+
+

विश्वकप फुटबल : इंग्ल्याण्ड र इरान पहिलो पटक भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:४१

५ मंसिर, काठमाडौं । कतारमा आइतबार सुरु भएको २२ औं संस्करणको फिफा विश्वकपमा सोमबार तीन खेल हुँदैछ ।

पहिलो खेल समूह बी मा रहेको इंग्ल्याण्ड र इरानबीच खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ७ बजे सुरु हुनेछ ।

यो खेलको रमाइलो तथ्य भनेको इंग्ल्याण्ड र इरान पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुन लागेका हुन् ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको इंग्ल्याण्ड कतार विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । गत वर्ष भएको युरोफकपमा भने इंग्ल्याण्ड फाइनलमा पराजित भएको थियो ।

ग्यारेथ साउथगेटको टिम इरान विरुद्ध ३ अंक जोड्नेमा विश्वस्त छ । तर इरानले उनीहरुलाई चुनौती दिन सक्नेछ ।

विश्वकपमा जानुअघि इंग्ल्याण्डको प्रदर्शन खासै राम्रो छैन । इंग्ल्याण्डले खेलेको पछिल्ला ५ खेलमा तीन खेलमा पराजित भएको थियो भने दुई खेल जितेको थियो ।

इरानले भने विश्वकप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै १० मध्ये ८ खेल जितेको थियो । पछिल्ला ५ खेलमा इरानले ३ खेल जितेको छ भने एकमा बराबरी र एकमा हारको नतिजा छ ।

समूह बी मा रहेका चारवटै टिम फिफा वरीयतामा शीर्ष २० मा रहेकोले यस समूह वरियता अनुसार हेर्ने हो भने कठिन समूह देखिन्छ । इंग्ल्याण्ड पाँचौ र इरान २०औं स्थानमा छ ।

यस समूहमा रहेका अन्य दुई टोली अमेरिका १६ औं र वेल्स १९ औं स्थानमा छन् ।

सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेयता इंग्ल्याण्डले केही जित्न सकेको छैन । त्यसैले कतारमा ५६ वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यमा इंग्ल्याण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?