+
+
विचार :

राजनीतिमा नयाँ के हो, नयाँ को हो?

समसामयिक तथा विश्वव्यापी चुनौतीलाई सामना गरी देशलाई आत्मनिर्भरताको बाटोमा नेतृत्व प्रदान गर्न सक्ने प्लेमेकर वा चेन्ज मेकर अथवा गेम चेन्जर नेतृत्वको खोजी नै राजनीतिमा सबैबाट खोजिएको नयाँ हो। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, राजनीतिक दलको विकल्प सुधार सहितका राजनीतिक दल नै हुन्।

टेकनारायण पाण्डे टेकनारायण पाण्डे
२०७९ मंसिर ६ गते १३:३९

जब पार्टीहरूका महाधिवेशन वा देशमा विभिन्न तहका निर्वाचनको सन्दर्भ चल्न थाल्छ, त्यतिबेला नयाँको खोजी र बहस चल्न थाल्छ। नयाँ हुनका लागि आधारभूत विशेषता, लक्षण वा योग्यता के हुन सक्छन् ? प्रचलित कानुनले तोकेको योग्यता वा अयोग्यता भन्दा बाहिर गएर निर्वाचनको समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट खोजिएको नयाँले वास्तविक नयाँ रुपान्तरण सम्भव हुन्छ वा हुँदैन ? त्यसका लागि अब निर्वाचनको नतिजालगत्तै बृहत् बहस गरी नयाँ रुपान्तरण खोज्ने नै हो भने वर्तमान संविधान र प्रचलित कानुनमै समसामयिक सुधार तथा संशोधनको खोजी अनिवार्य देखिन्छ।

राजनीतिमा नयाँ के हो? नयाँ उमेर हो वा योग्यता, के हो? राजनीतिक अनुभव हो वा पारिवारिक विरासत? आर्थिक पृष्ठभूमि हो या सामाजिक भूमिका के हो? वा पेशागत तथा व्यावसायिक योग्यता के हो? वा स्वच्छ चरित्र र सुशासनप्रतिको प्रतिबद्धता के हो? वा अन्य पेशा वा व्यावसायिक क्षेत्रको अनुभवसहितको राजनीतिमा आगमन हो? जुन वर्तमान राजनीतिक वृत्तमा छैन र नयाँबाट हामीले त्यसको परिपूर्ति गर्न खोजिरहेका छौं।

नो नट अगेन अभियानले परम्परागत राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। यस अभियानको बकपत्र हेर्दा यसले केही अपेक्षा गरेको छ। जस्तो, राजनीति पारिवारिक विरासतको रूपमा नरहोस्, राजनीतिले नयाँ बुर्जुवा वर्गको सिर्जना नगरोस्। राजनीतिमा संलग्नहरू विभिन्न हत्कण्डा अपनाएर आजीवन राजनीतिमा टिकिरहने अवस्था नबनोस्।

जनता सधैं शासित र नयाँ स्वरूपका प्रजाको रूपमा नरहून् भनी राजनीतिलाई शुद्धीकरण गर्न सचेतनाको आवाजको रूपमा यो अभियानलाई लिनुपर्ने हुन्छ। अब यो अभियानलाई फेसबुके वा सामाजिक संजालमा फैलाउन खोजिएको अफवाहको रूपमा मात्रै लिनुहुँदैन। यो नागरिकले शासकीय प्रणाली र आफ्नो जनजीविकाका लागि उठाएको नयाँ आन्दोलन हो। राजनीतिक दलले यो अभियानले खोजी गरेका नयाँ विषयलाई अंगीकार गरी सुधार गर्न नसके आफूलाई इतिहास बनाउने अवस्था आउन सक्छ।

