+
+

कमल थापा : तीन दशकदेखि जसले हरायो, अहिले उसकै उम्मेदवार

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक २८ गते १०:२५

राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लामो राजनीतिक जीवनमा सधैं अवसरको शिकार गरेका छन् । आफूलाई हिन्दू राजतन्त्रात्मक नेपालको पक्षमा उभ्याउँदै पटक-पटक सत्ताभोग गरेका उनी राजनीतिक जीवनको पछिल्लो चरणमा भने गणतन्त्रवादी बनेका छन् ।

थापाका बुवा छत्रबहादुर नेपाली सेनामा कर्णेल थिए । २०१६ सालमा अवकाश भएपछि कर्णेल थापा २०२२ सालमा मकवानपुर बसाइँ सरेपछि काठमाडौंको सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका कमल हेटौंडाको भुटनदेवी माविमा भर्ना भए ।

२०२५ मा पुनः काठमाडौं आएर पद्मोदय हाइस्कुलमा भर्ना भएका कमलले अन्तर माध्यमिक फुटबल प्रतियोगितामा राम्रो कौशल देखाए । त्यसबेला उनका दाजु नेत्रबहादुर थापा नेपाल आर्मीका चर्चित फुटबलर थिए, जो पछि मेजर जनरलबाट रिटायर्ड भए । कमलका भाइ गणेश थापा पनि पछि फुटबलमै उदाए ।

नेतृत्वमा राजेन्द्र लिङ्देनसँग हारेपछि अलग पार्टी खोलेका कमल थापाले नेकपा (एमाले)लाई संकटको साथी बनाएका छन् । यसपटक उनी सूर्य चिहृन लिएर मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

३० वर्षदेखि आफूलाई लघारेको एमालेकै यसबाट सहयोगी बनाउन सफल थापा २०४८ यताका सबै चुनावमा उठेका छन् । हरेक पटक उनको घम्साघम्सी एमालेकै उम्मेदवारसँग भयो । चुनावमा एमालेसँगको पौंठेजोरीमा उनले नमिठो अनुभवहरू सँगालेका छन् ।

२०४८ को चुनावमा उनलाई मकवानपुर-१ मा एमालेका कृष्णप्रसाद दाहालले हराइदिए । २०५१ को मध्यावधि चुनावमा मकवानपुरको दुवै क्षेत्रबाट उठे । त्यसबेला उनले मकवानपुर-१ मा दाहाललाई हराए, तर २ मा भने एमालेकै विरोध खतिवडासँग हारे ।

२०५६ मा मकवानपुर-१ र ३ बाट लडेका थापालाई दुवैतिर एमालेका उम्मेदवारले हराए । १ मा उनै दाहाल र ३ मा वीरबहादुर लामा विजयी भए । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर-३ बाट उठेका उनलाई नेकपा (माओवादी)का प्रहृलाद लामिछानेले हराए । २०७० मा भने उनी समानुपातिकबाट संविधानसभा आए ।

२०७४ मा मकवानपुर-१ बाट उठेका थापा एमालेका उनै कृष्णप्रसाद दाहालसँग हारे । यसपटक भने ३० वर्षदेखिका प्रतिस्पर्धी थापालाई जिताउने पार्टी जिम्मेवारीमा छन्, दाहालहरू ।

तर, थापा यसपटक पनि सुरक्षित छैनन् । सिफारिस भएका पार्टीका नेतालाई हटाएर राप्रपा, नेपाललाई सूर्य चिहृन दिने एमाले अध्यक्ष ओलीको निर्णयबाट देशका अन्य ठाउँका जस्तै मकवानपुरका नेता-कार्यकर्ता पनि खुसी छैनन् ।

दुई पटक सांसद, ९ पटक मन्त्री

नेपालमा कमल थापा नै त्यस्ता राजनीतिक खेलाडी हुन्, जसले चुनावमा पटक-पटक पछि परे पनि सत्ताभोगमा अगाडि रहे । उनी जम्मा दुई पटक सांसद भए- एक पटक मकवानपुर-१ बाट जितेर अनि २०७० मा समानुपातिकतर्फबाट । मन्त्री भने ९ पटक भए ।

२०१२ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापा एक समय राष्ट्रिय फुटबल खेलाडी थिए । उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदको सदस्य र एशियाली फुटबल परिसंघको कार्यकारी सदस्य पनि भए ।

राजदरबारनिकट व्यक्तिहरूको प्रोत्साहनमा राष्ट्रवादी मण्डलबाट राजनीतिमा आएका थापा २०५१ पछि निरन्तर चर्चाका छन् । जोसुकैको सरकारमा पनि मन्त्री खान जानेदेखि रातारात दलबदलसम्मका प्रकरणका कारण उनी चर्चित भइरहे ।

हिन्दू राजतन्त्र फर्काउने मुद्दा उठाएर पहिलो पटक सांसद हुँदा नै थापा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए ।

देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा-कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषिमन्त्री बने ।

त्यसबेला चन्दले ‘जहाज डुब्न लागेको थाहा पाउनासाथ मुसा भागेको’ भन्दै कमल थापा प्रवृत्तिमाथि तिखो टिप्पणी गरेका थिए ।

सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री पनि भए । राजा ज्ञानेन्द्र शाहले सत्तापलट गरेर आफैं मन्त्रिपरिषद अध्यक्ष भएर गठन गरेको सरकारमा गृहमन्त्री भएर कमल थापाले जनआन्दोलन दबाउन योगदान गरे ।

मुलुक गणतन्त्र भएपछि २०६४ मा चुनाव हारे पनि समानुपातिकको कोटाबाट २०७० मा दोस्रो संविधानसभामा पुगेर थापाले मन्त्री हुने सिलसिला सुरु भयो ।

२०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा उनी उप-प्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उप-प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भए ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उप-प्रधानमन्त्री भए । २०७४ को चुनाव हारेपछि सत्ताबाट टाढिएका थापा यसपटक एमालेको सहारामा मकवानपुर-१ बाटै संसद छिर्ने प्रयासमा छन् ।

थापाले राजसंस्थाको मुद्दा छाडिदिएका छन् । उनले आफूलाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै ‘राजसंस्थाको भारी बिसाएको’ घोषणा नै गरे ।

चुनावी अंकगणित

मकवानपुर-१ मा थापासँगै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, राप्रपाका दीपकबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।

गत स्थानीय निर्वाचनमा मकवानपुर-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, नेकपा (माओवादी केन्द्र)ले १६ हजार ५४२, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार २८३ र राप्रपाले ४ हजार ७० मत पाएको छ ।

गत स्थानीय चुनावको यो आँकडाअनुसार सत्ता गठबन्धन १६ हजार मतले अगाडि देखिन्छ, जसको उम्मेदवार कांग्रेसकी डिना हुन् । यो निर्वाचनमा विजयी हुन कमल थापाले भने एकातिर एमालेको सबै मत लिन सक्नुपर्नेछ भने अर्कोतिर सत्ता गठबन्धनको मत पनि भारी मात्रामा तान्नुपर्नेछ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?