+
+

पद्मा अर्याल : प्रभाव जोगाउन जित्नैपर्ने दबाब, प्रतिकूल अंकगणित

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर १ गते १०:५१

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको रजगज भएको क्षेत्र स्याङ्जा-२ बाट चुनाव जितेपछि पद्मा अर्याल एकाएक चर्चित बनिन् । नेकपा (एमाले) र नेकपा (माओवादी) गठबन्धन भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाएकी उनले कांग्रेसका ‘हेभिवेट’ श्रेष्ठलाई हराएर संसद पुगेयता एमालेभित्र पनि एकपछि अर्को सफलता पाइन् ।

२०५४ सालमा एमाले फुट्दा वामदेव गौतमको मालेतिर लागेकी अर्यालले केपी ओलीको जबर्जस्त समर्थक बनेपछि गण्डकी प्रदेशमा राजनीतिक हस्तक्षेप गर्ने हैसियत बनाइन् । उनी अहिले गण्डकीमा पृथ्वीसुब्बा गुरुङपछिको नेता बन्न पुगेकी छन् । गुरुङसँग ओली चिढिंदा अर्यालले सरकारमा महत्वपूर्ण मन्त्रालयको मन्त्रीदेखि पार्टी सचिवसम्मको अवसर पाइन् ।

अर्याल २०३६ सालबाट कम्युनिस्ट राजनीतिमा आएकी हुन् । २०७० मा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष बनेकी उनलाई पार्टी अध्यक्ष ओली निकट भएपछि केन्द्रीय सचिव बन्न समय लागेन ।

गण्डकीमा पद्मा अर्यालभन्दा धेरै सिनियर किरण गुरुङ, खगराज अधिकारीलगायत नेताहरू आफ्ना चेलीको प्रगति हेर्दै बसे । हेर्दाहेर्दै उनी स्वास्थ्य राज्यमन्त्रीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बढुवा भइन् ।

मन्त्री छँदा पनि अर्याल चर्चित नै भइन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका आलोचकमाथि चर्को गरी खनिने काइदा र अभिव्यक्तिहरूले उनलाई राजनीतिक चर्चाको केन्द्रमा राख्यो । नेकपा विवादका बेला उनी ओलीको पक्षमा कडा भाषण गर्दै हिंडिन् । अष्टलक्ष्मी शाक्य ओलीको विपक्षमा हुँदा एमालेभित्र अर्याल ‘भोलिको नेता’का रूपमा देखा परिन् ।

यसपटक उनी दोस्रो पटक स्याङ्जा-२ बाट प्रतिनिधिसभा सदस्यमा उठेकी छन् । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ छन् ।

यसअघि समानुपातिकबाट दुईपटक सांसद भइसकेका गुरुङको यो पहिलो चुनावी प्रतिस्पर्धा हो । दोस्रो पटक जनअनुमोदित हुन प्रयासरत अर्याल एक पटक २०६४ सालमा समानुपातिकबाट संविधानसभामा पुगेकी थिइन् ।

अर्याललाई यसपटक २०७४ सालमा जस्तो सहजता छैन । त्यसबेला उनी मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीको साझा उम्मेदवार थिइन्, अहिले उनका प्रतिस्पर्धी गुरुङलाई सत्ता गठबन्धनको साथ छ । त्यसमाथि एमाले आफैं पनि विभाजनले कमजोर बनेको छ ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९, माओवादी केन्द्रले १ हजार ४४७, मंगोल नेशनल अर्गनाइजेसनले ६४८, स्वतन्त्रले ५९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५११ र नेकपा (एकीकृत समाजवादी)ले २३३ मत पाएको छ ।

यो चुनावी नतिजा अर्यालको लागि प्रतिकूल नै हो । एमालेको मात्र भोट जोगाएर उनले जित्न नसक्ने यसले देखाउँछ । जितका लागि उनले कांग्रेसभित्रको द्वन्द्वमा प्रशस्त खेल्न सक्नुपर्नेछ, तर एमालेभित्रै पनि अन्तरविरोध उस्तै छ । खगराज अधिकारी समूहका कपिलदेव न्यौपानेले दिएको स्वतन्त्र उम्मेदवारीले एमालेभित्रको हानथाप छरपष्ट पारेकै छ, भलै अर्यालले उनलाई फिर्ता गराएकी छन् ।

गत स्थानीय चुनावमा स्याङ्जा एमालेभित्र अर्याल आफैं पनि आलोचित भइन् । उनले जिल्ला समन्वय समितिको सभापति बनाउने उद्देश्यले आˆनै श्रीमान्लाई वडा सदस्यको टिकट दिएको भन्दै आलोचना भएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?