+
+
उम्मेदवार प्रोफाइल :

महेश बस्नेत : कमजोर चुनावी अंकगणितबाट जित निकाल्ने सुर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:४५

२०३१ साल माघमा भक्तपुरमा जन्मिएका महेश बस्नेत २०४९ मा नेकपा एमालेको साधारण सदस्य भएका थिए । त्यसयताको उथलपुथलपूर्ण राजनीतिमा एमालेभित्र राम्रो प्रगति गरेका नेतामा पर्छन्, उनी ।

सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा बस्नेतले कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् । बेलाबखत अनपेक्षित कारनामा गरेर चर्चामा आइरहने उनी २०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित भए ।

त्यतिबेला २३ वर्ष पुगेका उनी देशभर निर्वाचित गाविस अध्यक्षमध्ये सबभन्दा कान्छा थिए । त्यसपछि उनले एमालेको भ्रातृ संगठन युवा संघमा आबद्ध भएर त्यसको नेतृत्वमा पुगे ।

त्यतिबेला १० वर्षे युद्धबाट भर्खरै शान्ति प्रक्रियामा आएको नेकपा (माओवादी)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शहरी क्षेत्रमा उधुम मच्चाएको थियो । त्यसको प्रतिकार गर्न एमालेले युवा संघभित्रै अर्को संगठन युथ फोर्स बनाएर त्यसको नेतृत्व बस्नेतलाई दियो ।

त्यसपछि शहरमा वाईसीएल र युथ फोर्सको दैनिकजसो भिडन्त हुने अवस्था सिर्जना भयो । त्यसपछि माउ पार्टीहरूले त्यो सांगठनिक संरचनालाई केही समयका लागि स्थगित गरेका थिए ।

‘वाईसीएलको बलमिच्याईंको प्रतिकार गरेको’ जससँगै एमालेले उनलाई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर–२ मा टिकट दियो । तर, उनी नेपाली कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भए ।

एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रियपात्र बनेका बस्नेत चुनाव हारे पनि मन्त्री बन्ने अवसर पाए । उनी २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री भए ।

२०७४ को आम निर्वाचनमा पनि उनले टिकट पाए । एमाले–माओवादी केन्द्र वाम गठबन्धन भएको त्यो निर्वाचनमा उनी भक्तपुर–२ क्षेत्रमा कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य भए ।

बस्नेत अहिले भक्तपुर–२ मा तेस्रो भिडन्त गरेर दोस्रो जित निकाल्ने सुरमा छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट दुर्लभ थापा बस्नेतका मुख्य प्रतिस्पर्धी छन् । थापा कांग्रेसको भक्तपुर जिल्ला सभापति पनि हुन् ।

यी दुई प्रतिस्पर्धीको ‘ट्रयाक रेकर्ड’ले देखाउने एउटा समानता के छ भने दुवैजना सौम्य परिचालनभन्दा दलबल, हुलहुज्जतमा जोड दिन्छन् । चुनावी प्रचारप्रसारमा एमालेका बस्नेत र सत्ता गठबन्धनका थापाले अन्य दल र स्वतन्त्र प्रतिस्पर्धीहरूलाई छायाँमा पारेका छन् । भक्तपुर–२ मा २६ प्रतिस्पर्धीमध्ये ११ जना स्वतन्त्र छन् ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले २५ हजार ७६४ र एमालेले २४ हजार २८५ मत पाएको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४ हजार ९२५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ हजार १७२, नेकपा (एकीकृत समाजवादी) ले १२०० र माओवादी केन्द्रले १ हजार हाराहारी मत पाएका छन् ।

स्थानीय चुनावको यो अंकगणित महेश बस्नेतका लागि अनुकूल छैन । दुर्लभ थापालाई भने गठबन्धनको मत जोगाउन सक्दा मात्र पनि सहज हुने देखिन्छ । एमालेको मत जोगाउँदै राप्रपासँग तालमेल मिलाएर भोट डोल्याउन सकेको अवस्थामा चाहिं बस्नेतले पासा पल्टाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?