
१ मंसिर, म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमा उमेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् ।
धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए ।
कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।
उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए ।
आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
मालिका गाउँपालिका–४ को ओखरबोट माबिका प्रधानध्यापक रहेका कार्की निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरितको कार्य गरेकाले जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4