प्रजातान्त्रिक वा लोकतान्त्रिक अभ्यास हामीले सिक्दैछौं भन्ने छुट अब हामीलाई छैन। पञ्चायतको अन्त्यपछि तीनवटा र जनआन्दोलन र गणतन्त्रको स्थापनापश्चात् दुईवटा संविधान हामीले भोगिसक्यौं। ती संविधान लेख्ने नेता र राजनीतिक शक्तिले अब एकअर्कामा दोषारोपण गर्ने, संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकास गर्न तथा जनजीविकाको रक्षाका लागि अझ एकपटक मौका दिनुस् भन्ने नैतिक अधिकार बाँकी रहन्छ जस्तो लाग्दैन। संविधान अनुरूपको सामाजिक, आर्थिक व्यवस्था कायम गर्न नसके पनि सत्तामा बसेका दल र तिनका नेतृत्वको विकल्पको खोजी नै मतदाताले खोजेको नयाँपन हो। यदि स्थापित पार्टीहरूले नागरिकको अपेक्षा अनुरूपको नयाँ दिन नसक्ने हो भने बाहिरबाट नयाँ अभियान सुरु हुने अवस्थाको रूपमा बुझ्नुपर्ने हुन्छ। नयाँको आवाज उठ्दै र नयाँको खोजी हुँदै गर्दा समसामयिक राजनीतिमा नयाँपन ल्याउनका लागि र रूपान्तरण प्रदान गर्न केही उपाय अवलम्बन गर्न सकिन्छ।

नेतृत्वमा नयाँपन
संकटजन्य अवस्थामा वा राष्ट्रको समृद्धिको चरणमा देशले वृद्ध वा निरङ्कुश नेतृत्वलाई पनि स्वीकार्ने अवस्था हुन्छ वा त्यस्तो अवस्थामा नेतृत्वको निरन्तरता पनि स्वाभाविक मानिन्छ। मलेसियामा महाथिर मोहम्मद, सिंगापुरमा लिक्वान यू वा चीनमा सी जिंग पिंग नेतृत्वको लागि उमेर वा निरन्तरताले समेत जनतामा निराशा पैदा गरेन।

हाम्रो सन्दर्भमा आन्दोलनको चरणमा पनि र आन्दोलनको सफलतापश्चात् पनि उही नेतृत्वको निरन्तरता रहने परिस्थितिले जनताले नयाँपनको अनुभव गर्न पाएनन्। यही पृष्ठभूमिमा नयाँको आवाज मुखरित हुन पुगेको देखिन्छ। अर्को महत्वपूर्ण पक्ष, हाम्रो राजनीतिक अभ्यासमा पार्टीको नेतृत्वमा नपुगी संसदीय दल र सरकारको नेतृत्वको अवसर प्राप्त नहुने र पार्टीको नेतृत्वमा पुग्न नै ६० वर्षमा पनि सम्भव नहुने अवस्थाले पार्टी प्रणालीमा खुला प्रवेशबाट नेतृत्व विकासको अवसर नहुँदासम्म भिजनरी नेतृत्व विकासको सम्भावना न्यून देखिन्छ।

अमेरिका र बेलायतको नेतृत्व छनोटको प्रक्रियाबाट सिकेर तदनुरूप अभ्यास अवलम्बन नगर्दासम्म नेतृत्वले आफ्ना नजिकका, आफ्ना गुटका, आफ्नो विचारसँग फरक मत नराख्ने र आफू आर्यघाटबाट अन्तिम सम्मान खाएर विदा भएपछि मात्र नेतृत्व हस्तान्तरणको सुविधा खोज्ने अवस्थाले नयाँपनको अनुभूति धेरै टाढा छ। तसर्थ, अमेरिकी र बेलायती नेतृत्व विकास र छनोटको अभ्यास र कम्तीमा पनि भारतीय जनता पार्टीले अवलम्बन गरेजस्तै ७५ वर्ष माथि पुगेपछि कार्यकारी भूमिकामा नरहने पद्धतिको अवलम्बन पनि सुरुवाती चरणमा नयाँ हुनसक्छ।

