+
+

प्रदीप पौडेलको फड्को

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर ७ गते ७:२०

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा प्रदीप पौडेल पराजित भएका थिए । विद्यार्थी राजनीतिबाट आएका गगन र विश्वप्रकाश पार्टीको पदाधिकारीमा पुग्दा पौडेल मनोनित केन्द्रीय सदस्यमा सीमित भए ।

प्रतिनिधिसभामा भने उनीहरु एकसाथ हुने भएका छन् । महामन्त्री विश्वप्रकाश झापा-१ मा झण्डै १० हजारको अग्रता लिइरहँदा अर्का महामन्त्री थापा काठमाडौं-४ बाट निर्वाचित भएका छन् । प्रदीप काठमाडौं- ५ बाट सांसद चुनिएका छन् ।

मंगलबार राति सकिएको मत गणनामा पौडेलले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।

एमालेका हेभिवेट नेतालाई पराजित गर्दै कांग्रेस नेता पौडेलले आफ्नो उचाई बढाएका छन् । दुई पटक यही क्षेत्रबाट सांसद भएका पोखरेल कोरोनाकालमा निकै विवादमा आएका थिए भने कांग्रेसका पौडेल परीक्षण नभएका नेता हुन् ।

पहिलो रोजाइ थिएन काठमाडौं ५

२३ असोजमा उम्मेदवारी दर्ता गर्ने दिनमा मात्रै काठमाडौं–५ मा पौडेलको टिकट निश्चित भएको थियो ।

विद्यार्थी राजनीतिबाट आएका पौडेलको पहिलो प्राथमिकतामा गृह जिल्ला तनहुँको क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने थियो । २०७४ मा पनि उनी तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्य लड्न चाहन्थे, तर प्रदेशसभा सदस्यको टिकट पाए । तनहुँ २ (१) मा चुनाव लडेका उनी वाम गठबन्धनको साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतान्तरले पराजित भए ।

यो पटक पनि प्रदीप तनहुँ-२ बाट प्रतिनिधिसभामा टिकटका आंकाक्षी थिए । क्षेत्रबाट उनकै नाम सिफारिस भएको थियो । तर टिकट पाएनन् । तनहुँ १ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट लिए भने यही क्षेत्रबाट उम्मेदवार बन्न चाहेका शंकर भण्डारीलाई तनहुँ-२ को दिलाए । अर्थात तनहुँ-२ बाट प्रतिनिधिसभाको टिकट पाएनन् ।

तर कांग्रेसले काठमाडौं–५ मा राम्रो उम्मेदवार पाएको थिएन । अघिल्लो चुनावमा यही क्षेत्रबाट लडेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको एकल नाम सिफारिस भएपनि उठ्न चाहेनन् । सत्ता गठबन्धनका अन्य दलले पनि यो क्षेत्र लिन चाहेनन् । किनकी एमालेको बलियो संगठन भएको क्षेत्र मानिन्छ । स्थानीय चुनावको मतले पनि त्यही भन्छ । यो क्षेत्रमा पर्ने स्थानीय तहका वडामा एमालेले १९ हजार २२९ भोट ल्याएको थियो । त्यसमाथि पोखरेलले २ हजार ७३९ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समेत समर्थन जुटाएका थिए ।

कांग्रेसमा अर्थशास्त्री स्वर्णिम वाग्ले यो चितवन–१, गोरखा–१ वा काठमाडौं–५ बाट चुनाव लड्न चाहेका थिए । तर सभापति शेरबहादुर देउवा कुनै हालतमा उनलाई टिकट दिन तयार भएनन्, बरु प्रदीपले अप्रत्यासित रुपमा टिकट हात पारे ।

यो क्षेत्रमा डा. प्रणय राणा, श्री गुरुङ, रञ्जु दर्शना लगायतले उम्मेदवारी घोषणा गरिसकेका थिए । एकातिर बलियो संगठन भएको एमालेका वरिष्ठ नेता, अर्कातिर युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु पौडेलका लागि सहज थिएन ।

तर उम्मेदवारी दर्ता गरेपछि पौडेल सम्भव भएसम्म धेरैभन्दा धेरै मतदाताकहाँ पुगे, गुनासा सुने । विगतमा जितेर जानेहरुसँग असन्तुष्ट मतदाताको मत जित्ने कोशिस गरे । गठबन्धनको साझा उम्मेदवार पौडेलले ‘बीसीडी मोडेल’ (‘ब्रेन ड्रेन’, ‘करप्सन’ र ‘डेभलपमेन्ट’) नामको चुनावी प्रतिवद्धता सार्वजनिक गरे । क्रमशः प्रवुद्ध व्यक्तिहरुको साथ पाउँदै गए ।

पौडेलको अर्को सफलता नरहरि आचार्यलाई मञ्चसम्म ल्याउनु पनि थियो । शारीरिक अस्वस्थताले कांग्रेसको राजनीतिबाट पर रहेका वौद्धिक नेता आचार्यलाई उनले आमन्त्रण गरे, नरहरिले पनि धक फुकाएर उनलाई भोट मागे । पौडेलले काठमाडौं ५ मा रहेका जसले मतदातालाई प्रभाव पार्न सक्छन्, सबैलाई भेटे ।

विवेकशील दलका संस्थापक अध्यक्ष उज्वल थापाको परिवार, हाँस्य कलाकार हरिवंश आचार्य, चिकित्सक डा. भोला रिजाल, कलाकार नीर शाह लगायतलाई भेटेर माहोल आफ्नो पक्षमा पारे । यही क्षेत्रबाट उम्मेदवार बन्न चाहेका अर्थविद् डा स्वर्णिम वाग्लेलाई आफ्नो समर्थनमा उभ्याए ।

चुनाव प्रचारको अन्तिम दिनमा महामन्त्री गगन थापालाई चुनावी सभामा निम्त्याए । १ मंसिरको त्यो कार्यक्रममा महामन्त्री थापाले भनेका थिए, ‘काठमाडौं ४ बाट म जितेर आउँदैछु । काठमाडौं ५ बाट प्रदीपलाई जिताएर पठाउनुस् । हाम्रो विजयी र्‍याली र काठमाडौं ५ को जुलुस संयुक्त रुपमा अघि बढ्छ ।’ थापाले भनेझै दुबै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

विद्यार्थी राजनीतिबाट आएका पौडेल

१ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्ष्टिच्युटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।

पौडेलले लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् । एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएका थिए ।

संविधान लेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनर्स्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?