+
+

चितवनमा मतदानको तयारी पूरा, संवेदनशील क्षेत्रमा विशेष निगरानी

सुवास पण्डित सुवास पण्डित
२०७९ मंसिर ३ गते १८:१५
चितवनको सप्तगण्डकी क्याम्पस चोकमा आकस्मिक चेकजाँचमा खटिएको प्रहरी टोली । तस्वीरः अनलाइनखबर

३, मंसिर, चितवन । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानको तयारी चितवनमा पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीन निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा १६२ वटा मतदानस्थल र ४६० वटा मतदान केन्द्र रहेका छन् ।

ती सबै मतदानस्थल र केन्द्रहरूमा निर्वाचनको सुरक्षामा खटिने प्रहरी, म्यादी प्रहरी लगायतका सुरक्षाकर्मी, कर्मचारीहरू, मतपेटिका, मतपत्रहरू सबै पुगेको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले एउटा मतदान केन्द्रका लागि आठ जनाको दरले कर्मचारी खटाएको छ ।

२०७४ को निर्वाचनमा भन्दा यसपटक मतदानस्थल कम गरिएको छ भने मतदान केन्द्र बढाइएको छ । अघिल्ला चुनावमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । यसपटक क्षेत्र नं. १ मा ५६ मतदानस्थल, क्षेत्र नं. २ मा ४३ मतदानस्थल, क्षेत्र नं. ३ मा ६३ मतदानस्थल गरी १६२ मतदानस्थल तोकिएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार जिल्लाका ३४ मतदानस्थललाई अति सम्वेदनशील, ८९ लाई संवेदनशील र ३९ वटालाई सामान्य भनेर बर्गिकरण गरिएको छ । २०७४ को निर्वाचनमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील भनेर राखिएको थियो ।

जिल्लामा पछिल्लो समयमा उम्मेदवारहरुकै सवारी साधनहरु माथि तोडफोड, विभिन्न ठाउँमा विस्फोट गराउने कार्य बढ्दै गएकोले सुरक्षा चुनौती बढेको देखिन्छ । चितवन प्रहरी प्रमुख नवराज अधिकारीले केही फाटफुट घटना हुँदैमा आम मतदाताहरुलाई नआत्तिन र भयरहित वातावरणमा मतदानस्थलसम्म पुगेर मतदान गर्न आग्रह गरेका छन् ।

उनले उपस्थिति जनाउन केही तत्व लागिपरे पनि उनीहरु माथि कडा निगरानी गरिएको र सादा पोशाकमा प्रहरी व्यापक परिचालन गरिएको बताए । उनले जिल्लाका राजनीतिक दलहरुलाई निर्वाचनको वातावरणलाई मर्यादित र शान्तिपूर्ण बनाउन सहयोगको अपेक्षा राखेको बताए ।

यसपटकको निर्वाचनमा झण्डैं ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् ।

मतदानस्थल र केन्द्रको भित्रि घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा सशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ ।

पर्याप्त मात्रामा सिभिल प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी ‘स्टाण्डबाइ’ नै रहनेछ भने अन्यत्र भने सेना र सशस्त्रको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । मतदानस्थल अधिकांश विद्यालयमा कायम गरिने भएको छ ।

प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार भोलि विहान ६ बजेदेखि पूर्वको लोथर, माडीको बाँदरझुला, पश्चिमका गैंडाकोट र मुग्लिन तथा फिस्लिङमा चितवन आउने नाकालाई सिल गरेर कुनै पनि सवारी साधनलाई आउन रोक लगाउने तयारी गरिएको छ ।

चितवनको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । निर्वाचनलाई लक्षित गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने योजना बनाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार कात्तिक १५ देखि मंसिर १० गतेसम्म महत्वपूर्ण निकायको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय भएको थियो ।

चार लाख मतदाता

चितवनका तीन निर्वाचन क्षेत्रमा गरेर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा १० हजार ६५७ ले बढी हो । २०७४ मा तीन लाख ५४ हजार ३६ मतदाता थिए । यसपटक महिला २ लाख ९ हजार ३०९ र पुरुष १ लाख ९९ हजार ३२ जना रहेका छन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । यहाँ भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्दछ । २०७४ को संघीय निर्वाचनमा एक लाख २५ हजार ८२३ मतदाता थिए ।

निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार २ सय १४ छन् । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्दछन् । २०७४ मा यस क्षेत्रमा एक लाख ८ हजार २१४ मतदाता थिए ।

क्षेत्र नं. १ मा १ लाख ३९ हजार ८ सय ४५ जना मतदाता रहेका छन् । यहाँ राप्ती, रत्ननगर र खैरहनी नगरपालिका पर्दछन् । २०७४ को चुनावमा १ लाख १९ हजार ९९८ मतदाता थिए ।

प्रदेशसभा क्षेत्रतर्फ चितवन १ (क) मा ६६ हजार १५, क्षेत्र नं. १ (ख) मा ६३ हजार ८ सय ३० मतदाता छन् । यस्तै चितवन २ (क) मा ६१ हजार ९ सय ७३, क्षेत्र नं.२ (ख) मा ६२ हजार २ सय ४२ मतदाता छन् । यस्तै क्षेत्र नं. ३ (क) मा ७८ हजार २ सय ८६, क्षेत्र नं. ३ (ख) मा ६५ हजार ९ सय ९६ मतदाता रहेका छन् ।

भरतपुर माविमा सबै महिला कर्मचारी

चितवन क्षेत्र नं. २ को भरतपुर–१० मा रहेको भरतपुर मावि मतदान स्थलमा सबै महिला कर्मचारी निर्वाचनका लागि खटाइएको छ । चारवटा मतदान केन्द्र रहेको यो विद्यालयमा ३२ जना कर्मचारी छन् ।

मतदानस्थलमा २३ जना सुरक्षाकर्मी खटिएका छन्, ती सबै महिला नै हुन् । स्थानीय तहको निर्वाचनमा बालमन्दिर विद्यालयमा सबै महिला कर्मचारी र सुरक्षाकर्मी खटाइएको थियो ।

चारवटा मतदान केन्द्र रहेको भरतपुर मावि मतदानस्थलबाट आइतबार तीन हजार ४२९ जना मतदाताले मतदान गर्दैछन् ।

तीन ठाउँमा मतगणना

चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं. २ को गणनाका लागि चितवन उद्योग संघको हलमा गणनास्थल तयार गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० वटा सीसीटिभी, मनिटर र जाली लगाइएको बताए । यहाँ ४ ठाँउबाट गणनाको काम थालिने उनले बताए ।

२ ठाउँबाट प्रतिनिधिसभा र २ ठाउँमा प्रदेश क्षेत्र (क) र (ख) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए । अन्य निर्वाचन क्षेत्रमा पनि सोही अनुसारको गणनाको योजना बनेको उनले बताए ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउने नयाँ अभ्यास प्रचलनमा आएको छ ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ ।

यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?