+
+
कथा :

हाम्रो मोल नै के छ र ?

मेरो जवाफमा पूर्णविराम लाग्न नपाउँदै उनीहरुले अभिलाई बन्दुक देखाए । मेरो मुटु बेस्सरी काप्यो । परिस्थिति झनै नाजुक भयो । म कहाँ जाऊँ, कोसँग बिलौना गरू ? सबै ढोकाहरु बन्द भए । के जाहेरी फिर्ता लिऊँ ? म सोच्न बाध्य भएँ । मनका बहुसंख्यक घाउहरुको हिसाब खोज्दै हामी घर आइपुग्यौं ।

अंकिता त्रिपाठी अंकिता त्रिपाठी
२०७९ मंसिर ३ गते ६:५८

बिहानीपख आँगनकै डिलमा बसेर काग बेस्सरी करायो । म काग धपाउन बाहिर आएँ । घामले हाँसेको आगन सम्भवत: कुनै अशुभ समाचारलाई पर्खंदै थियो जहाँ उभिएर कैयौं दिनदिख अभिको प्रतीक्षा गर्दै छु । ‘धन कमाउने पनि ठूलो सपना हुँदो रहेछ कमला, म भएसम्म तिमीलाई केही कमी हुँदैन ।’

यति सकस साहसिलो सपना पूरा गर्न अभि अफगानिस्तान गएको थियो । अभिले बिदाइको हात हल्लाउँदा आँखाले भ्याउन्जेलसम्म उसको बाटो हेरेकी थिएँ । नदेखिएपछि नै अत्तालिएको मन हालसम्म उस्तै छ । घरीघरी मात्र बज्ने फोनको घण्टी र निरन्तरको तालिबान र अमेरिकाको युद्धको समाचारले मजस्ता धेरैलाई विक्षिप्त बनाउँदो हो ।

आजभन्दा १० दिनअघि अभिको फोन आएको थियो ‘कमला म आजसम्म ठीक छु, युद्ध निकै चर्किएको छ, केही भइहाल्यो भने भइहाल्यो, तिमी नआत्तिनु’ अभिको अन्तिम वाक्य त्यही थियो । त्यसपछि फोन काटियो । अभिको कुशलताको पुकार गर्दै झिनो आशमा म विगत केलाउँदै थिएँ,  मलाई वर्तमानको हल्लाले झस्कायो । केही व्यक्तिले ठूलो बाकस बोकी आए र तल्लो घरमा बाकस बिसाए । बाकसमा राम दाइ थिए । अफगानिस्तानदेखि नेपालसम्म निर्जिव राम दाइ कहिले नब्युँझिने गरी निदाएरै आए । काकीको होस हरायो । काकीसँगै मेरो पनि अभिलाई जिउदै हेर्ने आश मर्न थाल्यो ।

एकातिर मलामी जाने तयारी हुँदै थियो भने अर्कातिर स्पिकरमा गीत घन्कियो,  ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ । मूलबाटोमा पार्टीको झण्डा फहराएर खेम शर्मालाई संघीय चुनावमा जिताउन प्रचारप्रसार हुँदै थियो ।

खेम शर्माले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ढाँटेर अमेरिकी सैनिकको नोकर बनाउन लहरै लगाएर थुप्रै युवालाई अफगानिस्तान लगेका थिए । बाकसमा मानिसहरु फर्किंदा समेत पनि खेम शर्मालाई कसैले प्रश्न गर्ने हिम्मत गरेनन् । मनमा कुरा खेलाउँदै अभिलाई फोन गरे फोन लागेन । केही दिनसम्म कोही अफगानिस्तानबाट भागेरै गाउँ आए, कोही लास बनेर आए । यसैक्रममा अभि पनि आयो, सकुशल आयो । उसलाई निकै वर्षपछि देख्दा आँसु थाम्न सकिन भारी मन हलुका भयो । ‘अभि, कसरी आयौं, कस्तो छ ? मैले प्रश्नै प्रश्न गरे । अभिले उत्तर दियो, ‘तिम्रै प्रार्थनाले आँधी मात्र जीवित थिएँ, तिम्रो आलिङ्गानमा पूरा भएँ ।’ हाम्रो पुनर्मिलन अभिको पुनर्जीवन एक उत्सवजस्तो लाग्यो । अभिलाई धेरै कुरा सोध्न मन छ । भोलि गफ गर्ने सर्तमा हामी मस्त निदायौं ।

