+
+

रुपन्देही-५ का किसान भन्छन् : न सिंचाइ छ, न मलखाद

टोपराज शर्मा टोपराज शर्मा
२०७९ कात्तिक २९ गते १४:२३

९ कात्तिक, बुटवल । गैडहवा गाउँपालिका-७ का राजेश केवट तरकारी खेतीबाट परिवारको गुजारा चलाउँदै आएका किसान हुन् । रुपन्देही– ५ का मतदाता उनको नेता र उम्मेदवारप्रति गुनासै गुनासा छन् ।

‘चुनाव आउंदा नेताहरु सबै चिज दिन्छौं भन्छन् तर जितेपछि फर्केर आउँदैनन्’ उनी भन्छन् । सरकारले मल, बिउ समेत बेलामा दिन नसकेकोमा उनको आपत्ति छ । ‘मल र बीउ भारतबाट ल्याउनुपर्छ, पानी अर्काको बोरिङबाट किनेर खेती गर्नुपरेको छ’ केवटले भने ।

गैडहवाकै गैडहवा कृषि तथा पशुपालन फार्मका सञ्चालक आनन्द गुप्ता सिँचाइको आश्वासन चुनावी नारा मात्र भएको गुनासो गर्छन् । ‘१५ वर्षदेखि कञ्चन बाँधबाट पानी ल्याइन्छ भन्दै भोट मागे तर अहिलेसम्म थोपो पानी आएको छैन’, गुप्ताले आक्रोश पोखे, ‘कञ्चन बाँधको फाटक र नाला मात्र खनिएको छ, तर पानी वितरणको संरचना बनेकै छैन ।’

किसानले उत्पादन गरेका कृषि उपजको भण्डारणका लागि कोल्ड स्टोर र उचित बजारीकरण नहुँदा भारतीय उत्पादनसंग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको लुम्बिनी सांस्कृतिक नगरपालिका ७ का किसान नयनबहादुर यादवको गुनासो छ । ‘जसोतसो उब्जनी हुन्छ तर बजारीकरण छैन, कोल्ड स्टोर छैन कयौंपटक तरकारी नबिकेर गाइभैंसीलाई खुवाउनुपरेको छ’, यादवले भने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका युवा व्यवसायी उपेन्द्र अधिकारी लुम्बिनी विकास कोषको पर्खाल बाहिरका जनता र व्यवसायीले विकास र परिवर्तनको अनुभूति गर्नै नपाएको गुनासो गर्छन् ।

‘लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनुपथ्र्यो, फिटिक्कै भएन’, अधिकारी भन्छन्, ‘भिजन र काम गर्ने क्षमता भएका जनप्रतिनिधि भएको भए १५ वर्षमा यो क्षेत्रको पर्यटन र ब्यापार बढेर काँचुली फेरिसक्थ्यो, अर्कै भइसक्थ्यो ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाकै ६५ वर्षीय अलगु यादवले लुम्बिनी क्षेत्रमा स्तरीय सरकारी अस्पताल नहुँदा उपचारका लागि कि त भारत कि त भैरहवा जानुपर्ने बाध्यता रहेको बताए ।

‘विदेशी पर्यटकसमेत आउने लुम्बिनीमा अहिलेसम्म राम्रो अस्पताल छैन’, यादवले भने, ‘अहिले बल्ल एउटा उम्मेदवारले सय बेडको अस्पताल बनाउने भनेका छन् ।’

लुम्बिनी साँस्कृतिक नगरपालिकामा ढल र फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको समस्या पनि चर्को रहेको ठूलो एकलाकी शहिदुन निशा अन्सारीले गुनासो गरिन् । ‘देश विदेशका मान्छे आउने थलोमा जताततै फोहोरको डुंगुर छ, ढल निकास कतै छैन’, अन्सारीले भनिन्, ‘बुद्ध जन्मेको ठाउँको दुर्दशा नै छ ।’

मधेशका गाउँघरमा गरीब र विपन्न परिवारमाथि ठूलाबडाको थिचोमिचो र अन्याय अर्को समस्या रहेको वडा नं ७ को शिवगढियाका ७० वर्षीय नन्दलाल गुप्ताले गुनासो गरे । ‘ठूलाबडाले सिधासाधा गरीब जनतामाथि अन्याय र थिचोमिचो गर्दै आएका छन्, हाम्रो पक्षमा बोलिदिने कोही हुँदैन’, उनले भने, ‘घरबाट सडकमा जाने बाटो गाउँकै धनीमानीले काँडेतार लगाएर बन्द गरिदिएका छन् तर कतैबाट न्याय पाउन सकिन ।’ उनले गाउँघरमा निःशुल्क न्याय पाउने व्यवस्था हुनुपर्ने माग गरे ।

एक लाख २९ हजार मतदाता रहेको रुपन्देही क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनका बासुदेव घिमिरे र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भरत शाह मुख्य प्रतिस्पर्धी छन् ।

शाह यसअघि यही क्षेत्रबाट तीन पटक जितेका हुन् भने घिमिरे पहिलोपटक प्रतिस्पर्धामा छन् । स्थानीय तहको चुनावको मतका आधारमा यहाँ सत्ता गठबन्धन भन्दा एमाले नेतृत्वको गठबन्धन अगाडि छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?