+
+

पुकार बम : सत्याग्रही अभियन्ताको संसद पुग्ने तेस्रो प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:२६

सुशासन र सामाजिक न्यायको अभियानसँगै परिणाममुखी र सुसंस्कृत राजनीतिका लागि उज्ज्वल थापाले विवेकशील नेपाली दल स्थापना गरे । थापाले नेपालमा सुरु गरेको वैकल्पिक राजनीतिको पहलमा पुकार बम पनि संलग्न रहे ।

विवेकशील नेपाली दल नेपाली युवाले सुरु गरेको वैकल्पिक राजनीतिको इमानदार प्रयास थियो । उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको उक्त राजनीतिक अभियानको एक उत्तराधिकारीका रूपमा बम अहिले पनि सक्रिय छन् ।

काठमाडौं-११, थापाथली (निर्वाचन क्षेत्र नं. १) का बासिन्दा उनले २०७२ को महाभूकम्पपछि ‘विवेकशील नेपाली’को तर्फबाट देशभर राहत र उद्धार अभियानको नेतृत्व गरे ।
संविधानवाद र मानवतावादप्रति गहिरो प्रतिबद्धता व्यक्त गर्ने पुकारले गत १७ वर्षदेखि सडक नागरिकका आवाज, आवश्यकता र मुद्दा बोकेर अहिंसात्मक अभियानको नेतृत्व गर्दै आएका छन् ।

समाजशास्त्रका स्नातकोत्तर पुकार अध्यापनसँगै ‘सोसल वर्क’मा विद्यावारिधि गरिरहेका छन् । गतिशील मध्यमार्गको राजनीतिक दर्शन मान्ने उनको उद्देश्य कल्याणकारी राज्य र सम्मानित नागरिक हो । उनको आदर्श सरकार सेवक सरकार हो । उनको दर्शन अनुसार त्यस्तो व्यवस्थामा मात्र नागरिकहरू उद्यमशील अवस्थामा पुग्छन् ।

२०६२–६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी त्यसयता ‘नेपाल खुल्ला छ’, ‘नेताज्यू खबरदारः संविधान कहिले’, ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’, ‘भ्रष्टाचार विरुद्धको अभियान’, ‘इनफ इज इनफ’ र गोविन्द केसीको चिकित्सा शिक्षाको २० पटकसम्मको आन्दोलनलगायत दर्जनौं अभियान÷आन्दोलनमा सहभागी भए ।

कोरोना महामारीमा पीडित नागरिकप्रति राज्यलाई जवाफदेही बनाउन साथी ईः सँग पुकार पनि १२ दिन सत्याग्रह (आमरण अनशन) बसेका थिए । कोरोना महामारीमा विपन्न व्यक्तिहरूलाई काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउने काममा उनले नेतृत्वदायी भूमिका खेले । कोरोनाकालमा विभिन्न ठाउँमा सहयोग जुटाएर ५०० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर लिएर बिरामीहरूको घर–घर पुगे उनी ।

पुकारले २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट प्रतिस्पर्धा गरेका थिए । ती दुई निर्वाचनमा उनी छैटौं र तेस्रो स्थानमा आएका थिए ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार छन् । नेकपा (एमाले)का किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल, विवेकशील साझाका शंकर बन्जाडेलगायत पनि चुनावी मैदानमा छन् ।

काठमाडौं–१ मा महानगरका १०, ११, २९ र ३१ वडा (नयाँबानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर) पर्छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३१ बाहेक तीन वडामा जितेको छ ।

स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारमार्फत पाएको दलगत मतमध्ये कांग्रेसको भागमा ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, नेकपा (माओवादी केन्द्र)को १ हजार १५९, विवेकशील साझाको २७३ र स्वतन्त्रको भागमा १०१ मत छ ।

स्थानीय र संघीय चुनावमा मतदाताको मनोविज्ञान फरक हुन्छ नै । स्वतन्त्र र युवाको लहर चलिरहेको बेला बालेन जन्माउने शहरका युवा पुकार बम आफू चुनाव जित्ने दाबीसहित मतदाताबीच पुगिरहेका छन् । बदलिएको अवस्थामा नतिजा कसको पक्षमा आउँछ, यसै भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?