+
+

छविलाल विश्वकर्मा : पूर्वसहकर्मीसँगको प्रतिस्पर्धामा अनुकूल अंकगणित

टोपराज शर्मा टोपराज शर्मा
२०७९ कात्तिक ३० गते १०:३०

नेकपा (एमाले)का नेता छविलाल विश्वकर्मा तेस्रोपटक रूपन्देही-१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकलाई पराजित गरेका थिए । २०७० को निर्वाचनमा उनी उनै रज्जाकसँग पराजित भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेले विश्वकर्मालाई समानुपातिक तर्फबाट सभासद बनाएको थियो । त्यसबेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा विश्वकर्मा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

पार्टीको स्थायी कमिटी सदस्य, केन्ऽीय कमिटी सदस्य र भारत प्रवास इन्चार्ज भएर काम गरेका ६० वषर्ीय विश्वकर्मा एमाले पदाधिकारीमा पुग्ने दलित समुदायका पहिलो नेता हुन् । अहिले उनी पार्टीको लुम्बिनी प्रदेशको इञ्चार्ज छन् ।

स्याङ्जाको कृष्णगण्डकी बलाम मैदानमा जन्मिएका विश्वकर्माको राजनीतिक यात्रा २०३७ सालमा नेकपा (माले)को विद्यार्थी संगठनबाट सुरु भएको हो । उनी २०३८ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए ।

विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरोधी आन्दोलनमा सहभागी उनी बुटवलमा पढ्दापढ्दै भारतीय सेनामा भर्ती भएका थिए । केही वर्ष सेनामा जागिर खाएर फर्केका विश्वकर्मा पुनः राजनीतिमा सक्रिय भएका थिए । उनी एक जमानाको चर्चित भलिबलका खेलाडी पनि हुन् ।

विगतमा दुईपटक कांग्रेसका अब्दुल रज्जाकसँग प्रतिस्पर्धा गरेका विश्वकर्माले यसपटक आˆनै पूर्वसहकर्मी घनश्याम भूसालसँग भिड्नु परेको छ । एमालेका अध्यक्ष केपी ओलीको आलोचक भएकाले टिकटबाट वञ्चित हुन पुगेका भूसालले रुपन्देही-१ मा विश्वकर्माविरुद्ध उम्मेदवारी दिएका छन् । गत असोज २२ गते एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

चुनावी अंकगणित

रुपन्देही-१ मा १ लाख ३९ हजार ५६० मतदाता छन् । गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्ष उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, एकीकृत समाजवादीले १ हजार २४३ र लोसपाले ३२५ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरूले पाएको मत ७ हजार ९७ छ । यीमध्ये राजमो र राष्ट्रिय जनमुक्ति पार्टी सत्ता गठबन्धनमा छन् ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको मत जोड्दा ३८ हजार ७६९ हुन्छ । यसमा राजमो र राष्ट्रिय जनमुक्ति पार्टीको मत पनि जोडिन्छ । एमाले, जसपा र राप्रपा गठबन्धनको मत जोड्दा ५१ हजार ६४१ हुन्छ ।

स्थानीय चुनावको यो नतिजा छविलाल विश्वकर्माको हकमा अनुकूल नै देखिए पनि घनश्याम भूसाल र एमालेको देवदह नगर अध्यक्ष टीकाराम चापागाईंले दिएको स्वतन्त्र उम्मेदवारी उनको लागि खतरा भएको छ । र पनि, सत्ता गठबन्धनको भन्दा एमाले-राप्रपा-जसपा गठबन्धनको निकै धेरै मत र एमालेको बलियो जनाधारको हिसाबले अन्य उम्मेदवारभन्दा उनकै सम्भावना बढी देखिन्छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?