+
+

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : प्रतिभा देखाउने थलो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:३२

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबारदेखि सुरु हुने यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । क्यानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी र पुरस्कारको बारेमा जानकारी गराएको हो ।

क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्लले प्रतियोगिताको तयारी पूरा भएको बताउँदै क्यानले उमेर समूहको क्रिकेटलाई पनि प्राथमिकतामा राखेको बताए ।

‘राष्ट्रिय टिमका लागि उमेर समूहबाट नै खेलाडी आउने भएकोले यस्तो प्रतियोगिता महत्वपूर्ण छ,’ मल्लले भने, ‘यसका लागि सिजी ग्रुपको वाइ वाइले सहयोग गरेको छ । वाइ वाइले ग्रासरुट क्रिकेट विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ र उहाँहरुको योगदान पनि छ ।’

सचिव मल्लले गत वर्ष यू१९ प्रतियोगिताबाटै आएका ४-५ जना खेलाडीले राष्ट्रिय टिममा खेलिसकेको उदाहरण दिँदै उमेर समूहको क्रिकेटको महत्व रहेको बताए । ‘यस प्रतियोगिताले के उपलब्धि भयो भन्ने मुख्य कुरा हो । गत वर्ष यू१९ खेलेका देव खनाल, आदिल आलम, अर्जुन साउद, बसिर अहमदले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

एउटा प्रतियोगिता राम्रो गर्न सके त्यसको फाईदा कति हुन्छ भन्ने ज्वलन्त उदाहरण हो ।’ मल्लले भने, ‘यू१९ मा देशभर छरिएका रहेका प्रतिभा देखिनेछ र पछि गएर उनीहरुले राष्ट्रिय झण्डा फहराउनेछन् ।’

सचिव मल्लले यो क्यानको नियमित कार्यक्रम रहेको र यू१९ विश्वकप छनोटका लागि पनि आधार रहेको बताए । यस्तै महिलाको यू१९ सहित महिला पुरुषको यू१६ प्रतियोगिता पनि गर्ने तयारीमा रहेको मल्लले बताए ।

क्यानले आयोजना गर्ने प्रतियोगितामा वाइ वाइ मुख्य प्रायोजकको रुपमा रहेको छ । दुई वर्षअघि वाइ वाइले क्यानसँग सम्झौता गरे अनुसार हरेक वर्ष प्रतियोगिता गर्न ७५ लाख उपलब्ध गराउनेछ ।

मंसिर ७ देखि १९ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुने यू१९ प्रतियोगितामा ७ प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश सहभागि परतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइनेछ ।

प्रतियोगितामा हरेक टिमले कम्तीमा ६ खेल खेल्न पाउनेछन् । फाइनल पुग्ने टोलीले ७ खेल खेल्न पाउनेछन् । प्रतियोगिताको उद्घाटन खेल बागमती प्रदेश र गण्डकी प्रदेशबीच बुधबार टीयू मैदानमा हुनेछ ।

दोस्रो देनिदेखि टीयू र मुलपानी मैदानमा एक एक खेल हुनेछ । मुलपानीमा कूल १० र टीयू मैदानमा फाइनलसहित १२ खेल हुनेछ ।

विजेतालाई २ लाख

प्रतियोगिताको विजेताले २ लाख प्राप्त नगद पाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । उपविजेताले १ लाख प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन् ।

हरेक खेलको म्यान अफ दि म्याचले २ हजार पाउनेछन् भने म्याच फि १ हजार पाउने सिंहले बताए । प्रतियोगिताको कुल बजेट १ करोड २५ लाख ८० हजार रहेको छ । जसमा ७५ लाख वाइ वाइले प्रदान गर्नेछ भने बाँकी बजेट क्यानले आन्तरिक रुपमा व्यवस्थापन गर्नेछ ।

वाइ वाइले सन् २००५ देखि यू१९ क्रिकेटलाई सहयोग गर्दै आइरहेको भन्दै चौधरी ग्रुपका डिजिएम लाल बाबु प्रसादले क्रिकेटसँग सहकार्यलाई अझै निरन्तरता दिने बताए ।
यो बजेट जिल्ला, प्रदेश छनोट र राष्ट्रिय प्रतियोगिता सबै जोडेर रहेको कोषाध्यक्ष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?