३० कात्तिक, काठमाडाैं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण अर्को साताको आइतबारदेखि कतारमा सुरु हुँदैछ ।
सहभागी ३२ देशका टोलीहरुबीच ६४ खेल सञ्चालन हुने कतार विश्वकप ११ डिसेम्बरसम्म आयोजना हुँदैछ ।
विश्वकपको यो संस्करण विश्वका आधाभन्दा बढी जनसंख्याले रंगशालामै पुगेर तथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।
नेपालमा पनि विश्वकप प्रत्यक्ष प्रशारण हुनेछ । नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारणका लागि मिडिया हवले अधिकार पाएको छ ।
नेपालमा विश्वकप प्रत्यक्ष प्रशारणबारे केहि प्रश्नोत्तर यस्ता छन् –
१. मंसिर ४ गतेबाट सुरु हुने यसपटकको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण कहाँ-कहाँ हेर्न पाइन्छ ?
यसपटकको फिफा विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम टेलिभिजन च्यानलमा हेर्न पाइन्छ। त्यसबाहेक सिनेमा हल, रेष्टुरेण्ट, होटल लगायतका सार्वजनिक स्थानमा समेत फुटवलको प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ।
यसमध्ये कतिपय ठाउँमा फुटवलको प्रत्यक्ष प्रशारण देखाउन नेपालका लागि विश्वकपको आधिकारिक अनुमतिकर्ता मिडिया हवबाट अनुमति लिनुपर्ने हुनसक्छ।
२. हिमालय प्रिमियम च्यानल कहाँ आउँछ ?
अन्य नेपाली टेलिभिजन च्यानलहरु जस्तै हिमालय टेलिभिजन नेटवर्कले सञ्चालनमा ल्याउने हिमालय प्रिमियम च्यानल केवल नेटवर्क, डीटीएच तथा एमएसओमा उपलब्ध हुनेछ। कतिपय केवल नेटवर्क र एमएसओमा यो च्यानल उपलब्ध समेत भइसकेको छ। फुटवलको प्रत्यक्ष प्रशारणका लागि हिमालय प्रिमियम च्यानल देखाउनका लागि नेट टिभि, भाया टिभि, क्लियर टिभिसँग सम्झौता भइसकेको छ भने अन्य केही केवल नेटवर्क, डीटीएच तथा एमएसओसँग सम्झौताको तयारी भइरहेको छ।
३. नेपालमा फुटबल देखाउने अधिकार कोसँग छ ?
विश्वकप फुटबल सञ्चालन गर्ने फिफाले यसपटक हरेक देशका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटका लागि छुट्टाछट्टै ‘राइट्स’ बिक्री गरेको छ। यो राइट्स बिक्री बापत मात्रै फिफाले विश्वभरका २२३ वटा देश (टेरिटोरी)बाट तीन अर्ब डलर (तीन खर्ब ९० अर्ब रुपैयाँ) बराबरको रकम असुल गरिसकेको छ।
दक्षिण एशियाका सात देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटमा फुटवलको प्रत्यक्ष प्रशारण देखाउन फिफाबाट भारतीय कम्पनी भायाकम १८ ले ‘राइट्स’ खरिद गरेको छ।
भायाकम १८ बाट बंगलादेशका लागि एभिमोर प्रालि, एभिमोर प्रालिबाट नोरवेस्टर ओमर केस्पोर्टस ज्वाइन्ट भेन्चर र त्यो कम्पनीबाट टिस्पोर्टस बंगलादेशले अधिकार लिएको छ।
त्यसैगरी पाकिस्तानमा भायाकम १८ बाट एरी डिजिटल र नेपालमा भायाकम १८ बाट मिडिया हव प्रालिले यो अधिकार खरिद गरेको छ। त्यसवाहेकका बाँकी चार देश भारत, श्रीलंका, भुटान र माल्दिभ्समा भायाकम १८ आफैंले फुटबल देखाउने व्यवस्था मिलाएको छ।
कुन देशमा कुन कम्पनीले अधिकार प्राप्त गरेको छ सूची हेर्न लिंक खोल्नुहोस

