+
+

दाङ–२ मा शंकर र रेखालाई ‘घण्टी’को डर

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ मंसिर ४ गते २३:११

४ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई घण्टी चुनाव चिन्ह भारी पर्ने देखिन्छ ।

अनलाइनखबरले दाङ क्षेत्र नं. २ अन्तर्गतका राजनीतिक दलका प्रभाव मानिने शहरी क्षेत्र र गाउँ–बस्ती ठाउँमा सर्वेक्षण गरेको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकाकामा कांग्रेसको प्रभाव मानिने वडा नं. ६, १०, १५ मा, एमालेको प्रभाव मानिने १४, १५, १६, १७ का मतदातासँग कुरा गरिएको थियो ।

यी छ वटा वडाका १५० जना मतदातासँग कुराकानी कुरा गर्दा ९३ जना मतदाताले आफूले भोट हालेको पार्टीका बारेमा खुलेर प्रतिकृया दिए । बाँकी ५३ जनाले कसलाई भोट हालेको भनेर खुलाउन चाहेनन् ।

आफूले हालेको मत खुलाएका मध्ये सबै भन्दा धेरै ४४ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ईञ्जियिनर विशाल अधिकारीलाई घण्टीमा मतदान गरेको बताए । २९ प्रतिशत मतदाताले एमालेका महासचिव पोखरेलाई सूर्यमा र २४ प्रतिशतले गठबन्धनकी उम्मेदवार रेखा शर्मालाई हसिया हथौडामा मतदान गरेको बताए ।

कुराकानी गरेका ९३ मध्ये ४१ जनाले घण्टीमा, २७ जनाले सूर्यमा र २३ जनाले हसिया हथौडामा मतदान गरेको बताए । त्यसक्रममा दुई जनाले भने अन्यलाई मतदान गरेको बताएका थिए ।

दाङ क्षेत्र नंं. २ को बजारी क्षेत्रमा पर्ने घोराही वडा नं. १०, १४ र १५ मा अन्य दलभन्दा घण्टीलाई मतदान गरेको भन्ने धेरै भेटिए । कांग्रेसको प्रभाव मानिने यी वडामा अधिकांश युवा र ज्येष्ठ नागरिकले ठूला दलको बिकल्पमा घण्टी नै रोजेको बताए ।

यस निर्वाचन क्षेत्रमा निर्णयक मत मानिने थारु समुदायले पनि यसपटक घण्टी र सूर्यलाई रोजेको सुनाए । सर्वेक्षणका क्रममा थारु समुदायका २५ जनामध्ये ९ जनाले घण्टी, ७ जनाले एमाले, ३ जनाले हसिया हटौडामा मतदान गरेको बताए । बाँकी ६ जनाले भने कसलाई मतदान गरेकोबारे भन्नेबारे खुलाएनन् ।

सर्वेक्षणका सहभागी भएका ज्येष्ठ नागरिक, युवा र महिला, पुरुष थिए । जसमा हामीले १८ देखि ७० वर्षका मतादातासँग कुराकानी गरेको थियौं । राजनीतिक दलसँग आवद्ध रहेको भनेर चिनिएकालाई सर्वेक्षणमा सहभागी गराइएको थिएन ।

ठूला दलमा निराशा

अनलाइनखबरले आइतवार दाङ–२ का विभिन्न मतादान केन्द्रमा पुगेर मतादातासँग कुराकानी गर्दा अधिकांश मतादाता ठूला दलहरुप्रति असन्तुष्ट देखिए । प्रायः मतदाताले पूराना दलबाट आफूहरुलाई आश नरहेको र विकल्प खोजेको बताए । ‘विगतमा हामीले ठूला दलहरुलाई चुनाव जिताएर हेरिसक्यौं’ मतदानपछि एक ६५ वर्षीय ज्येष्ठ मतदाताले भने, ‘उनीहरुबाट के गर्लान् भन्ने आश छैन । अब नयाँलाई मौका दिने हो ।’

अनलाइनखबरले मतादाताले भनेको आधारमा दाङ क्षेत्र नंं. २ मा मत बदल्न खोजेको संकेत दिए । बिकल्पमा उनीहरुले बैकल्पिका दलमा रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेको देखियो ।

यो आँकडा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले पुराना दललाई भारी मत काट्ने पक्का पक्की छ । विगतमा रुखमा मतदान गर्र्दै आएका मतादतासँग गरेको कुराकानी आधारमा रुख चुनाव चिन्ह नुहँदा मत घण्टीमा दिएको बताए । यता कांग्रेसको मत घण्टीलाई जाँखा गठबन्धनकी रेखा शर्माको मत काटिएको छ । जसले उनलाई भारी पर्ने देखिन्छ । त्यसको फाइदा एमालेका महासचिव शंकर पोखरेललाई हुने देखिन्छ ।

विगतको अंक गणित

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा दाङ–२ मा पर्ने २७ वटा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमालेभन्दा सत्ता गठबन्धन अगाडि छ ।

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३३ हजार ५९३ मत ल्याए थिए । नेपाली कांग्रेसका उम्मेदवारहरुले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ मत ल्याएका थिए । गठबन्धन दलको कूल मत ३६ हजार ७२१ र एमालेको ३३ हजार ५९३ मत हुन जान्छ ।

एमाले महासचिव पोखरेललाई यो निर्वाचन जसरी पनि जित्नुपर्ने दबाब छ । उनी ०५१ सालयताका कुनै पनि निर्वाचन प्रत्यक्ष जितेर संघीय सांसद बनेका छैनन् । ०६४ सालमा उनी समानुपातिकबाट सांसद बनेका थिए । त्यसैले यसपटकको निर्वाचन जसरी पनि जितेर पार्टी र संसदमा अझ बलियो प्रभाव पार्न पोखरेलले चाहेका छन् ।

दाङ–२ बाट गत चुनवमा माओवादी नेता कृष्णबहादुर महराले जितेका कारण यसपालि महरासँग पोखरेलको भिडन्त हुने चर्चा थियो । तर महरा पछि हट्दा यो अवसर रेखा शर्माले पाएकी हुन् । २०७० सालको पहिलो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लडेकी हुन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?