एकाबिहानै बाजा बज्यो, घण्टी बज्यो, गाउँ थर्काउने गीत बज्यो, जनता ढाँट्ने खेल सुरु भयो, राजनीतिको खेल । म भान्साको झ्याल बाहिर मानिसहरुको भीड हेरिरहेकी थिएँ । ‘हे भगवान, रक्षा गर्नुस् म मर्न चाहन्नँ भगवान रक्षा गर्नुस् ।’ डरले एकदमै काँपेको आवाज कोठाभित्रबाट आयो । डरले लुगलुग हुँदै अभि टेबलमुनि लुकेको रहेछ । कुनै नराम्रो सपना देखे झैं लाग्यो, ‘अभि’ मैले बोलाए । अभि उत्तरविहीन भएर यसरी हेर्दै थियो कि मानौं म कोही अपरिचित हुँ । सम्हालिन खोज्दै केही क्षणपछि अभि बोल्यो, ‘बाहिर घण्टी बजेको सुन्दा आफू अफगानिस्तानमै छु झैं लागेर ज्यान बचाउन टेबलमुनि लुकें ।’

अफगानिस्तानमा तालिबानले बन्दुक फायर गर्दा गोरेले घण्टी बजाएर हामीलाई लुक्न सिग्नल दिन्थ्यो। ‘अमेरिकी सैनिकको नोकर भएर, जीवन धारमा राखेर लुक्दै लुकाउँदै शरीरलाई बचाएर तिम्रो अगाडि ल्याएको छु । पैसाको लोभमा मैले इमान बेचे, बुटको तल बसेर परिश्रम बेचे,  अफगानीको आत्मा मारे । यसरी नोकर चाहिएको रै छ र त खेम शर्माले हामीलाई बेचेका रहेछन्,’ अभि सुँक्कसुँक्क गर्दै बोल्यो । ‘खेम शर्माका कर्तुतका अनेक उपनाम छन् तर पदको शक्ति पनि कत्ति ठूलो हाम्रो लागि भनिए पनि हामीजस्ता निमुखाले छुनै नसक्ने,’ मैले दोहोर्‍याएँ ।

ठूला गाडी, भव्य महल अहो ! खेम शर्माको घर कति उज्यालो, हाम्रो घरको बत्ती निभाएर लेराएको उज्यालो । राजनीतिले कल्पना गरेको उज्यालो राजनीति गर्नेको घरमा मात्र सीमित हुँदो रहेछ । उभिएर चारैतिर खेम शर्माको घर वरपर नियाल्दा मैले भौतारिरहेको हाम्रो सपना, पीडा, दुःख देखें । यो चार कुना बाहिरको संसार भिन्न छ । हाम्रो सपना पसिना लुटेर बनाएको घरमा कसरी कोही मस्तको निन्द्रा सुत्न सक्छन् ? खेम शर्माविरुद्ध मेरो मनमा पलाएको रिस थाम्न सकिनँ तर धैर्य गरें ।

आदेश सुनेपछि एक्लै नै सही आत्मसम्मानको लागि मैदानमा उत्रिने हिम्मत ममा आयो । तथापि म बाँचेरै मरें, म नमरुन्जेल भनिरहन्छु खेम शर्मा मुर्दावाद

खेम शर्माको मिटिङ सकिएलगत्तै म मिटिङ रुममा गए । ढोका ड्याम्म लाग्यो । म इज्जतले पीडा बोकेर खेम शर्माकहाँ गएकी थिएँ, ऊ विरुद्धको आवाज बुलन्द गरेर हिम्मतले त्यहाँ उभिएकी थिएँ । त्यो सभामा ऊ एक्लै थियो निर्णय गर्न तर न्याय माग्न हिंडेकी म आफैंमा कैयौंको हार गुहारमा थिएँ । हिजो ऊ गद्दीमा बस्दा हामीले भोगेको पीडाको मोल चुकाउन पर्दैन ? मानव तस्करीको विरुद्ध म किन नबोल्ने ?

