+
+
अर्थतन्त्रमा असन्तुलन–३ :

माग घटेपछि मन्दीतर्फ बजार, उत्पादन कटौती गर्दै उद्योग

उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको बजार गिर्दै

उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पुगेको छ । यहीबेला भएको चरम मूल्यवृद्धिले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आउँदा बजारमा माग घटेको छ । त्यसको असरले उद्योगहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ कात्तिक २८ गते १६:५९

२७ कात्तिक, काठमाडौं । दशैं र तिहारपछि देशभर भौतिक पूर्वाधार निर्माणको मुख्य सिजन सुरु हुन्छ । यसै वर्षबाट सिमेन्ट उत्पादनमा आक्रामक बजार सुरु गरेको धादिङको ह्वासिन सिमेन्टले केही दिनअघि आफ्नो कारखानाबाट सिमेन्ट उत्पादन बन्द गर्‍यो ।

उद्योगका उपमहाप्रबन्धक डिल्लिराज पोखरेलकाअनुसार बजारमा बिक्री शिथिल भएपछि कारखानाको उत्पादन बन्द गर्नुपरेको हो । ‘निजी र सरकारी पूर्वाधार निर्माणका काम ठप्पप्रायः छ,’ पोख्रेलले भने, ‘उत्पादन भएर बजारमा पुगेका सिमेन्टकै बिक्री ५० प्रतिशतले घटेपछि तत्काल उत्पादन रोक्ने अवस्था आइदियो ।’

सिजन सुरु हुनै लाग्दा आक्रामक ढंगले उत्पादन र बिक्रीको योजना बनाए पनि सिमेन्टको माग दिन प्रतिदिन घट्दो अवस्थामा पुगेपछि अधिकांश सिमेन्ट उद्योगहरु निरास छन् ।

आर्थिक तथा मौद्रिक नीतिका कारण बजारमा लगानीयोग्य पूँजीको अभाव हुँदा पूर्वाधार निर्माण ठप्प भएको र त्यसको मारमा उद्योग र कलकारखाना परेको उपमहाप्रबन्धक पोखरेलले बताए । ‘समस्या बढ्दो छ, सरकारले तत्काल सम्बोधन नगरे उद्योगधन्दा मात्रै हैन, समग्र अर्थतन्त्र नै गम्भीर समस्यामा जाँदैछ’ उनले भने ।

शिवम् सिमेन्टको अनुभव पनि फरक छैन । सबै खालका आयोजनाको निर्माण ठप्पजस्तै रहेको र त्यसको असर बजरमा बिक्रीमा देखिएको कम्पनीका बजार उपप्रबन्धक केशव अर्यालले बताए । ‘निर्माणको सिजनमै बिक्री घट्यो,’ अर्यालले भने, ‘निर्वाचनपछि नयाँ माहोल बन्छ आशामा छौं ।’ तरलाता अभाव मात्रै हैन, ब्याजदर जस्ता कारणबाट अर्थतन्त्रको गति कमजोर बन्दा यसको असर निर्माण उद्योगमा देखिएको उनले बताए ।

नेपाल सिमेन्ट उत्पादक संघकाअनुसार अहिले उद्योगहरुले कुल उत्पादन क्षमताको औसत २० देखि २५ प्रतिशत मात्रै सिमन्ट उत्पादन गरिरहेका छन् ।

संघका अध्यक्ष ध्रुब थापाले क्लिंकर उत्पादन गर्ने आफ्नो उद्योग पनि बन्द रहेको बताए । अहिलेको अवस्थामा मान्छेले निर्माणका लागि लगानी गर्न नचाहेकाले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने निर्माण क्षेत्र नै समस्याग्रस्त बन्न पुगेको थापा बताउँछन् ।

बजारमा स्टिल्स (फलाजन्य उत्पादन)को विक्री पनि दयालाग्दो छ । निर्माणका परियोजनाहरु ठप्प हुँदा सिमेन्ट मात्रै नभएर बजारमा बिक्री समेत आरोलो लागेको नेपाल फलामे छड उत्पादक संघले जनाएको छ ।

