+
+

सक्रिय राजनीति गर्ने अभिव्यक्ति दिइरहन्छन् कलाकार, तयारी छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १२:५०

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्दै घरेलु फिल्मका केही चर्चित कलाकारले आगामी चुनावसम्म सक्रिय राजनीतिमा लाग्नेतर्फ संकेत गरे ।

अभिनेता राजेश हमालले पाँच वर्षभित्र आफूलाई कुनै दलको उम्मेदवारको रुपमा जनताले देख्न पाउने अनलाइनखबरसँग बताएका थिए । तर त्यो दल कुन हो भन्ने बारेमा उनले केही खुलाएनन् ।

अभिनेत्री करिश्मा मानन्धरले अबको चुनावमा आफू एमालेबाट उम्मेदवार बन्ने बताइन् । अभिनेता तथा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले यदि कांग्रेसले आफूलाई अब हुने चुनावमा उम्मेदवार बनाए पछि नहट्ने बताए ।

अभिनेता निर्मल शर्माले अर्को चुनावमा आफू उम्मेदवार बन्ने तयारीमा लागेको बताए । निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि सक्रिय राजनीतिमा लाग्ने सम्भावनालाई अस्वीकार गरेनन् । ‘यदि राजनीतिमा लाग्ने हो भनेर फिल्म क्षेत्र छाडेर मात्र लाग्छु,’ उनले भनेका थिए ।

मंसिर ४ गतेको चुनावलाई हेर्दा कलाकारहरु आगामी दिनमा राजनीतिप्रति झनै खुल्ने सम्भावना देखिन्छ । कलाकारले पछिल्लो माहौललाई हेरेर यस्तो भनेका हुन् या उनीहरुको वास्तविक योजना नै राजनीतिमा लाग्ने हो, यो कुरा समयले तय गर्नेछ । यद्यपि, उनीहरुको आकांक्षा राजनीतिमा नै लाग्ने देखिन्छ ।

कतिपय कलाकारले करिअरको ‘ग्रेसफुल एक्जिट’को रुपमा पनि अभिनयलाई लिएको विश्लेषण गर्न सकिन्छ । तीन दशकभन्दा बढी समय फिल्ममा बिताएका अभिनेता हमालले अबको समय समाजसेवा र राजनीतिमा बिताउने कुरा निकटवर्तीलाई बताउने गरेका छन् । दलहरुले हमाललाई उम्मेदवार बन्न आग्रह गरिरहेका पनि हुन् तर हमालले प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए ।

परिस्थितिअनुसार बोल्न सिपालु मानिने अभिनेता हमालको पछिल्लो अभिव्यक्तिलाई दुई कोणबाट लिन सकिन्छ । उनको आकांक्षा अभिनय करिअरबाट ग्रेसफुल एक्जिट लिने नै हो र दोस्रोतर्फ, गत स्थानीय चुनावमा उनले भ्लगमार्फत काठमाडौंको मेयर बन्ने कुरा बताएका थिए । जसलाई पछि उनले आफ्नो चाहना मात्र भएको उल्लेख गरेर टारिदिए ।

मतदानपछि अनलाइनखबरसँगको फेसबुक लाइभमा हमालले बोलेको अभिव्यक्ति यदि सत्य हो भने उनी सक्रिय राजनीतिमा आउने कुरालाई नकार्न सकिंदैन । उनले परिवर्तन चाहने नयाँ शक्तिलाई संसदमा लैजानुपर्छ भन्ने धारणा राखेको देखिन्छ ।

करिश्मा र भुवन त खुलेरै राजनीतिक दलमा प्रवेश गरेका कलाकार हुन् । उनीहरुले खुलेरै सक्रिय राजनीतिमा लाग्छु भन्ने कुरालाई स्वभाविक रुपमा लिन सकिन्छ । भुवनलाई त एमालेले २०७४ सालमा एमालेले टिकट दिने तयारी गरेको थियो तर पछि खोस्यो । बोर्डको अध्यक्ष बन्नुअघि भुवन कांग्रेस प्रवेश गरे । करिश्मा पनि यसै वर्ष एमालेमा प्रवेश गरेकी हुन् ।

दीपकराज गिरीलाई त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं–९ बाट पार्टीको उम्मेदवार बन्न नै प्रस्ताव गरेका थिए ।

कलाकारले सक्रिय राजनीतिमा लाग्ने बताइरहे पनि उनीहरु यसतर्फ भने गम्भीर देखिंदैनन् । प्रत्येक पटक अन्तर्वार्तामा राजनीतिमा लाग्छु भनेर बताइरहन्छन् । तर त्यसअनुसारको तयारी देखिंदैन ।

यसपटक धेरै कलाकार चुनावी मैदानमा छन् भने कतिपय दल र उम्मेदवारको पक्षमा खुलेका छन् । ठूला दललाई समेत नयाँ खुलेका दलले चुनौती दिइरहेको बेला कलाकारले पनि खास प्रभाव पार्न सकेका छैनन् ।

दलसँग आबद्ध भए पनि कतिपय कलाकारले हस्तक्षेपकारी उपस्थिति दर्शाउन सकेका छैनन् । बरु, पार्टीसँग आबद्ध भएपनि उनीहरु हराउने गरेका छन् । कलाकारले कला, संस्कृतिको एजेण्डालाई पनि स्थापित गर्न सकेका छैनन् । अर्कोतर्फ, ठूला दलले कलाकारलाई राष्ट्रकै गहनाको रुपमा लिएको देख्न सकिन्छ । कलाकारभित्रै राजनीतिमा लाग्न हुने वा नहुने भन्नेबारेमा वैचारिक मतभिन्नता छ । जसले कलाकारको एजेण्डा कमजोर बनिरहेको छ ।

आफूआफूमै लड्ने र भिड्ने प्रवृत्तिले कलाकार, कला, संगीत र चलचित्रको एजेण्डालाई अघि बढाउन मुस्किल भइरहेको छ । जसकारण ठूला दलप्रति कलाकारले वास्तविक स्टारडमको विश्वास सिर्जना गर्न सकेका छैनन् । बरु ठूला दलले कलाकारलाई उनीहरुको सांस्कृतिक विभागमै सीमित गरिदिने प्रवृत्ति देखिएको छ ।

यो आयाममा राजेश, करिश्मा र भुवन केसीले सक्रिय राजनीतिमा लाग्छु भनेर दिएका चुनावी अभिव्यक्ति चुनौतीपूर्ण हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?