+
+

रवि लामिछानेविरुद्ध परेको उजुरी के हो, अबको प्रक्रिया के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते २१:२५

२९ कात्तिक, काठमाडौं । मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन आयोगमा जानकारी गराए । कार्यालयले बुधबार नै लामिछानेलाई उक्त उजुरीको विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि उजुरी र जवाफ निर्वाचन आयोगमा पठाउनेछ ।

मुख्य निर्वाचन अधिकृत थापाका अनुसार, लामिछानेविरुद्ध दुईवटा उजुरी छन् । एउटा नवलपरासी र अर्को चितवनकै बासिन्दाले उजुरी दिएका हुन् । एउटा उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दावी छ र अर्कोमा उनले खारेज भइसकेको पुरानो नागरिकता पेश गरेर मनोनयन दर्ता गराएको उल्लेख छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा १० (१) अनुसार, कुनैपनि नेपालीले विदेशी मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ । रवि लामिछाने अमेरिकामा गएर त्यहाँको नागरिकता लिएका थिए । कानुन अनुसार त्यसपछि उनको नेपाली नागरिकता स्वतः रद्द भएको थियो । उनी नेपाल फर्किएपछि समेत विदेशको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएका थिएनन् ।

उनी नेपाल फर्केर टेलिभिजन कार्यक्रममा व्यस्त भएका बेलामा प्रेस काउन्सिल नेपालमा रविविरुद्ध उजुरी पर्‍यो । अमेरिकाको नागरिकता लिएका उनले नेपालमा श्रम स्वीकृति नलिई काम गरेको उजुरी सार्वजनिक भएपछि लामिछानेले अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको घोषणा गरेका थिए ।

नागरिकता ऐनमा भएको व्यवस्था अनुसार विदेशको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाउनासाथ नेपालको नागरिकता पाउने बाटो खुल्छ । नागरिकता ऐनको दफा ११ मा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

तर उनले अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको निस्सा सरकारी कार्यालयमा पेश गरेका थिए वा थिएनन् भन्ने खुलेको छैन । जसको कारण उनको नेपाली नागरिकता फेरी सक्रिय  रह्यो कि रहने भन्ने पुष्टि भएको छैन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराको दावीमा, उनले अमेरिकाको नागरिकता त्यागेका हुन् र त्यसका आधारमा नेपाली नागरिकता समेत कायम भइसकेको छ । लामिछानेले ४ जेठ २०७५ मा अमेरिकाको नागरिकता फिर्ताको प्रक्रिया अघि बढाएको र त्यसको निस्सा समेत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको बोहराले बताए ।

केही दिनअघि अनलाइनखबरसँगको कुराकानीमा लामिछानेले आफूमाथिका पुराना सबै प्रश्न निरुपण भइसकेको बताएका थिए । ‘कुनै च्याप्टर मैले खुला राखेको छैन । सबै च्याप्टर मैले विधिवत रुपमा राम्ररी बन्द गरेको छु’ रविले भनेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन स्रोतका अनुसार लामिछानेले सुरुमा आफूले लिएको नागरिकताको प्रतिलिपी नै मनोनयनका क्रममा पेश गरेका छन् । उजुरीकर्ताको दावी अनुसार अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढेपछि उनले फेरि नयाँ नागरिकता लिनुपर्ने थियो । उजुरीकर्ताले खारेज भइसकेको पुरानो नागरिकताको प्रमाणपत्र मान्य नहुने जिकिर गरेका छन् ।

हामीले गृह प्रशासनमा लामो समय काम गरेका दुई प्रमुख जिल्ला अधिकारीहरुसँग नागरिकता त्याग र प्राप्तिको विषयमा कुराकानी गरेका थियौं । यसमा उनीहरुको समेत मत बाझिएको छ । एकजना प्रमुख जिल्ला अधिकारीले विदेशको नागरिकता पाएको र पछि त्यहाँको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको निस्सा (प्रमाण) दर्ता गर्नासाथ स्वतः नेपाली नागरिक हुने बताए ।

‘विदेशको नागरिकता थियो र त्यो आधारमा नेपाली नागरिकता खारेज भएको हो भने विदेशको त्याग्नासाथ स्वतः नेपाली नागरिकता कायम हुन्छ, त्यही दिनदेखि नागरिकता सक्रिय हुन्छ भन्ने कानूनी व्यवस्था नै छ’ ती प्रमुख जिल्ला अधिकारीले भने, ‘उसको नागरिकता नै कायम हुने भएपछि पुरानो प्रमाणपत्र अवैध हो भन्न मिल्दैन । ऊ अरुसरह नागरिक भयो ।’ तर त्यस्तो अवस्थामा पुरानै नागरिकता नम्बर कायम राखेर प्रतिलिपी जारी गर्ने प्रचलन रहेको ती प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

अर्का प्रमुख जिल्ला अधिकारीले भने विदेशको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने भएकाले त्यसको पुनः प्रयोग सम्भव नहुने बताए । ‘विदेशी नागरिकता लिएका कारण उनको नागरिकताको प्रमाणपत्र खोस्टो बराबर हुन्छ, खारेज भएकाले मान्य हुदैन’ उनी भन्छन्, ‘फेरि नेपालको नागरिकता लिन मन लागे विदेशको नागरिकता त्याग्नुपर्छ । त्यसपछि फेरि पुरानै खोस्टो वैध भयो भन्ने अर्थ लगाउन मिल्दैन ।’

अबको प्रक्रिया के हुन्छ ?

चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले कानुनमा भएको व्यवस्था अनुसार स्पष्टीकरण पेश गर्न लामिछानेलाई सात दिनको सुविधा हुने बताए । ‘स्पष्टीकरण पेश भइसकेपछि सबै कागजात र मिसिल निर्वाचन आयोगमा पठाउछौं’ उनले भने, ‘उजुरी परेकै आधारमा निर्वाचन प्रक्रिया नरोकिने कानुनी व्यवस्था छ, सबै प्रक्रिया अघि बढ्छ ।’

यो व्यवस्था अनुसार रविले बुधबार स्पष्टीकरण पत्र बुझेमा मतदानको तीन दिन पछिसम्म स्पष्टीकरण दिने सुविधा पाउँछन् । त्यति बेलासम्म मतगणनाको प्रारम्भिक आँकडासमेत आउने देखिन्छ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै कागजात आएपछि मात्रै आयोगले निर्णय गर्नेछ ।

आयोगले लामिछानेको नागरिकता कायम नरहेको निष्कर्ष निकाल्यो भने उनको उम्मेदवारी बदर हुन्छ । आयोगको निर्णयविरुद्ध लामिछाने सर्वोच्च अदालत जान पाउँछन् । आयोगले लामिछानेको नागरिकता कायम रहेको निष्कर्ष निकाल्यो भने उजुरी खारेज हुन्छ र नियमित रुपमा प्रक्रिया अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?