बजारमा नयाँ वस्तु बिक्री पनि नहुने, बिक्री भएका वस्तुको भुक्तानी समेत नउठ्ने समस्याले छड उद्योगहरु पिरोलिएको एक उद्योगीले बताए ।

‘डिलरहरुले माल नै बिक्री गर्न सकिएन भन्छन्, न बजारमा नयाँ सामान बिक्री हुन्छ नत बिक्री भएका वस्तुको भुक्तानी उठ्छ ?’ ती छड उत्पादक भन्छन् ‘सरकारी र निजी तवरका निर्माण आयोजनाले तत्काल गति नलिए अबको अवस्था राम्रो हुन्न ।’

अर्थतन्त्रमा देखिएको मन्दीको असर दैनिक प्रयोगका वस्तुको व्यापार पनि परेको छ । नेपाल वितरक संघका अनुसार सर्वसाधरणले प्रयोग गर्ने श्रृंगार सामग्री, साबुन, स्याम्पु, मञ्जन, बिस्कुट, चकलेट, सर्फ तथा पेय पदार्थको दैनिक खपत करिब ५० प्रतिशतले घटेको संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए ।

‘सामान्यतयाः ठूला चाडपर्वपछि यस्तो खपत कम हुनु समान्य हो, तर ५० प्रतिशतले नै खपत घट्नु चै अचम्मै हो,’ श्रेष्ठ भन्छन्, ‘खपत घट्नु र बजारमा व्यवसायीले गरेको लगानी नउठ्नु, बैंकले थप लगानी गर्न सक्ने अवस्था नहुनुले ठूलो समस्या सुरु भइसकेको छ ।’ ग्राहकहरुसँग पनि पैसा नहुँदा बजार नै चलायमान हुन नसकेको श्रेष्ठको बुझाइ छ ।

आयातमा गरिएको कडाइ र प्रतिबन्धात्मक व्यवस्थाले अवैध च्यानलबाट बजारमा आएका वस्तुहरुले औपचारिक व्यापारलाई उछिन्ने उनको दावी छ । सरकार र राष्ट्र बैंकले तत्काल पोलिसीमार्फत समस्या समाधान नगरे अवस्था थप जटिल हुने उनी बताउँछन् ।

देशभरका उद्योगहरु आर्थिक मन्दीको चपेटामा परेको नेपाल उद्योग परिसंघको उद्योग समिति प्रमुख गोकुल भण्डारी बताउँछन् । ‘दैनिक उपभोगका थोरै वस्तुबाहेकको बिक्री र उत्पादन निकै कम छ,’ भण्डारीले भने, ‘हामी देशभरबाट तथ्यांक संकलन गरिरहेका छौं । उद्योग र उत्पादनका लागि भन्दा पनि सरकारी नीति व्यापारका लागि केन्द्रित भएको पाइयो ।’

अहिलेको समस्या आउनुमा बैंकहरुको नीति प्रमुख भएको भन्दै उनले उद्योगमैत्री नीतिका लागि सरकारसँग आग्रह गरे ।

अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने साढे ६ सय उद्योगहरु नै आर्थिक संकटको मारमा पर्न थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लिमिटेडका सहायक सूचना अधिकारी प्रकाश खड्काकाअनुसार विदेशबाट कच्चा पदार्थ आयात गर्नुपर्ने उद्योगहरु अहिलेको मारमा परेका छन् ।

राष्ट्र बैंकको नीति र बैंकहरुले आवश्यक लगानीका लागि गरेको कडाइका कारण औद्योगिक उत्पादन क्षमताको ६० प्रतिशतभन्दा तल झरेको खड्काले बताए ।

‘गत साउन अघिसम्म उद्योगहरुको उत्पादन राम्रै थियो, तर साउनदेखि ओरोलो लाग्दै आएको छ । पछिल्लो अवस्था ६० प्रतिशत हारामारी वा तल छ,’ खड्काले भने, ‘बैंकिङ नीति र आयातसम्बन्धी कडाइले समस्या परेको गुनासो उद्योगहरुले गरेका छन् ।’ उद्योगहरुले भोगेको समस्याबारे लिमिटेडले थप अध्ययन गर्ने तयारी गरिरहेको जनाएको छ ।