पुस्ता सन्निकटता वा जेनेरेशन निकटता
शिक्षण सिकाइमा होस् वा सामाजिक अन्तरक्रिया वा सामाजिकीकरणको प्रक्रियामा वा राजनीतिक प्रक्रियामा, व्यक्तिले आफ्नो पुस्ता वा आफ्नो सन्निकटताको पुस्ताको खोजी गर्दछ। नजिकको पुस्तासँग व्यक्तिको भावनात्मक सम्बन्ध बलियो देखिन्छ। जेनेरेशन निकटताबाट जोडिएनन् भने युवाहरू राजनीतिबाट अलग हुँदै जान्छन् र फरक धार वा समूहमा आबद्धता बढ्दै जान्छ।

पार्टीहरूले युवाको आवाजलाई बुझ्न सकेनन् र सुन्नका लागि कुनै पनि प्रकारको प्लेटफर्म उपलब्ध गराएनन भने बुवा वा आमा कुनै राजनीतिक विचारधारा बोक्थ्यो वा कुनै राजनीतिक दलको सदस्य थियो भन्दैमा नयाँ पुस्ता त्यही विचार र दललाई स्वीकार गर्दछ भन्ने परिवेश पूर्णत: परिवर्तन भएको छ। नयाँ पुस्ताले पुराना नेताका राजनीतिक जीवनका योगदानका भाषणलाई कथा र हास्यव्यङ्ग्यको रूपमा लिन थालेको अवस्था छ। नेतृत्वले नयाँ दृष्टिकोण र परिवर्तन के ल्याउन सक्छ भनी नयाँ पुस्ताले नयाँ अपेक्षा गरेको हुन्छ।

तसर्थ, पार्टीहरूले राजनीतिक दलमा वा संसद र सरकारमा नयाँ पुस्ताको चाहना अनुरूपको नेतृत्वलाई अवसर प्रदान नगर्ने हो भने परम्परागत पार्टीको छाताबाट युवाहरूको विचलन निश्चित छ र युवाहरू वितृष्णाको कारण परम्परागत राजनीतिक अभ्यासबाट बाहिर गएपछि युवाकै अगुवाइमा वैकल्पिक राजनीतिक शक्तिको उदय अनिवार्य छ। पार्टीमा युवा विद्रोहको अवस्था आयो भने यसले स्थापित राजनीतिक अभ्यासलाई पनि अनपेक्षित दिशामा डोर्याउन सक्छ।

साइबर जेनेरेशनका अपेक्षा र आकांक्षाको सम्बोधन
सन् २००० को आसपासमा जन्मिएका मिलेनियल्ज पुस्ता वा सन् १९९० पछि जन्मिएका जेड जेनेरेशन अहिलेका युवा जनशक्ति हुन्, यिनको जनसंख्यामा मूल हिस्सा छ र मतदाताको हिसाबले यिनले निर्वाचनमा ठूलो प्रभाव पार्दछन्। यी पुस्ता प्रविधिमा आधारित संचारमा अभ्यस्त हुन्छन् र यिनको देशभित्र मात्र नभएर विश्वव्यापी भर्चुअल संजाल रहेको हुन्छ।

भर्चुअल माध्यमबाट यिनीहरू तुरुन्त सामाजिक रूपमा सन्देश प्रवाह गर्छन्, तुरुन्त संगठित हुन्छन् र तुरुन्त कुनै विषयमा पक्ष वा विपक्षमा मत जाहेर गरेर कुनै विषयलाई स्थापित गर्ने वा रोक्ने काम गर्दछन्। तसर्थ, आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बौद्धिकतामा आधारित अबको पुस्तालाई राजनीतिले मूल धारमा डोर्‍याउन सकेन वा ती पुस्ताको चासो र सरोकारलाई राजनीतिले सम्बोधन गर्न सकेन भने राजनीतिक परिदृश्य अनपेक्षित रूपमा परिवर्तन हुन सक्छ।

