+
+

देवेन्द्रलाई बागी र मञ्जुलाई गठबन्धनको डर

सिर्जना पन्त सिर्जना पन्त
२०७९ कात्तिक २९ गते ८:३०

२९ कात्तिक, बागलुङ । शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ मा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका–१२ अमलाचौरका वासिन्दा पौडेलले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् ।

२०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेको सहयोगमा चुनाव जितेका पौडेलमाथि अहिले एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेको चुनाव प्रचार टोलीले टुरिस्ट उम्मेदवारको आरोप लगाइरहेको छ ।

भक्तपुरको बालकोट घर भई झापाबाट चुनाव लड्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत पौडेललाई टुरिस्ट उम्मेदवार भन्न भ्याएका छन् । कात्तिक तेस्रो साता बागलुङ आएका ओलीले पौडेललाई टुरिस्ट उम्मेदवार भएको आरोप लगाएका थिए ।

टुरिस्ट उम्मेदवार भनेकामा पौडेलले आपत्ति जनाएका छन् । ‘म यही जिल्लाको हुँ, केपी ओलीजी तेह्रथुममा जन्मिनुभयो । झापा बसाइ सर्नुभयो । अहिले भक्तपुरमा घर बनाएर बस्नुभएको छ,’ पौडेलले अनलाइनखबरसँग प्रश्न गरे, ‘उहाँले बागलुङमा आएर यहीँ जन्मेका, यही हुर्केका, यहीँ घर भएका बागलुङका छोराहरुलाई टुरिष्ट भन्न मिल्छ ? कुनै नैतिकताले उहाँले त्यो भन्न मिल्छ ?’

आफूले चुनाव जित्ने निश्चित भएपछि कुनै मुद्दा नपाएर विरोधीहरुले तुक नै नभएका मुद्दा र विषय निकालेको पौडेलले टिप्पणी गरे ।

२०७४ सालमा एमालेको सहयोगमा पौडेलले कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई ८ हजार ९२२ मतान्तरले पराजित गरेका थिए । मन्त्री भए पनि आफ्नो निर्वाचन क्षेत्रलाई नहेरेको र परेका योजनासमेत काटेको आरोप पनि उनीमाथि लागेको छ । खर्वाङ बजार जोगाउन बडिगाड खोलामा तटबन्ध गर्ने बहुवर्षे योजना पौडेल मन्त्री बनेपछि काटिएको स्थानीयबासिन्दाको आरोप छ ।

‘सांसद बनायौं, उहाँ मन्त्री हुँदा निकै खुसी भएका थियौ’, बडिगाड गाउँपालिका–२ खर्वाङका हरि खरेलले भने, ‘नयाँ योजना ल्याउनुहोला भनेको त, पुराना योजना पनि काट्नुभयो ।’

तर पौडेलेले भने आफूले बजेट काटेको नभई तटबन्धका लागि बजेट पारेको दाबी गरे । ‘मैले नै बहुवर्षीय योजनामा बजेट हालेको हो,’ उनले भने, ‘आफूले चुनाव लडेको क्षेत्रमा आफैंले हालेको बजेट काट्ने पनि कहीँ हुन्छ, यस्ता झुटा कुराको भ्रममा नपर्न म आग्रह गर्न चाहन्छु ।’

मन्त्री पौडेलविरुद्ध माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले बागी उम्मेदवारी दिएका छन् । पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने अर्यालले पौडेलको मत काट्ने भन्दै एमाले हौसिएको छ । पौडेल भने सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एक ढिक्का रहेको दावी गर्छन् ।

पौडेलकी प्रतिस्पर्धी एमालेकी चालिसे चुनावअघि मात्र कांग्रेसबाट आएकी नवप्रवेशी हुन् । गत ३० वैशाखमा स्थानीय तह चुनावमा गलकोट नगरपालिकाको मेयरको टिकट नपाएपछि बागी उम्मेदवारी दिएर विद्रोह गरेकी उनी त्यसपछि एमाले प्रवेश गरेकी हुन् । त्यसैले नवप्रवेशी मञ्जुलाई एमाले समर्थकको मन जितेर मत तान्नुपर्ने चुनौती छ ।

तर प्रतिनिधि सभामा कांग्रेसको आफ्नै उम्मेदवार नहुनु, सशक्त महिला र एमालेको संगठित मतका कारण जित सहज रहेको एमाले बडिगाड गाउँ कमिटी सचिव दिनेश थापा बताउँछन् ।

‘पार्टीका सबै नेता कार्यकर्ताको सहमतिमै चालिसेलाई उम्मेदवार बनाइएको हो’, थापा भन्छन्, ‘विपक्षीले एमालेकै असन्तुष्टि छ भनेर भ्रामक प्रचार गरेपनि सिंगो एमाले मञ्जुलाई विजयी बनाउन लागि परेको छ ।’

चार गाउँपालिका र दुई नगरपालिका रहेको बागलुङ–२ स्थानीय तहको निर्वाचनमा एमालेले एउटा मात्रै नगरपालिका ढोरपाटनको प्रमुख जितेको छ । निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका नेपाली कांग्रेसले र ताराखोला गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा एमाले भन्दा सत्तारुढ गठबन्धन ९ हजार ९३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार ४३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार ५०८ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?