जताततै समस्या

सरकार र नेपाल राष्ट्र बैंकले लिएका नीतिले अर्थतन्त्रको बाह्य क्षेत्रमा शोधनान्तर र विदेशी मुद्राको सञ्चिति केही सन्तोषजनक बन्दै गएको छ । तर, एकैपटक अतिनियन्त्रणमुखी कदमहरु चाल्दा त्यसको ‘साइडइफेक्ट’ अर्थतन्त्रको आन्तरिक पक्षमा पनि पर्न थालेको उद्योगीहरु बताउँछन् ।

उच्च बन्दै गरेको ब्याजदरका कारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पुगेको छ । यही बेला मूल्यवृद्धिदर उच्च भएर उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आउँदा बजारमा माग घटेको छ । त्यसको असरले उद्योगहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालका अनुसार स्टिलको व्यापार र माग ६० देखि ७० प्रतिशत खस्केको छ । सिमेन्टको व्यापार ५० प्रतिशतले संकुचित भइसकेको छ । अटोमोबाइलको व्यापार ७० प्रतिशत कम छ । प्लाष्टिक उद्योगको उत्पादन ३० प्रतिशत संकुचित बनेको छ । चुनावले केही भरथेग गरेपनि दैनिक उपभोग्य वस्तु र पेय पदार्थको मागमा पनि १५ प्रतिशत संकुचन आएको छ ।

‘बजारमा मागको संकुचनको प्रभाव बृहत्तर हुन्छ । अहिले माग सानो दरले घटेको हैन, १०–१५ प्रतिशतको माग घट्दा उद्योगी–व्यवसायीले झेल्न पनि सक्छन्,’ अग्रवाल भन्छन्, ‘कुनै एक महिनाको अवधिमा समस्या फरक हुन्छ, यो लम्बिँदैछ । ६ महिनासम्म लम्बियो भने यसको गम्भीर संकट र असरहरु अर्थतन्त्रमै देखिन थाल्छ ।’

अहिले वितरकहरुले आफ्नो सञ्चालन खर्च उठाउन नसकेको उनले बताए । उनीहरुलाई प्रशासनिक खर्च, भाडा, तलब, बिजुली, पानीको खर्च उठाउन समेत समस्या भइरहेको छ । यही बेला बैंकको ब्याज ८ प्रतिशतबाट १६ प्रतिशत पुगेको छ ।

‘यस्तो अवस्थामा ऋणको किस्ता र ब्याज तिर्न सक्ने कुरा भएन । त्यसैले माग घटेका कारण उत्पन्न ठूलो समस्याको चक्रब्यूहमा उद्योगी व्यवसायी फस्दै गएका छन्’ अग्रवाल भन्छन् ।

अहिले यो समस्या लघु, साना तथा मझौला स्तरका उद्योग (एसएमईज)का सञ्चालक र तथा व्यवसायीले बढी सामाना गरिरहनु परेको छ । त्यसैकारण यो आक्रोश एसएमईज सञ्चालकमा बढी रहेको परिसंघको निष्कर्ष छ । अहिलेकै नीतिबाट अघि बढ्ने हो भने साना तथा मझौला उद्योग तथा व्यावसायिक संस्था ‘कोल्याप्स’ हुने उनको चिन्ता छ ।

‘बितेको ३० वर्षमा यस्तो समस्या यो स्तरको मैले भोगेको, देखेको थिइँन । मेरो अनुभवमा सशस्त्र द्वन्द्वकाल, भूकम्प, अघोषित नाकाबन्दी, कोभिड-१९ महामारीमा पनि यस्तो समस्या परेको थिएन,‘ अध्यक्ष अग्रवाल भन्छन्,‘ आज जो उद्योगी व्यवसायी सडकमा उत्रिएका छन्, साँच्चिकै नै सहन नसक्ने अवस्था भएरै उनीहरुले यो कदम उठाइरहेका छन् । यस्तो समस्याबाट निकास दिइएन भने यो आक्रोशको स्वर ठूलो हुँदै जान्छ ।’

अर्थतन्त्रमा असन्तुलन-१

अर्थतन्त्रमा असन्तुलन-२

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?