४. नेपालमा अन्य माध्यमबाट फुटबल हेर्न पाइँदैन ?
फिफाले यसपटक टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटमार्फत फुटबलको प्रत्यक्ष प्रशारण ‘जियो लक’ अधिकारसहित बिक्री गरेको छ। अर्थात, जुन माध्यमबाट जुन देशमा देखाउनका लागि जुन कम्पनीले अधिकार प्राप्त गरेको छ, त्यसले त्यही माध्यमबाट त्यही देशमा मात्र फुटबलको प्रत्यक्ष प्रशारण गर्न पाउँछ। त्यसवाहेक अन्य देशमा प्रशारण रोकिन्छ।
जस्तो यसपटक भारतमा भायाकम-१८ ले फुटबलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्पोर्टस-१८ च्यानलमा देखाउँदैछ। त्यो च्यानल भायाकमले प्रत्यक्ष प्रशारणको अधिकार प्राप्त चार देश भारत, भुटान, श्रीलंका र माल्दिभ्सवाहेक अन्य कुनै पनि देशमा सञ्चालन हुँदैन। कहाँसम्म भने नेपालबाट स्पोर्टस-१८ को वेवसाइट खोल्दा समेत We’re sorry. Our service is currently unavailable in this region. भन्ने सूचना प्राप्त हुन्छ।
५. युट्यूब, फेसबुकजस्ता सामाजिक सञ्जालमा हेर्न पाइन्छ होला नि ?
फिफाले हरेक देशलाई ‘जियो लक’सहितको अधिकार बिक्री गरेको छ। त्यही कारण ती सामाजिक सञ्जालमा कुनै अनुमति प्राप्त संस्थाले फुटबल प्रत्यक्ष प्रशारण देखाएबाहेक अन्य कसैले पनि फुटवलको प्रत्यक्ष प्रशारण गर्न पाउँदैनन् । र, त्यसरी प्रशारण हुने फुटबल सम्वन्धित देशमा मात्रै हेर्न सकिन्छ।
त्यसवाहेक चोरी गरेर, झुक्याएर प्रशारण गरे त्यसलाई सामाजिक सञ्जालको आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले तुरुन्तै पत्ता लगाउँछ। यसरी पत्ता लगाएपछि त्यो व्याक्ति वा संस्थाको सामाजिक सञ्जाल बन्द हुने र भविष्यमा उनीहरुलाई ती सञ्जालमा नयाँ दर्ता गर्न समेत रोक लाग्छ। यस्तो चोरी रोक्नका लागि फिफासहित सामाजिक सञ्जालहरुले एआईमा करौडौं डलर लगानी गरेका छन्।
६. पहिले जस्तै भारतीय च्यानलमा आइहाल्छ होला नि ?
फिफाले टेलिभिजन राइट्स बेच्दा टेरिटरी लक गरेको र नेपालमा फुटबलको प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडिया हवसँग भएकाले पहिले जस्तै नेपालमा भारतीय च्यानलमा फुटबल हेर्न मिल्ने अवस्था छैन्। त्यसवाहेक भारतमा फुटबलको प्रत्यक्ष प्रशारण अधिकार लिएको भायाकम-१८ को अधिनमा रहेको स्पोर्टस-१८ च्यानल नेपालमा उपलब्ध समेत छैन। भारतमा स्पोर्टस-१८ वाहेक अन्य च्यानलसँग फुटबल प्रत्यक्ष प्रशारणको अधिकार छैन्।

७. के नेपालमा फुटबल हेर्दा पैसा तिर्नुपर्छ ?
हो । यसपटक फुटबल हेर्दा पैसा तिर्नुपर्छ। उपभोक्ताले प्रति सेटअप बक्स पाँच सय रुपैयाँ र सरकारी राजस्व थप गरेर शुल्क तिरेपछि मात्रै यसपटक फुटबलको प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।
८. कसरी तिर्ने पैसा ?
यसअघि जसरी स्वदेशी र विदेशी च्यानल हेर्नका लागि तपाईंले आफ्नो केवल नेटवर्क, डीटीएच तथा एमएसओलाई शुल्क तिर्नुहुन्थ्यो, त्यसैगरी यसपटक पनि तिनै केवल नेटवर्क, डीटीएच तथा एमएसओलाई विश्वकप फुटवलको प्याकेज खरिद गर्नका लागि शुल्क तिर्ने हो। यसरी शुल्क तिरेपछि तपाईंको टेलिभिजन सेटमा हिमालय प्रिमियम च्यानल खुल्छ। त्यही च्यानलमा मंसिर ४ गतेबाट विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।
९. पहिले-पहिले त सित्तैमा हेर्दै आएका थियौं, यसपटक किन पैसा तिर्नुपर्ने ?
वास्तवमा तपाईंले पहिले पनि विश्वकप फुटबल सित्तैमा हेर्न पाउनुभएको थिएन । केवल अपरेटरहरुले तपाइसँग लिने मासिक शुल्कमा प्रिमियम कन्टेन्ट प्रसारण गर्ने टेलिभिजनको शुल्कसमेत समावेश गरेर लिएका हुन्छन् । जसलाई केवल अपरेटरले बिभिन्न प्याकेज बनाएर तपाइलाई मासिक शुल्क निर्धारण गर्ने गर्छन् ।
जस्तो- सन् २०१८ मा सोनी टेलिभिजनले भारत र नेपालमासमेत विश्वकप प्रसारण अधिकार लिएको थियो । सोनी टेलिभिजन देखाउन नेपालका केवल अपरेटरले बर्षमा करोडौं रुपैयाँ भुक्तानी गर्छन् । शो शुल्कसमेत जोडेर तपाईंले पहिले नै सोनी टेलिभिजनसमेत समावेश भएको प्याकेज खरिद गर्नुभएका कारण पहिले तिरेकै शुल्कमा विश्वकप हेर्न पाउनुभएको हो, निःशुल्क हैन ।
तर, यसपटक नेपालमा भारतीय टीभी च्यानलले विश्वकप प्रसारण अधिकार पाएनन्, नेपालकै हिमालय प्रिमियम भन्ने नयाँ च्यानलले यो अधिकार पायो । हिमालय प्रिमियम भन्ने च्यानल बिश्वकपकै अवसर पारेर प्रसारण सुरु हुँदैछ, जसलाई हेर्न तपाईले थप दस्तुर तिर्नुपर्ने हो । यो शुल्क सवैका लागि बाध्यकारी हैन, विश्वकप फुटबल हेर्न रुची हुनेहरुका लागि मात्र हो ।
यससम्वन्धी थप जानकारीका लागि तपाईंहरुले आफ्नो केवल नेटवर्क, डीटीएच तथा एमएसओलसँग सम्पर्क गर्नुहोस्।
विश्वकप खेलतालिका नेपाली समयमा

 
                    










 २०७९ कात्तिक  ३० गते १७:३१
                        २०७९ कात्तिक  ३० गते १७:३१                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4