+
+
उम्मेदवार प्रोफाइल :

अमृत खड्का : पहिलो उम्मेदवारीमै ठूला र चर्चित प्रतिस्पर्धीको चुनौती

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर १ गते २०:५१

२०४५ सालमा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा आएका ४८ वर्षीय अमृत खड्का यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाट उम्मेदवार छन् । नेकपा (एमाले)मा क्रियाशील भएको छोटो समयमै २०५४ सालमा उनले सैंबु गाविस अध्यक्षको टिकट पाएर जिते पनि ।

राजनीतिसँगै व्यवसायमा पनि सफल हुँदै आएका खड्का अहिले एमालेको वागमती प्रदेश कमिटीको श्रम तथा रोजगार विभाग प्रमुुख छन् । पार्टीमा आफूभन्दा सिनियर आकांक्षीहरूलाई पछि पार्दै प्रतिनिधिसभा उक्लने अवसर लिएका उनलाई रोक्न नेकपा (माओवादी केन्द्र)की पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की चुनावी मैदानमा छन् ।

ललितपुर–३ मा २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यीमध्ये भुसाल र कार्की बढी चर्चामा छन् । यीमध्ये पनि माओवादी केन्द्रकी उपमहासचिव र बहालवाला ऊर्जामन्त्री तथा सत्ता गठबन्धनको साझा उम्मेदवार भएकोले भुसाललाई बलियो उम्मेदवार मानिंदैछ ।

ललितपुर–३ मा भुसाललाई बलियो उम्मेदवार मान्नुको अर्को कारण उनले २०७४ को निर्वाचनमा यही क्षेत्रबाट जित्नु पनि हो । उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन पनि यही क्षेत्रबाट जितेकी थिइन् ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा भने ललितपुर–३ मा माओवादी केन्द्र तेस्रोमा सीमित भयो । उक्त निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १९ हजार ७४४, एमालेले १९ हजार ७११, माओवादी केन्द्रले ७ हजार ९५८ र नेकपा (एकीकृत समाजवादी)ले ५ हजार १२९ मत पाएका छन् ।

स्थानीय चुनावको यो नतिजा एमालेका उम्मेदवार अमृत खड्काका लागि अनुकूल छैन । ‘ह्याट्रिक’को सुरमा रहेकी भुसाललाई रोकेर आफू विजयी बन्न खड्काले सत्ता गठबन्धनभित्रको असन्तुष्टि बढाउने र एमालेभित्रको असन्तुष्टि घटाउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ ।

यसपटक ललितपुर–३ मा उम्मेदवारको लागि कांग्रेसबाट मदनबहादुर अमात्य, जीतजंग बस्नेतलगायत चारजना सिफारिस भएका थिए, तर सत्ता गठबन्धनबाट टिकट पाइन् पम्फा भुसालले । यसमा ललितपुर कांग्रेसको असन्तुष्टि छिपेन ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?