ट्युनिशियालगायतको पछिल्लो राजनीतिक परिवर्तनबाट सिकाइ हासिल गरी साइबर जेनेरेशनको राजनीतिमा सहभागिता र तिनको आवाजको सम्बोधन सबल राजनीतिक व्यवस्थाका लागि अनिवार्य छ।

दलभन्दा मुद्दा वा एजेन्डा प्रधान
दल वा पार्टीको सदस्य बनाएर युवा पुस्तालाई आजीवन उही विचारधारामा अड्याउने अवस्था अब रहँदैन, त्यसका लागि पार्टीको गतिशीलता अत्यन्त महत्वपूर्ण छ। नेपाली राजनीतिमा सर्वाधिक सुनिएका राष्ट्रियता, लोकतन्त्र, समाजवाद, जनजीविका, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन अब पुराना र पट्यारलाग्दा नारा र आदर्श भइसके।

मूलभूत आन्दोलनपश्चात् आन्दोलनको मूल एजेण्डाको नेतृत्व गर्ने दलहरूले सत्ता र शक्तिको प्राप्ति गरिसके। संविधान बनाएपछि स्थिर सरकारको नारा पनि एकपटक बिक्री भैसक्यो। अबका युवापुस्ता संविधानको कार्यान्वयन वा संविधानको संस्थागत विकास वा स्थिर सरकारलगायतका नारामा कुनै आकर्षण देख्दैनन्। शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य, २०-२५ प्रतिशत युवाशक्ति रोजगारीका लागि विदेशमा रहेका छन्, तिनको राजनीतिक सहभागिताको प्रश्न, रेमिटेन्सको सामाजिक, सांस्कृतिक मूल्यको प्रश्न, जन्मदेखि मृत्युपर्यन्त राज्यको संरक्षणको आभास र प्रत्याभूतिलगायतका मुद्दाहरू सम्बोधनको आश्वस्तता युवाको खोजी रहेको छ।

जलवायु परिवर्तनको असर न्यूनीकरण र परम्परागत वस्तीहरूको दिगो व्यवस्थापन, जनसंख्याको बसाइसराइको प्रभावले गाउँहरू जंगलमा परिणत हुने र वन्यजन्तुको अतिक्रमणको अवस्थाबाट गाउँ र जनता तथा उत्पादन जोगाउने, व्यवस्थित शहरीकरण तथा एकीकृत वस्ती विकास, औद्योगिक वातावरण, लगानीमैत्री अवस्था र रोजगारी सिर्जना, भूमिको वैज्ञानिक उपयोग र व्यावसायिक खेती तथा सहकारी प्रणालीको विकासलगायतका मुद्दामा राजनीतिक दलको दृष्टिकोण युवाको खोजी हो र ती मुद्दामा नयाँको खोजी भएको छ।

ग्रामीण तथा पूर्वाधार विकास
जनताको शेयर, विकासको लहर हुने गरी स्थानीय स्रोत तथा साधनको परिचालन गरी गाउँमा आर्जन, गाउँमा रोजगारी समेतका आधारमा गाउँ बचाउ अभियान अबको महत्वपूर्ण विकासको क्षेत्र बन्न गएको छ। पर्यापर्यटन, साहसिक पर्यटन, नदीनालाहरू थुनेर तालतलैया विकास, जलविद्युत, सिंचाइ तथा खानेपानी पूर्वाधारको विकास, पूर्वपश्चिम तथा उत्तर दक्षिण रेल्वे यातायात र नदी करिडोरमा आधारित यातायात संजालीकरण लगायतका पूर्वाधार विकासबाट ग्रामीण बस्तीहरूलाई स्थायी बनाउन तथा जीवनयापनलाई उन्नत बनाउन सकिन्छ, यस्तै विकासको अगुवाइ र निरन्तरता नै राजनीतिबाट खोजिएको नयाँपन हो।