उसले मेरो मुख थुन्यो, प्रतिकार गर्ने हात अठ्यायो, जमिन भाँसिए झैं भयो खुट्ट थर्थरायो ।  उसको भोकको अघि म निहत्था महिलाले केही गर्न सकिनँ, मेरो चिच्याहटले ऊ डराएन, मेरो प्रतिकारले ऊ रोकिएन । म इज्जतसँग गएकी थिएँ, उसले मेरो इज्जत लतारेर धम्कीले मेरो ओठमा ताल्चा ठोकेर पठायो ।

अभि मलाई पर्खंदै थियो । उज्यालो हँसिलो मुहारले मेरो स्वागत गर्दै थियो । मेरो हात तान्दै अभिले आफू नजिक बसायो । मेरो त खुसी सदाको लागि सकियो, यो रित्तो भाँडोमा कुन खुसी भर्दैछौ अभि ? मेरो आँखा उत्तर खोज्दै थियो । उसले मेरो हातमा कागज थमायो । खोलेर हेरें, आँसु खस्यो । ‘धत ! लाटी रुने हैन नि, भिज्यो भने यो सत्यानास हुन्छ । अब हाम्रा खुसीका दिन फर्केर आएँ ।’ अभि बोल्दा बोल्दै मेरो मुटु चिसो भएर आयो । खेम शर्माले आवाज दबाउन दिएको १० लाखको चेकले हाम्रो झुपडीमा आगो लगाई पानी छर्किंदै थियो । छानो नै जलेपछि घरको के अर्थ अभिको छातीमा टाउको राखेर म सबथोक सम्झिन खोज्दै थिएँ । अभिको खुसीले सबथोकमा पूर्णविराम लगायो ।

‘अभि यो त अस्थायी खुसी हो, चोट यति छ कि यो कागजले सञ्चो बनाउन सक्दैन,’ अभिलाई सोधें । ‘कमला यो बेला जे रहेको छ त्यो ठीक छ । जे भयो बितेर गयो, खेम शर्माले माफी मागे मैले माफ गरिदिए, एकै कुरा सोचेर किन सधैं दु:खी हुनु ? अभिको प्रत्यक कुराले म विक्षिप्त भइरहेकी थिएँ ।

४-५ दिन बित्यो आखिर केही बदलिएन । मेरो घाउ झन् चर्कियो तर खेम शर्मालाई केही फरक परेन । एकदिन हिम्मत जुटाएर, परिणाम जे आए पनि भोग्ने आत्मबल लिएर अभिलाई सबथोक भनें । मैले भन्ने बित्तिकै उसले जवाफ दियो, ‘कमला तिम्रो सबथोक सुनेपछि पनि तिमी मेरो सबथोक नै रहन्छौं, तिमीलाई सुन्न मैले यति हिम्मत जुटाए कि तिमीले सुनाउन कति हिम्मत जुटायौ होला ?’ न्यानो अँगालोमा मलाई बेरेर उसले मसँग कानुनको बाटो हिंड्ने निधो गर्‍यो । खेम शर्मा विरुद्ध बोल्न साहस दिने अभि थियो । यो लडाइँ त लामो हुन्छ र पनि अभिसँगै मैले मेरो जित देखें अनि खेम शर्माको हार ।

प्रहरी कार्यालयबाट घर पुग्दा नपुग्दै खेम शर्माका कारिन्दाहरु धम्की दिन आए । ‘जाहेरी फिर्ता लिनुस्, नभए जीउज्यानकै खतरा हुनेछ । बरु पैसा दिन तयार छौं, मुख बन्द गरेर राख्नुहोस् ।’ अहो, कस्तो हप्काई दप्काई,  म कत्ति पनि डराइनँ, मैले जवाफ फर्काएँ- ‘म जाहेरी फिर्ता लिन्नँ । पैसामा मेरो पीडाको हिसाब हुन सक्दैन । तपाईंलाई सजाय दिलाएमा मात्र मलाई राहत हुनेछ ।’

मेरो जवाफमा पूर्णविराम लाग्न नपाउँदै उनीहरुले अभिलाई बन्दुक देखाए । मेरो मुटु बेस्सरी काप्यो । परिस्थिति झनै नाजुक भयो । म कहाँ जाऊँ, कोसँग बिलौना गरू ? सबै ढोकाहरु बन्द भए । के जाहेरी फिर्ता लिऊँ ? म सोच्न बाध्य भएँ । मनका बहुसंख्यक घाउहरुको हिसाब खोज्दै हामी घर आइपुग्यौं ।

