+
+

काठमाडौं-६ मा कांग्रेस-एमालेभित्र प्रश्न : घण्टीमा भोट कसले दियो ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ मंसिर ५ गते २०:०२

५ मंसिर, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका धर्मस्थलीमा काठमाडौं-६ को मतगणना भइरहेको छ । सोमबार मनमैजु र ठमेलको भगवान बहाल क्षेत्रको मतगणना गरिएको छ । गणनामा खटिएका कर्मचारीले करिब एक मिनेटमा ११ वटा मतपत्रको गणना सुनाउँछन्, राप्रपा, घण्टी, घण्टी, घण्टी ….. अन्तिममा रुख र सूर्य ।

११ मत गन्दा ८ वटासम्म मत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा परेपछि मतगणनास्थलमा बसेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार निराश देखिएका छन् भने रास्वपाका प्रतिनिधिमा भने आत्मविश्वास बढेको छ ।

एकैछिन मात्र होइन दिनभरि नै मतको ट्रेन्ड यस्तै देखिएपछि गणनास्थलबाट बाहिरिएका नेपाली कांग्रेसका एक प्रतिनिधिले आफ्ना दलका अर्का प्रतिनिधिलाई सोधे, ‘घण्टीलाई भोट कसले हाल्यो ?’

बाहिर रहेका कांग्रेसका क्षेत्रीय नेता र प्रतिनिधिले खै भन्ने संकेत गर्दै ओठ लेप्र्याए, जवाफ कसैसँग छैन ।

गढमै कांग्रेसको मत बिग्रियो

काठमाडौं-६ मा पर्ने तारकेश्वर नगरपालिकाको बहुमत वडामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । तीनैमध्येको एक हो तारकेश्वरको वडा नं १० को मनमैजु क्षेत्र । यस्तै पूर्व रक्षामन्त्रीसमेत रहेका भीमसेनदास प्रधानको घर भएको क्षेत्र हो ठमेलको भगवान बहाल । दुवै क्षेत्रका मतदान केन्द्रबाट संकलन भएको मतपत्रको सोमबार गणना गर्दा कांग्रेसले निकै कम मत पाएको छ ।

कांग्रेसले आशा गरेकै क्षेत्रमा मत बिग्रिएपछि कांग्रेस कार्यकर्ता निराश देखिएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि यो क्षेत्रमा कांग्रेसका प्रधानले चुनाव जितेका थिए । तर यसपटक माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेकाले प्रधानलाई सहज हुने अनुमान थियो ।

तर सोमबार साँझ साढे ५ बजेसम्म २१ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २४४ मतको अग्रता लिएका छन् । तर कांग्रेस कार्यकर्ताहरुको कुरा मान्ने हो भने रास्वपाका खनालको मत आउने अनुमान गरिएको खास क्षेत्रमा मत गणना हुनै बाँकी छ ।

कांग्रेस उम्मेदवारसँग आक्रोश

आशा गरेजति मत नआएपछि कांग्रेसले पार्टीभित्रै र सत्ता गठबन्धनभित्रैबाट अन्तर्घात भएको आशंका गरेको छ । गणना भएको ठाउँको प्रारम्भिक नतिजामा कांग्रेस उम्मेदवार प्रधानले पाउनुपर्ने मतको ७० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीका खनाललाई गएको कांग्रेस कार्यकर्ताको बुझाइ छ ।

‘मुखले कांग्रेसको प्रचार गरेको भने तर भोट स्वतन्त्रको घण्टीमा हाले’, एक प्रतिनिधिले भने ‘पार्टी र गठबन्धनमा अन्तर्घात भयो ।’

गणनास्थलमा भेटिएका कांग्रेसकै कतिपय कार्यकर्ता भने पार्टीभित्रै एउटा पक्षमाथि भएको अवहेलनाक कारण यस्तो नतिजा आएको बताउँछन् । कांग्रेसको २ सय मत ‘घण्टीमा खन्याएको’ बताउने एक कार्यकर्ताका अनुसार कोरोना महामारी, आर्थिक संकट र स्थानीय वासिन्दाको समस्यामा कांग्रेस पार्टी र यस क्षेत्रका सांसद भीमसेनदास प्रधानले जनतालाई के छ भनेर समेत सोधेनन् ।

उनका अनुसार पार्टीमा राम्रो काम गरेकाहरुलाई समेत पन्छाएर सधैं भीमसेनदासलाई कांग्रेसले अघि सारेका कारणले पनि कार्यकर्ता रुष्ट थिए । ‘हिजो भोट हालेपछि घण्टीका उम्मेदवारका शिशिर खनाल चिनेका कांग्रेसी धेरै छन्’, कांग्रेसका ती कार्यकर्ताले भने, ‘ ४ पटक चुनाव लडेका भीमसेनदास र कांग्रेसबाट केही हुन्न भनेपछि विकल्प छानेका हौं ।’

एमालेको ३० प्रतिशत मत घण्टीमा

काठमाडौं ६ मा पहिलो दिनको गणनाको सुरुवातमा एमालेका प्रतिनिधिहरु स्वतन्त्र पार्टीले आफ्नो भोट नकाट्नेमा विश्वस्त देखिन्थे । सत्तारुढ गठबन्धनमा भोट ट्रान्सफर नहुने र कांग्रेसकै केही मत रास्वपाका उम्मेदवारलाई जाँदा चुनाव जित्ने एमालेको अनुमान थियो । तर सोमबार साँझसम्म आइपुग्दा एमालेको अनुमान असफल भएको छ ।

मतगणनास्थलमा बसेका एमालेका कार्यकर्ता आफ्नो ३० प्रतिशत मत राष्ट्रिय स्तवन्त्र पार्टीले पाएको बताउँछन् । पार्टीको प्रभाव भएको मानिने केही वडा र गाउँको मत स्वतन्त्र पार्टीका उम्मेदवारले पाएका छन् ।

‘घण्टीमा सोचेभन्दा धेरै मत गयो’, एमालेका एक प्रतिनिधिले भने, ‘हाम्रो अनुमानमा एमालेबाटै ३० प्रतिशत मत गएको अनुमान छ । अब बाँकी अन्तिम परिणामले भन्छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?