+
+
संक्षिप्त संवाद :

रास्वपाका प्रवक्ता भन्छन्- समानुपातिकमा सोचेजस्तो मत आए हाम्रै नेतृत्वमा सरकार बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:४६

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन पद्धतितर्फ ११ स्थानमा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार साँझसम्म समानुपातिक पद्धतितर्फ ५० हजार मत कटाएर तेस्रो स्थानमा छ । मतगणनाको प्रारम्भिक नतिजाबाट उत्साहित बनेका रास्वपाका नेताहरु अब आफ्नै नेतृत्वमा सरकार बनाउने बताइरहेका छन् ।

सभापति रवि लामिछानेको चुनाव क्षेत्र चितवन-२ मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालसँग यसै सन्दर्भमा गरिएको कुराकानी :

मतगणनाको प्रारम्भिक नतिजाप्रति तपाईंहरुको के प्रतिक्रिया छ ?

हामीले यसलाई मतक्रान्तिको सुरुवातका रुपमा बुझेका छौं । हामीले पाएको मतलाई लोकतन्त्रको उन्नत स्वरुपका रुपमा लिएका छौं । यसले जनताभन्दा माथि कोही छैन भन्ने सन्देश दिएको छ ।

प्रत्यक्ष र समानुपातिक प्रणालीमा आइरहेको मत तपाईंहरुको आँकलन अनुसार नै हो वा फरक हो ?

हामीले त यो भन्दा पनि धेरै राम्रो हुने अपेक्षा गरेका थियौं । हामीलाई केही व्यक्तिले विश्वास गरेको भए हामी पहिलो पार्टी नै हुन्थ्यौं ।

व्यावसायिक र पेसागत रुपमा सफल तथा सामाजिक प्रतिष्ठा कमाएका कतिपय व्यक्तिले हामीलाई विश्वास नगरेर एक्लै चुनाव लड्न जानुभयो । कतिपले हाम्रो अनुरोध अस्वीकार गरेर राजनीतिमा आउन अनिच्छा गर्नुभयो । यस्तो नभएको भए हामी अहिलेको भन्दा अझ बलियो स्थानमा हुने थियौं ।

प्रारम्भिक नतिजा अनुसार तपाईंहरुको पार्टी संसदमा सरकार निर्माणका लागि महत्वपूर्ण हुन सक्ने देखिएको छ । तपाईंहरु कोसँग मिलेर जानुहुन्छ ?

सरकारमा जाने कि नजाने भन्ने कुरा त अरु दलको कति सिट आउँछ र कसरी आउँछ भन्ने कुराले निर्धारण गर्ला । अझै धेरै ठाउँको मतगणना हुन बाँकी छ । समानुपातिकको मत सबैतिर गणना गर्न सुरु भएको छैन ।

यसर्थ हाम्रो बुझाइ के छ भने समानुपातिकमा हामीले सोचेअनुसार मत आयो भने हाम्रै नेतृत्वमा सरकार बन्छ । यसो भएन भने हामी छलफल गरेर सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय गर्छौं ।

दलको सबै संरचना नै नबनाइकन चुनावमा जानुभयो, अब राष्ट्रिय दलको रुपमा आउने भइसकेपछि दलको आन्तरिक संरचना पनि पूरा गर्नुपर्ला नि होइन र ?

हो, हामी यसको तयारीमा लाग्छौं । हाम्रो विधानले भातृ संगठन नबनाउने भनेको छ । हामी अब मासबेस्ड वा मतदातामा आधारित पार्टी हुन्छौं । वडा तहदेखि केन्द्रसम्म हाम्रो पार्टीको संरचना हुन्छ, तर भातृ संगठन, पेसागत संगठन भने हुँदैनन् ।

तपाईंहरुको पार्टीमा चुनाव नहुँदै संसदीय दलको नेता छान्ने तयारी भएको थियो, अब को हुन्छ संसदीय दलको नेता ?

चुनाव नहुँदै हामीले संसदीय दलको नेता हुन इच्छुक व्यक्तिलाई निवेदन दिन भनेका थियौं । चुनावले गर्दा ती निवेदनमाथि अध्ययन गर्न पाएका छैनौं । हाम्रो पार्टीको विधानअनुसार संसदीय दलको नेता बहुमतबाट छानिनुपर्छ भन्छ । अब यस विषयमा हामी तयारी गर्छौं ।

सभापति रवि लामिछाने नै त संसदीय दलको नेता बन्ने होइन र ?

यही व्यक्ति भनेर हामी तोक्न सक्दैनौं । हाम्रो पार्टीमा चुनावले नै संसदीय दलको नेता निर्धारण गर्छ । संसदीय दलको नेताका लागि चुनावमा जाँदा कति जना उम्मेदवार हुन्छन् भन्ने पनि महत्वपूर्ण हुन्छ ।

हाम्रो अनुमानमा दुई जना भन्दा बढीले संसदीय दलको चुनाव लड्नुहुन्न होला । एक जना मात्र पनि संसदीय दलको नेताको चुनावमा आउन सक्छन् । एक जना आए पनि दुई जना आए पनि हामी संसदीय दलको नेता भने चुनावबाटै छान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?