अर्थतन्त्रको सबलता
सबल अर्थतन्त्र निर्माणको लागि स्थानीय उत्पादनको प्रवर्धन तथा आत्मनिर्भर अर्थतन्त्र विकास गरी आयात निर्यातको सन्तुलन तथा आयात प्रतिस्थापन र निर्यातबाट राजस्वको प्राप्ति बढाउने, वैदेशिक मुद्राको संचिति बढाउने लगायत जीवन्त अर्थतन्त्र बनाउनु अहिलेको चुनौतीको सामना नयाँ र सर्वकालिक माग हो। अनौपचारिक क्षेत्रमा रहेको स्रोतसाधन माथि नियन्त्रण, दलाली तथा मध्यस्थताको अन्त्य, जनता माथि प्रतिव्यक्ति ऋणको भारलाई घटाउने, प्रतिव्यक्ति आम्दानी बढाउने, जीवनस्तर र गरिबीको अवस्थामा सुधार राजनीतिक क्षेत्रबाट गरिएका नयाँ अपेक्षा हुन्। डिजिटल पेमेन्टको व्यवस्था गरी अनौपचारिक क्षेत्रमा स्रोत र पूँजीमाथि हुने नियन्त्रणबाट औपचारिक अर्थतन्त्रको सुदृढीकरण गरी सुशासनको प्रवर्धन राजनीतिबाट अपेक्षित नयाँ कुरा हो।

सार्वजनिक सुरक्षा र अपराध नियन्त्रण
समाजमा आत्महत्या, दुर्घटना, लागूऔषध, बलात्कार, यौनजन्य दुर्व्यवहार र चोरी तस्करी लगायत सार्वजनिक सुरक्षाका चुनौती बढ्दो छन्। साथै अपराधका आधुनिक शैली र प्रवृत्तिले थप सुरक्षा चुनौती सृजना गरेको छ। सुरक्षा निकायलाई व्यावसायिक र सुदृढ बनाई आधुनिक प्रविधि र उपकरणले परिचालित गराई समाजमा शान्तिसुरक्षा र अपराध नियन्त्रणमा नयाँपन अहिलेको नागरिकको खोजी बनेको छ।

सार्वजनिक क्षेत्रमा राजनीतिक असंलग्नता
सार्वजनिक क्षेत्र अत्यधिक राजनीतीकरणले थलिएका छन्, चाहे सरकारी निकायहरू हुन् वा विश्वविद्यालय, अन्य शैक्षिक संस्थाहरू, उद्योग, व्यवसायलगायतका क्षेत्रमा पार्टी पिच्छेका ट्रेड यूनियनका नाममा सेवा तथा उत्पादनमा प्रतिकूल अवस्थाको सृजना भएको छ। सार्वजनिक सेवा क्षेत्र, उद्योग प्रतिष्ठान र व्यवसायमा ट्रेड यूनियनका नाममा हुने राजनीतिक गतिविधिको अन्त्य गरी ट्रेड यूनियन अधिकारलाई नियन्त्रित दायरामा ल्याउनु सेवा र उत्पादकत्व वृद्धिको लागि नयाँ चुनौती बनेको छ।

नागरिकको सार्वभौमसत्ताको प्रत्याभूति
सबै जनतालाई पार्टीको सदस्यता भिराउने प्रतिस्पर्धाले पार्टी सदस्यका नाममा राजनीतिक दासत्व र सार्वभौमसत्ताको अपहरण भएको छ। स्वतन्त्र नागरिकको हैसियतमा तटस्थ बस्न पाउने र सार्वजनिक सरोकार वा राजनीतिक मुद्दामा निष्पक्ष र स्वतन्त्र अभिमत व्यक्त गर्न पाउने नागरिक अधिकारका लागि राजनीतिक दलहरू नै अवरोधकका रूपमा रहेका छन्।

