+
+

ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २३:०९

६ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं-५ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन् । सो क्षेत्रबाट पराजित भएका पोखरेलले मत परिणाम सार्वजनिक भएपछि पौडेललाई निर्वाचित भएकामा बधाई दिएका हुन् ।

उनले आफूलाई विश्वास गरेर मत दिने मतदातालाई धन्यवाद दिएका छन् र निर्वाचित नभए पनि भविष्यमा जनतासँगको सम्बन्ध र सम्पर्कलाई जीवन्त बनाउने बताएका छन् । ‘‍…जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु’ उनले फेसबुकमा भनेका छन् ।

२०७४ सालमा यस क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए । उनले काठमाडौं-५ को जनप्रतिनिधि भएर जीवनमा कहिल्यै बिर्सजन नसक्ने उपयोगी कुरा सिकेको पनि बताएका छन् ।

हेर्नुहोस् ईश्वर पोखरेलको फेसबुक स्टाटस

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, काठमाण्डौं क्षेत्र नं. ५ को निर्वाचन परिणाम पनि भर्खरै सार्वजनिक भएको छ  र श्री प्रदीप पौडेलजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएको छ । यस अवसरमा उहाँलाई बधाई भन्न चाहन्छु !

यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूप्रति आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।

निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध/ सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !

मैले उम्मेदवारी दिएको क्षेत्र – काठमाडौं – ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च आदरभाव रहिरहनेछ ! म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले)प्रति समर्पित रहिरहनेछु !

सबैप्रति हार्दिक आभारसहित,

– ईश्वर पोखरेल

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार

काठमाण्डौं क्षेत्र नं. ५

६ मंसीर २०७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?