (रिकेश निरौंला, नितेश राजवंशी, सचिन दाहाल र रुजन तन्डुलकार) मिलेर कारोबार नामक एप बनाए । एक पटक डाउनलोड गरेपछि इन्टरनेट नभएको बेलामा पनि यो एप चलाउन सकिन्छ । यसमा नेपालीमै लेनदेन, खरिद बिक्री, स्टक म्यानेजमेन्टको हिसाब राख्न सकिन्छ ।

अहिले नेपालका ३२ हजार साना व्यवसायीले यो एप चलाएका छन् । ३५ हजार भन्दा धेरै पटक एप डाउनलोड भएको छ ।

फुयाँलकाअनुसार नेपालमा लोकपि्रय बन्दै गएको एप बंगलादेशको बजारमा पनि पाइलटिङको रुपमा काम गर्न सुरु भएको छ ।

नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले आयोजना गरेको नेपाल स्टाटर्प अवार्ड २०२२ को अन्तिम प्रतिस्पर्धामा समीर सफल पनि भए । यो आइडियाले अब २ बिलियन डलरको बजार बनाउन सक्ने उनको दाबी ।

पाँच मिनेटको आफ्नो प्रस्तुतिपछि समीरलाई निर्णयक मण्डलले केही प्रश्न सोधे, उनले आफू ठूलो भिजनका साथ अघि बढेको बताए ।

नेेपालका लाखौं साना कारोबारलाई एपमार्फत व्यवस्थापन गर्ने कारोबार एपले अन्य धेरै काम गर्न सकिने भन्दै उनले यसका लागि साथ र हौसला खोजेको बताए ।

१५६ जना प्रतिस्पर्धीबाट झण्डै ३ महिना लामो प्रक्रियागत प्रतिस्पर्धापछि अन्तिम ७ मा समीर र उनको कम्पनी ‘बाइट केयर टेक्नोलोजी’को कारोबार एप छानिएको थियो ।

शुक्रबार अन्तिम प्रतिस्पर्धामा उनी जस्तै फरक विधाका अन्य छ जना प्रतिस्पर्धीको प्रस्तुतिपछि निर्णयकहरु दिलिप अग्रवाल, आनन्द बगरीया र रितु प्रधान मल्लले समीरको ‘कारोबार’ एप र दहीको गुणस्तर विविधीकरणमा गर्ने अर्को स्टार्टअप ‘डेलिस डेरी’लाई वर्षकै उत्कृष्ट स्टार्टअप घोषणा गरे ।

दुई वटा स्टाटर्पलाई संयुक्त रुपमा विजेता घोषणा गरिएपछि समीर निकै खुसी देखिए । २० वर्षको उमेरमै मुलुकको प्रतिष्ठित युवा नवप्रवर्द्धनात्मक नयाँ सोचको पुरस्कार पाएपछि खुसीको सीमा नरहेको उनले प्रतिक्रिया दिए ।

‘बुबाले सायद जिस्किएर भन्नु भएको थियो, म आईटीमा १२ कक्षा सकेर बसेको र केही गरिरहने स्वभावको मान्छे त्यसलाई क्याच गरें,’ समीरले अनलाइनखबरसँग भने, ‘त्यसैले आज मलाई सफलता दिलायो ।’

इटहरीमा बीआईटी तेस्रो वर्षमा अध्ययनरत समीरका अनुसार उनको टिमका अन्य सदस्यहरु पनि २१ वर्षकै हाराहारीकै छन् । स्टार्टअप विजेता भएसँगै उनको कम्पनीले ४ लाख रुपैयाँ नगद, प्रमाण पत्र, सिल जितेका छन् ।

यस्तै यूरोप भ्रमणको दुईतर्फी हवाई टिकट र आफ्नो आइडियालाई भिडियोमार्फत फैलाउन केही थप उपहार जितेका छन् ।

समिरको आइडियासँग दियो एआई, च्याउ बिआईओ, डेलिस डेरी, बग-भी, जिरो सर्कुलर र डार्क म्याटर प्रडक्सनले अन्तिम सातमा प्रतिस्पर्धा गरेका थिए । जसमा डेलिस र समीरको कारोबार एप उत्कृष्ट ठहरियो ।

यस्तै कम्पनी तथा कार्यालयका सूचनाहरु नेपाली भाषामा आर्टिफिसियल इन्टलिजेन्समार्फत प्रदान गर्ने एप दियो एआईले तेस्रो स्थान हासिल गर्‍यो । प्रतियोगिताको सोसल इन्टरप्राइज अवार्ड भने जिरो सर्कुलरले जित्यो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?