+
+
उम्मेदवार प्रोफाइल :

रामकुमार राई : उदयपुर-२ का बलिया बागी

ऋषि राई ऋषि राई
२०७९ मंसिर १ गते २०:१०

तत्कालीन कटारी गाविसको कार्यालयमा सिफारिस लिन गएका रामकुमार राईलाई अध्यक्ष सञ्जीव थापाले अड्को थापे । ‘उहाँले यो कुर्सीमा बसेर काम गर्न गाह्रो छ भन्दै सिफारिस अड्काएपछि गहिरिएर सोचें’ राई भन्छन्, ‘अनि कस्तो हुँदोरहेछ त त्यहाँ बस्दा भनेर मजाले राजनीतिमा लागें ।’

नभन्दै उनी २०५४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट गाविस अध्यक्षमा निर्वाचित भए । त्यतिबेलैदेखि नागरिकता सिफारिस, वन मुद्दाका समस्या, मालपोतलगायत काममा दत्तचित्त भएर काम गरेको राई बताउँछन् ।

अध्यक्ष हुँदा गरेको गाविसभित्र बाँध-तटबन्ध निर्माण, सडक विस्तारमा जनसहभागिता अभियान, वडाहरूलाई मदन भण्डारी राजमार्गमा जोड्न ट्रयाक खोल्नेलगायत कामले आफूलाई लोकप्रिय बनाएको उनको अनुभव छ । ‘पदावधि सकिएपछि पनि राजनीतिको लागि निरन्तर जनताको काममा लागिरहें’, उनी भन्छन् ।

राईले लामो समय नेपाली कांग्रेसको राजनीति गरे, आफ्नो क्षेत्रमा लोकप्रिय पनि भए । त्यही आधारमा प्रतिनिधिसभामा उठ्ने योजना बनाए, तर पार्टीको क्षेत्रीय सभापति समेत रहेका उनले टिकट पाएनन् ।

अनि स्वतन्त्र उम्मेदवारी दिएका उनले माछो चुनाव चिह्न पाएका छन् । आगामी ४ मंसिरमा उदयपुर–२ मा स्वतन्त्र माछाले चमत्कार गर्ने दाबी उनी गर्छन् । ‘माहोल त्यस्तै छ’, उनले भने ।

पार्टी नेतृत्वले पटक–पटक झुक्काएपछि विद्रोही बन्नुपर्ने बाध्यता आइपरेको राई बताउँछन् । खासमा उनी २०७४ को स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए । गत वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनमा पनि उनको त्यही इच्छा थियो ।

‘यता जनता जिताउन तयार छन्, उता पार्टीले टिकट दिंदैन’ राईले भने, ‘यसपटक प्रदेशमा टिकट दिने भनेका थिए, तर दिएनन् । अनि संघमै लड्न अघि सरेको हुँ ।’ उनी २ चैत २०२६ मा खोटाङको दुर्छिम–५ मा जन्मिएका हुन् । उनका हजुरबुवा डिल्लीशेर राई पंचायतकालमा मन्त्री भएका थिए । डिल्लीशेरले पंचायतकालमै हालको कटारी–५, बहालामा जग्गा–जमिन जोडेका थिए ।

७ वर्षको हुँदा कटारी झरेका राईले कांग्रेसको क्रियाशील सदस्यता २०४७ सालमै पाएका थिए । उनले कांग्रेसको कार्यालय सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सचिव र क्षेत्रीय सभापति भएर काम गरे । जनताको बीचमा बसेर लामो समय काम गर्दा पनि पार्टीले टिकट नदिएको उनको गुनासो छ ।

त्यही कारण स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूलाई जिताए पाँच वर्ष स्वतन्त्र नै भएर काम गर्ने प्रतिबद्धता मतदाताबीच गरिरहेका छन् । उदयपुर–२ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उम्मेदवार छन् । त्यस्तै, नेकपा (एमाले)को प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझी चुनावी मैदानमा छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उदयपुर-२ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अग्रस्थानमा छ । एमालेले १८ हजार ५७३, कांग्रेसले ११ हजार ३४४, माओवादी केन्द्रले ८ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ४२७ र स्वतन्त्र उम्मेदवारहरूले ५ हजार ५७४ मत पाएका थिए ।

यो अंकगणित अनुसार गठबन्धनसँग २२ हजार ९७३ मत छ । स्थानीय तह र संघीय निर्वाचनको उम्मेदवारी प्रवृत्ति र मतदाताको मनोविज्ञान फरक हुनेहुँदा परिणामबारे अड्कल काट्न मुश्किल छ ।

उदयपुरको दुई निर्वाचन क्षेत्रमध्ये २ मा यसपटक दुई कम्युनिस्ट नेताको रणनीतिबीचमा कट्टर कांग्रेस भनेर चिनिएका रामकुमार राईको चलखेल चलिरहेको छ । मतपत्रमा रूख चिह्न नहुनु उनको लागि अनुकूलता बनेको छ ।

सत्ता गठबन्धनको बल र दह्रो जनाधार भएका प्रतिस्पर्धी बीचबाट विजयी भएर निस्कनु चाहिं यी बागीलाई निकै चुनौतीपूर्ण देखिन्छ, बलियै भए पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?