केहीबेरपछि समाचारहरु आउन थाल्यो- खेम शर्माविरुद्ध बलात्कारको आरोप, एक महिलाले दिइन् खेम शर्मा विरुद्द जाहेरी, जाहेरीको कारण चुनावको बेला पार्टी नै संकटमा, सनसनीपूर्ण खुलासा : खेम शर्मा विरुद्द झुट्टा जाहेरी,  चुनावको बेला खेम शर्मालाई हराउने राजनीतिक खेल, कमला आफैं गएकी थिइन् खेम शर्माको घरमा, सुनियोजित ढंगबाट खेम शर्मालाई फसाइयो आदि । म खङ्ग्रङ्ग भएँ ।

बाटोमा, चोकमा मेरै कुराहरु हुन थाले, मेरो चरित्रमाथि औंला ठड्याए, मलाई दोषी करार गरिदिए । मैले गीतामा हात राखेर म पीडित हुँ भनेर चिच्याए पनि ‘हैन, तैंले फसाइस् प्रमाण खैरु’ भन्नेहरु देखिए । यो जित खेम शर्माकै भयो, मैले समाजसँग सकिनँ, मैले हारें । के खेम शर्माको शक्ति, पैसा र अपराधको अगाडि औंला ठड्याउनु मेरो गल्ती भयो ? म सबैलाई किन र कसरी सफाइ दिऊँ अनुसन्धान हुँदै गर्दा म विरुद्धका समाचारहरु किन ? गोप्य हुनुपर्ने मेरो नाम बाहिर ल्याएर मेरो चरित्र हत्या किन ? हरेक टोल र चौतारीमा म दोषी ठहर किन ? ‘कमला, राजनीतिको शक्ति यस्तै हुँदो रहेछ, यो खेम शर्माको पैसाको बोल हो । हामी सस्तो भुईंमान्छेले सोचेभन्दा महँगो छ देशको कानुन र व्यवस्था । हामी आफूलाई बेचेर पनि न्याय किन्न सक्दैनौं । हाम्रो मोल नै के रहेछ र ? यही सत्य हो,’ बोल्दा बोल्दै अभि खोक्न थाल्यो ।

अभिले मलाई हेर्दा हेर्दै अभि डङ्ग्रङ ढल्यो ।  हारगुहार गरेपछि सबै जना मिलेर एम्बुलेन्समा हालेर अभिलाई काठमाडौं ल्यायौं । रिपोर्ट आयो- डेथ ड्यु टु एक्युट रेस्पिरेटरी इन्फेक्सन लिडिङ ड्यामेज अफ लङ्स ।

जमिन भासिए झैं भयो। अभि तिमी ठीक थिएनौ, कत्ति पनि थिएनौ । साथको यात्रा रोकियो, साथको लडाइँ कमजोर भयो, मैले तिमीलाई धेरै सम्झिन्छु अभि । तिम्रो ज्यान लाने पनि खेम शर्मा नै हो, मलाई यहाँ ल्याइपुर्‍याउने पनि खेम शर्मा नै हो । सुन्यौ सबैले राजनीति मानिसको जीवन बदल्ने हतियार हो, तैरिन नजान्नेलाई डुबाइदिने माझी हो । खेम शर्मा कुनै कुशल राजनीतिज्ञ हैनन्, यिनी अवसरवादी हुन्, हत्यारा हुन्, लुटेरा हुन्,  ढोङ्गी हुन्, मानव तस्कर हुन् । खेम शर्मा मुर्दावाद, मुर्दावाद ।

अदालतको आदेश आयो, ‘नेपाल सरकार विरुद्ध खेम शर्मा, जबरजस्ती करणीको मुद्दामा थप अनुसन्धानको लागि अभियुक्त खेम शर्मालाई थुनामा पठाई नियमानुसार गर्नु।’

आदेश सुनेपछि एक्लै नै सही आत्मसम्मानको लागि मैदानमा उत्रिने हिम्मत ममा आयो । तथापि म बाँचेरै मरें, म नमरुन्जेल भनिरहन्छु खेम शर्मा मुर्दावाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?