नेपालमा उमेर पुगेका जतिलाई पार्टीको सदस्य बनाउने होडबाजीले स्वतन्त्र नागरिकको रूपमा कम मात्र जनता छन् जस्तो लाग्दछ। जनतालाई पार्टीको सदस्य बनाएर अन्धो बनाएपछि उनीहरू नागरिकको रूपमा सार्वभौमसत्ता सम्पन्न कसरी रहन्छन् ? जनतालाई सार्वभौम बनाउन पार्टीको सदस्यता र दासत्वबाट मुक्त गर्नुपर्छ। पार्टीको दासत्वबाट मुक्त सार्वभौम जनताबाट अभिव्यक्त मतले मात्र नयाँको खोजी गर्न र नयाँ रुपान्तरण ल्याउन सक्छ।

राजनीतिलाई सेवाको रूपमा विकास गर्ने
राजनीति पेशाविहीनहरूको पेशा भयो। यसको शुद्धीकरणका लागि विना पेशाको मान्छेलाई राजनीतिमा प्रवेश नदिने, पार्टीका तहगत संरचना र राजनीतिक लाभको पदमा तहगत रूपमा बढीमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्था गर्ने, स्थानीय तहको निर्वाचन दलविहीन वा स्वतन्त्र आधारमा गर्ने, प्रतिनिधिसभाको समानुपातिक प्रणाली हटाउने र राष्ट्रिय सभामा सदस्य संख्या केही बढाएर समावेशिता बढाउने, प्रदेश सभाको समानुपातिकतर्फको संख्या घटाउने, पेशाविद्हरूबाट सरकारका मन्त्रीहरू छनोट तथा नियुक्ति गर्नेलगायतका नीतिगत सुधारले राजनीतिमा खोजिएको नयाँपन दिन सक्छ।

नयाँ भनेको युवा आवाज हो। युवाको चाहना र युवाकै भविष्य अनुकूलको शासन र सरकार हो। जसले युवालाई काम, श्रम, शिक्षा वा अन्य कुनै पनि बहानामा विदेश पठाएर रेमिटेन्स वा अन्य प्राप्तिमा सन्तोष नमानोस्। देशभित्रै रोजगारी, काम र आर्जनको अवसर प्रदान गरोस्, नागरिक अधिकारलाई जनजीवनमा रुपान्तरण गरोस्।

जनता र राजनीतिकर्मी तथा नागरिक र नेताका बीच सृजित अलग वर्गीय स्वरूपका कारण राजनीतिमा संलग्नता भइसकेपछि राजनीतिकर्मी आफूलाई आजीवन राजनीतिमा टिकाउन चाहन्छ र जनताको रूपमा फर्किन चाहँदैन, जसले गर्दा राजनीतिले व्यवसायको रूप लिनुका साथै समाजमा नयाँ वर्गीय विभाजन ल्याएको छ। राजनीतिकर्मी र जनता तथा नागरिकबीचको सेवासुविधा र वर्गीय विभाजनलाई मेट्नु राजनीतिमा खोजिएको नयाँपन हो।

जनताको धैर्यको विस्फोट
तीन तीनवटा संविधान बन्दा पनि नागरिकले दलहरूलाई सधैं साथ दिएका छन्, तर संविधानपश्चात् जनताको आजीविकाले फड्को मार्छ भन्ने जुन आश्वासन र अपेक्षा थियो, त्यसमा राजनीतिक दलहरू असफलताको नजिक नै पुगेका छन्। प्रणाली र व्यवस्थामा पार्टीको नियन्त्रणले ग्रहण लागेजस्तै सन्नाटा छाएको छ, त्यसको आक्रोशको विस्फोट अप्रत्यासित र अनपेक्षित रूपमा प्रकट भएको छ। ३० वर्षको पञ्चायतलाई गरेको दोषारोपणको सम्झना गर्नुपर्ने अवस्था अब आएको छ किनकि पञ्चायतपश्चात्का तीन दशकमा लोकतान्त्रिक अभ्यास हिंडिरहेको छ।

