+
+

काठमाडौं–७ : अग्रता लिँदा पनि खुसी हुन सकेनन् एमाले कार्यकर्ता

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर ५ गते २२:०७

५ मंसिर, काठमाडौं । आफ्ना उम्मेदवारले अग्रता बढाउँदा पनि एमाले कार्यकर्ता खुसी थिएनन् काठमाडौं ७ मा । उनीहरुले आफ्नो गढ ठानेकै बस्तीहरुको मत कता गयो भन्दै उनीहरु अलमलिइरहेका थिए ।

उनीहरुको चैन खोस्ने काम भने सत्ता गठबन्धन या अरुले होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका ‘घन्टी’बाहक उम्मेदवारले हो ।

ठूला भनेर चिनिएका दलहरुविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले यसरी घन्टी बजाउने क्रम काठमाडौं–७ मा पनि जारी नै छ । प्रारम्भिक मतगणनामै रास्वपाका गणेश पराजुलीले अग्रता लिएका थिए । दिनभरजसो गणनामा उनलाई नेकपा एमालेका श्यामकुमार घिमिरले पछ्याइरहे । सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई तेस्रो स्थानमै रहिन् ।

साँझपखको गणनामा मात्रै बल्ल एमालेले ‘लिड’ गर्न पायो । नागार्जुन नगरपालिका क्षेत्रको ग्रामीण भेगको गणनामा आइपुग्दा कुल १२०८ मतमध्ये एमालेले ४४१ मत पाएको थियो ।

खासमा एमालेतर्फका प्रतिनिधि यो मत रुझानतर्फ सन्तुष्ट भने थिएनन् । करिब ६ सय मत आउनुपर्नेमा मत कता गयो भन्दै दुःखी थिए उनीहरु ।

यहाँ आउँदा नेकपा एमालेले ९५० मतसहित लिड लियो भने ८५६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली दोस्रो स्थानमा झरेका थिए ।

राम्रो मत झर्नुपर्ने ठानिएको ठाउँमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले २४१ भोट पाउनुलाई उनीहरुले अगाडिको गणनाका लागि चूनौतीपूर्ण हुन सक्ने आकलन गरेका छन् उनीहरुले ।

तर यसरी झस्किनेमा एमालेका कार्यकर्ता मात्रै छैनन् ।

दलीय पकड भएको ग्रामीण क्षेत्रमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रै मत आएकाले सहरी क्षेत्रमा झन् त्यो भन्दा राम्रो मत आउने भन्दै एमाले र गठबन्धन दुवै पक्षका समर्थक झस्किएका हुन् ।

प्रत्यक्षमा मात्रै नभइ समानुपातिक मतमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुभन्दा बढी मत पाएकोलाई कांग्रेस–एमाले आफूहरुप्रतिको मतदातामो गम्भीर असन्तुष्टि रहेको रुपमा लिएका छन् ।

करिब ३६ हजार मत खसेको यो क्षेत्रमा सोमबार अबेरसम्म ३ हजार ६ सय ५८ मात्रै गणना भएको छ । मत गणना हुन अझैं धेरै बाँकी रहेकाले त्रिपक्षीय प्रतिस्पर्धाबीच जसले पनि बाजी मार्नसक्ने भएकाले प्रतिष्पर्धामा रहेका कोही पनि ढुक्क हुन सकिरहेका छैनन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेहरुबीच करिब २ सय जतिको मात्रै मतान्तर बिहानैदेखिको गणनामा रहेकाले यसै हुन्छ भनेर कुनै पनि उम्मेदवारले यकिन गर्न सकिरहेका छैनन् ।

यद्यपि यो क्षेत्र अन्तर्गत पर्ने काठमाडौं महानगरको वडा न. १६ निर्णायक हुने उनीहरुले ठानेका छन् । यो वडामा सोह्रखुट्टे क्षेत्र पर्छ । नेकपा एमाले यो वडासँग त्रसित छ भने सत्ता गठबन्धनले यहीँ बढी आस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समेत यहीबाट आफूले निर्णायक अग्रता लिन सक्ने ठानेको छ ।

यो सत्ता गठबन्धनकी उम्मेदवार मानुषी जन्मेको क्षेत्र हो । त्यस्तै उनकी आमा हिसिला जन्मे, हुर्केको क्षेत्र पनि । त्यस्तै नेकपा एमालेबाट बागी उम्मेदवार बनेका रामवीर मानन्धरको गृह वडा पनि यही हो ।

सत्ता गठबन्धनकी मानुषीले यो वडामा राम्रो मत प्राप्त गरेमा अग्रता लिने र जितका लागि सहज हुने ठानेकी छिन् । एमाले भने रामवीरले यो क्षेत्रमा आफ्नो मत काट्नै भन्दै यहीबाट पछाडि परिने हो कि भन्ने भयमा छ ।

यद्यपि रामवीरले अहिलेसम्म उति उत्साहजनक मत भने पाएका छैनन् । सुरुवाती गणनामा उनलाई सय कटाउन पनि मुस्किल परिरहेको छ । वडा १६ मा पुगेपछि राम्रो मत प्राप्त गर्नेमा उनी पनि आशावादी छन् ।

‘ठूला नेतालाई झापट’

काठमाडौं–७ को मतगणना चलेको सोह्रखुट्टेस्थित जुडो हल आसपासको क्षेत्रमा आज निकै चहलपहल देखियो । मतगणनामा चासो राख्नेहरु यहाँ जम्मा भएर छिन–छिनमा आइरहेको मतमाथि टीकाटिप्पणी गरिरहेका थिए ।

उनीहरुको गफको केन्द्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टी नै थियो । अनपेक्षितरुपमा उक्त पार्टीले प्राप्त गरिरहेको मतलाई लिएर उनीहरुले ठूलो पार्टीका गालामा मतदाताले चड्कन लगाएको अथ्र्याइरहेका थिए ।

यस्तै माहोल मतगणना भइरहेको जुडो हलभित्र पनि थियो । गणना स्थलमा प्रतिनिधि रहेका एमाले, कांग्रेस र एकीकृत समाजवादीका प्रतिनिधिहरु आफ्ना उम्मेदवार पछि परेकामा त्यति दुःखी देखिदैन्थे ।

उनीहरुको पनि साझा मत थियो– ‘घण्टीले राम्रो मत ल्याएर घाटा भएको छैन । हाम्रा नेताहरु मतदाताको यो थप्पडपछि स्रुध्रिन्छन कि ! हामीलाई पनि चुनावमा अवसर आउँछ कि !’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?