+
+

मकवानपुरका १० मतदानस्थल अपाङ्गमैत्री

विनोद चौलागाई विनोद चौलागाई
२०७९ मंसिर ३ गते १७:२६

३ मंसिर, हेटौंडा । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेका छन् ।

भुटनदेवी मावि हेटौंडा–४, बालज्योति मावि हेटौंडा–५, नवज्योति मावि हेटौंडा–७, वडा नम्वर १५ कार्यालय रातोमाटे, रोप वे भवन हेटौंडा–१, महेन्द्र किरण मावि हेटौंडा–३, सिद्धार्थ मावि हेटौंडा–२, जनप्रिय उच्च मावि हेटौंडा–१६, विष्णुज्योति आधारभूत विद्यालय हेटौंडा–१२ र ज्ञानदा मावि हेटौंडा–१० मतदान स्थल अपाङ्गमैत्री बनाइएको हो ।

अपांगमैत्री मतदान स्थलमा मतदान गर्ने ठाउँसम्म पुग्नका लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

अपाङ्गमैत्री सबै मतदानस्थलमा महिला, पुरुष र अन्य गरी तीनवटा प्रवेशद्वार बनाइएको छ । अपाङ्गमैत्री प्रवेशद्वारबाट अपाङ्गता भएका व्यक्तिका साथै वृद्ध, अशक्त, गर्भवती र बिरामी भएका व्यक्तिहरुलाई समेत सजिलोसँग मतदान गराउने व्यवस्था गरिएको पोखरेलले बताए ।

यी केन्द्रमा ब्रेललिपिमा छामेर मत संकेत छान्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साहारा लिनुपर्ने अवस्थामा मतदाताले तोकेको आफ्नो परिवारको सदस्य वा मतदान अधिकृतबाट समेत सहयोग लिन सकिने व्यवस्था गरिएको पोखरेलले बताए ।

मकवानपुरमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिङ्गी ५ जना रहेका छन् ।

२८ कैदीबन्दी मतदानमा सहभागी हुँदै

भीमफेदी कारागारमा रहेका २८ जना कैदीबन्दीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्दैछन् । उनीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउनेछन् । मतदानका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

यसैगरी अर्को अस्थायी मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थापना गरिएको छ । यस केन्द्रबाट मतदानमा नखटिएका कर्मचारी, प्रहरी, सेना, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र मानव सेवा आश्रममा रहेका व्यक्तिहरु गरी ९६६ जनाले भोट हाल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा खटिएका ४२० र प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा खटिएका ३४५ जना कर्मचारीले आफू खटिएकै मतदान केन्द्रबाट भोट हाल्नेछन् ।

निर्वाचनमा २ हजार ९१८ जना कर्मचारी खटिएका पोखरेलले जानकारी दिए । निर्वाचनका लागि मकवानपुरमा १६७ मतदानस्थल र ३६४ मतदानकेन्द्र तोकिएको छ ।

सिद्धार्थ माविमा मतगणना हुने

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले हेटौंडा–२ को सिद्धार्थ माविमा मतगणना स्थलको निर्माण गरिरहेको छ । विद्यालयमा ८ वटा कोठामा तारजाली लगाएर मतगणना स्थलको निर्माण भइरहेको सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।

सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?