समयले हुने अनिवार्य र बाध्यात्मक विकास बाहेक पछिल्लो तीस वर्षको अवधिमा नवप्रवर्तनात्मक विकास के भयो? त्यसको जवाफ अहिलेका नागरिक तथा मतदाताको माग हो। पुरानो ३० वर्षभन्दा नयाँ ३० वर्ष कुन आधारमा उचित वा अनुचित भयो वा पुरानो ३० वर्षको ठिक त्यही अवस्था अहिले आएको त हैन? नागरिकले खोजेको जवाफ पाउनु नगारिक अधिकार हो र जवाफ दिनु राजनीतिक दलको दायित्व पनि। जनताले सधैं सुन्नु मात्र पर्ने, सुनाउन नपाउने र सुनाएको कुराको जवाफ पनि नपाउने अवस्थामा प्रणाली र व्यवस्थाप्रति नै विद्रोह हुनसक्ने कुरालाई जिम्मेवार राजनीतिक दलहरूले समयमै ध्यान पुर्‍याउनुपर्दछ।

नयाँ के र कसरी?
अबको समय कसको लागि हो, अब देश बन्दा वा नबन्दा त्यसबाट सबभन्दा बढी कसलाई प्रभाव पर्दछ, अब पनि नागरिकले संविधान र कानुनले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न नपाउँदा कसलाई दोषारोपण गर्दछन् लगायतका विषयलाई केन्द्रमा राखेर राजनीतिक गति र दिशा तय हुनुपर्दछ। समयको प्रवाह र विश्वव्यापी चुनौतीको सामना गर्न सक्ने राजनीतिक शक्ति र नेतृत्व स्थापित नहुने र नगर्ने हो भने युवा विद्रोहबाट सत्ता र व्यवस्थाका विरुद्ध नै आवाज र आन्दोलन नहोला भन्न सकिंदैन।

नयाँ भनेको युवा आवाज हो। युवाको चाहना र युवाकै भविष्य अनुकूलको शासन र सरकार हो। जसले युवालाई काम, श्रम, शिक्षा वा अन्य कुनै पनि बहानामा विदेश पठाएर रेमिटेन्स वा अन्य प्राप्तिमा सन्तोष नमानोस्। देशभित्रै रोजगारी, काम र आर्जनको अवसर प्रदान गरोस्, नागरिक अधिकारलाई जनजीवनमा रुपान्तरण गरोस्। देशको अर्थतन्त्र आत्मनिर्भर र सम्पन्न बनोस्, देशमा असल प्रणालीको विकाससहित सुशासन वृद्धिबाट स्वाभिमान स्थापित हुनसकोस्, राजनीति व्यवसायको सट्टा सेवाको रूपमा स्थापित होस् लगायतको परिवर्तन र सुधारको अपेक्षा राजनीतिमा खोजिएको नयाँपन हो।

माथि प्रस्तुत विषय र अन्य समसामयिक तथा विश्वव्यापी चुनौतीलाई सामना गरी देशलाई आत्मनिर्भरताको बाटोमा नेतृत्व प्रदान गर्नसक्ने प्लेमेकर वा चेन्ज मेकर वा गेम चेन्जर नेतृत्वको खोजी नै राजनीतिमा सबैबाट खोजिएको नयाँ हो। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, राजनीतिक दलको विकल्प सुधारसहितका राजनीतिक दल नै हुन्। तसर्थ, राजनीतिक दलले जनतामा नैराश्यताको अन्त्य हुने गरी, राजनीतिप्रति जनताको आस्था र विश्वास पैदा हुने गरी र राजनीतिकर्मी र नेतृत्वप्रति मतदाता र नागरिकको श्रद्धा र सम्मान अभिव्यक्त हुने अवस्थाको सृजना राजनीतिमा खोजिएको नयाँ हो।

लेखक नेपाल सरकारका सचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?