 
																						६ मंसिर, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई रोजेपछि आकांक्षी रमेश खरेल राजीनामा दिएर तीन वर्षसम्म मौन बसे । ‘नालायक नेतृत्व’को मातहतमा काम नगर्ने बताउँदै राजीनामा दिएका खरेल ११ महिना (प्रहरीमै रहेको भए नियमित अवकाश पाउने दिन) सम्म गुमनाम रहे ।
स्वेच्छिक अवकाश नरोजेको भए सेवा अवधि सकिने दिन १ फागुन २०७५ मा भावनात्मक अवकाश पाएको बताउँदै खरेलले बाँकी जीवन आफूलाई भ्रष्टाचारविरोधी अभियानमा समर्पित गराउने उद्घोष गरे । हुन त उनले ‘कहिल्यै कुनै दलीय अभियानमा सहभागी हुन नचाहने’ बताएका थिए ।
तर, २४ मंसिर २०७८ मा उनी आफैं संयोजक बनेर नेपाल सुशासन पार्टी घोषणा गरे ।
प्रहरीमा छँदा बेथितिविरुद्ध खरो उत्रिने अफिसरका रुपमा छवि बनाएको पृष्ठभूमिबाट आउनसक्ने समर्थनलाई लक्षित गरेर उनले सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै पार्टी खोलेका थिए ।
एसएसपी छँदा काठमाडौंको प्रहरी प्रमुख भएका उनी प्रहरीमा ‘बढुवा हुनका लागि ब्रिफकेस बोकेर अधिकृतहरु घर–घर धाउन थालेको’ बताएपछि कारबाहीमा परेका थिए ।
आचरण विपरीत र अनुशासनहीन काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट हटायो । तर, आम नागरिकबाट चाहिँ यही शैलीका कारण उनले वाहवाही पाए ।
नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीका अनुसार पार्टीले वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कम्तीमा ३५ स्थानमा उम्मेदवारी दिएको थियो ।
तीमध्ये पर्साको पोखरिया नगरपालिका– ९ को वडाध्यक्षमा पार्टीका उम्मेदवार निर्वाचित भए । अरुले उल्लेख्य मत ल्याउन सकेनन् ।
काठमाडौं महानगरको मेयरमा खरेल स्वयंले पनि उम्मेदवारी दिन खोजेका थिए । अन्तिममा पछि हटे । स्थानीय तह निर्वाचनमा अरु उम्मेदवारले ल्याएको परिणामबाट खरेलले एक्लै उम्मेदवारी दिएर अघि बढ्न सहज नहुने बुझे ।

आम निर्वाचनको तयारीका क्रममा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, हाम्रो नेपाली पार्टीका सुमन सायमी, विवेकशील साझाका नेताहरुसहित स्वागत नेपाल लगायतको टोलीसँग मिलेर अघि बढ्न निरन्तर छलफल गरे । तर, उनीहरु एक ठाउँमा उभिन सकेनन् ।
खरेलको पार्टीका एक नेताका अनुसार लामिछानेले उनलाई एक्लै पार्टीमा आउन प्रस्ताव गरे । उनलाई सम्मानजनक स्थान दिने प्रस्ताव थियो । तर खरेलले एक्लै जान अस्वीकार गरे ।
आफ्नो टिम रहेको र जाँदा सबै जना जाने बताएपछि अन्तिममा छलफल निष्कर्षमा पुग्न सकेन । सायमी र स्वागत नेपालहरुसँग जुट्ने छलफल पनि निश्कर्षमा पुग्न सकेन । ‘स्वतन्त्र भनेपनि अरु पार्टीमा जस्तै समस्या देखिए, नेतृत्व कसले गर्ने र एकअर्कालाई नस्वीकार्ने प्रवृत्तिका कारण मिल्न सम्भव भएन’, खरेल निकट एक नेता भन्छन् ।
अन्तिममा खरेलले आफ्नो पार्टीमा रहेका नेताहरुलाई पनि जोगाउन सकेनन् । दबङ प्रहरीको छवि बनाएका खरेल राजनीतिमा कमजोर देखिँदै गए । पूर्वप्रहरी समेत रहेका शम्भु ढकाल, जो खरेलको पार्टीबाट वार्ता समिति सदस्य पनि थिए, उनी घण्टी चुनाव चिह्न लिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिए ।\
