+
+

निर्वाचनमा केही सुधार देखिनु सकारात्मक : जियोक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १७:४७

२ मंसिर, काठमाडौं । आम निर्वाचन पर्यवेक्षक समिति(जियोक) नेपालले दलहरुलाई जिम्मेवार र जवाफदेही बनाउने मामिलामा निर्वाचन आयोगको कामकारवाही सुधारमुखी रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

निर्वाचन पूर्व प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जियोक नेपालले पछिल्लो समयमा आयोगको कामकारवाहीमा महत्वपूर्ण सुधार भएको भनी औल्याएको हो ।

शुक्रबार राजधानीमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जियोक नेपालले विभिन्न ९ वटा सूचक र आधारका आधारमा आयोगको कामकारवाही सुधारिएको देखिने औल्याएको हो । निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने प्रणालीमा सुधार भएको, लेखा परिक्षण प्रतिवेदन पेश गर्ने दललाई मात्रै दर्ता गर्ने पद्धती विकास गरिएकाले सुधार देखिएको औल्याएको हो ।

उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण पेश गर्नुपर्ने, आम्दानीको स्रोत खुलाउनुपर्ने, निर्वाचन अभियान र खर्च विवरण बुझाउनुपर्ने जस्ता प्रावधान आचारसंहितामा राखिएको र त्यसले गर्दा दलहरुको जवाफदेहिता बढेको प्रतिवेदनमा औल्याएको छ ।

अघिल्लो तुलनामा १० प्रतिशत मतदान केन्द्रहरु थप गरी धार्मिकस्थलमा रहेका केन्द्रहरु अन्यत्र सारिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमरा थपलियाले मन्दिरमा मतदान केन्द्र राख्दा कतिपय महिला मतदाताहरुको धार्मिक भावना र संवेदनालाई विचार गरिएको बताए ।

उनले भने, ‘कतिपयले विशेष अवस्थामा मन्दिरमा जान अप्ठेरो मान्नुहुदो रहेछ, त्यहीभएर मतदान केन्द्र अन्यत्र सार्न प्रयास गरिएको हो ।’ जियोक नेपालले लैंगिक र अपांगमैत्री मतदान केन्द्रहरुको विस्तारलाई सकारात्मक भनेको छ ।

जियोकले मतदान बदर हुने अवस्थालाई सुधार गर्न गरिएको प्रयासलाई समेत सकारात्मक भनेको छ । एउटा मतपत्रमा एउटामात्रै छाप लगाए हुने अनि प्रत्यक्ष प्रणालीमा उम्मेदवारहरुको मात्रै चिह्न भएका कारण मत बदर हुने सम्भावना कम हुने प्रतिवेदनमा उल्लेख छ । साथै मसी लत्पतिन नदिन स्वस्तिक चिह्नमा प्रयोग हुने मसीको गुणस्तर समेत सुधारिएको छ ।

मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्न पाउने भनी गरिएको व्यवस्थाले नागरिकको मताधिकारको सम्मान गरेको भन्दै जियोक नेपालले मतदान केन्द्रमा खानेपानी, शौचालय जस्तो स्रोतको व्यवस्थापनलाई समेत सकारात्मक भनेको छ ।

प्रमुख दलहरुले विगतका समानूपातिक उम्मेदवार र सांसदहरुलाई नदोहोर्‍याको घटनालाई सकारात्मक भन्दै जियोकले त्यसलाई ‘उम्मेदवार चयनका क्रममा देखिएको सुधार’ भनेको छ । अनि गुणस्तरिय पर्यवेक्षणको पहल देखिएको औल्याएको छ ।

सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी समाचार सम्प्रेषणका क्रममा तथ्य परिक्षण हुन थालेको र भ्रामक सूचनावारे सचेतना बढेको भन्दै जियोकले त्यसलाई सकारात्मक भनेको छ । जियोक नेपालमा पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, शुसिला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसचिव तिर्थमान शाक्य लगायतका व्यक्ति र उनीहरु आवद्ध संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?