झापा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका उनले हालसम्म प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार एलपी साँवा र नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई कडा टक्कर दिइरहेका छन् । सुशासन पार्टीमा रहेका राजेश श्रेष्ठ (मास्के) ले पनि खरेलको साथ छाडेर स्वतन्त्र रुपमा काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दिए ।
उम्मेदवारी दर्ताका दिनसम्म पनि खरेल चाहिँ सकभर गठबन्धनकै प्रयासमा थिए । अन्तिममा उनी सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी, नौलो जनवादी पार्टीलाई लिएर स्वतन्त्र राजनीति शक्ति बनाउँदै चुनावी अभियानमा होमिए ।
सुशासन पार्टीका महासचिव गोविन्द गिरीका अनुसार आम निर्वाचनमा स्वतन्त्र राजनीतिक शक्तिले प्रदेश र प्रतिनिधिसभा गरी ५५ स्थानमा उम्मेदवारी दिएको थियो ।
काठमाडौं १ मा सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, काठमाडौं २ मा पुण्यप्रसाद प्रसाईं, काठमाडों ६ मा राजेन्द्र खनाल, काठमाडौं ७ मा कृष्णप्रसाद दवाडी र काठमाडौं ८ मा सुमन बलामीले स्वतन्त्र राजनीतिक शक्तिका तर्फबाट आमा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका थिए । तर, खरेलबाहेक अन्यले उल्लेख्य मत ल्याउन सकेनन् ।
काठमाडौं क्षेत्र नं. १ मा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ हजार १४३ मत ल्याउँदा दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः राप्रपाका रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेकपा एमालेका किरण पौडेल रहे । सुशासन पार्टीका अध्यक्ष खरेल चाहिँ ३ हजार १२४ मत ल्याउँदै पाँचौ स्थानमा रहे ।
यो नतिजाप्रति खरेल स्वयम्ले पनि सन्तुष्ट छैनन् । ‘सोचे अनुसार मत आएन तर पनि व्यक्तिगतरुपमा चाहिँ खुशी छु’, उनले अनलाइनखबरसँग प्रतिक्रिया दिए, ‘तीन/चार महिना अघिदेखि वैकल्पिक शक्तिहरु एक ठाउँमा हुनुपर्छ भनेर प्रयास गर्दै आएपनि सफल नहुँदा यस्तो परिणाम आयो ।’
आफू पराजित हुनुमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि दोषी मानेका छन् । लामिछानेले विगतमा आफूसँग गरेको भद्र सहमति तोड्दा सोचअनुसार नतिजा नआएको खरेलको टिप्पणी छ ।

खरेलका भनाइमा निर्वाचनको एक महिना अघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएको थियो ।
‘काठमाडौं १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने सहमति गर्नुभएको थियो, यद्यपि यो लिखित थिएन’, खरेलले भन्छन्, ‘पछि एक्कासी उहाँले पुकार बमलाई उम्मेदवार बनाएर पठाउनुभयो ।’
उनले भद्र सहमति हुँदा काठमाडौं ८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र काठमाडौं ५ का उम्मेदवार डा. प्रणय शमशेर राणा पनि साथमै भएको बताए ।
‘त्यतिबेला सबै ठाउँमा कसलाई कुन ठाउँबाट उठाउने भन्ने पनि लगभग टुंगो लागिसकेको थियो’, खरेलले थपे, ‘तर, अन्तिममा उहाँहरुले काठमाडौं १ मा पनि उम्मेदवारी दिनुभयो । सम्पर्कमा आउनु भएन, यो इमान्दारिता होइन ।’
खरेलको सुशासन अभियानमा लागेका छाडेका अभियन्ता राजेश श्रेष्ठ चाहिँ नेपाल सुशासन पार्टीको नेतृत्व तहमा संगठन चलाउन सक्ने परिपक्व टिम नदेखिएको बताउँछन् ।
‘नेतृत्वमा रहेकाहरुको अपरिपक्वताका कारण नै पार्टी अगाडि आउन नसकेको हो’, श्रेष्ठ भन्छन्, ‘सुशासन अभियानमा रहँदा मैले सधैँ यसको विरोध गरिरहेँ । तर, बहुमतको कहिल्यै सुनुवाइ भएन । पछि मैले स्वतन्त्र रहने निर्णय लिएँ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4