+
+

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ७:४८

७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । कांग्रेसको केन्द्रीय सदस्य रिजालको मुख्य पेसा राजनीति नै हो ।

जगरनाथपुर गाउँपालिका-५ धर्मपुर मसिहानी टोलमा जन्मिएका रिजालको बाल्यकाल गाउँमै बित्यो । उनले १४ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए ।

पछि ठाकुरराम बहुमुखी क्याम्पसबाट बी.कम. अध्ययन गरेका छन् । उनको बुवा मेघनाथ उपाध्याय नेपाली कांग्रेसमा आवद्ध थिए । उनले ०१५ सालको आम निर्वाचन कांग्रेसबाट लडेका थिए । त्यतिबेला वीरगञ्ज बारा जिल्लामा पर्दथ्यो । त्यसैले उनी विद्यार्थी कालदेखि नै नेवि संघको राजनीतिमा सक्रिय बने ।

बिपी नेपाल फर्केपछि भएको पटना सम्मेलनबाट कांग्रेसको पर्सा जिल्ला सचिवको जिम्मेवारी रिजालले पाए । पछि उनी पर्सा जिल्लाको उपसभापति पनि बने । कांग्रेस सभापति देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा नेता रिजालले उनलाई साथ दिए । यसले गर्दा पनि उनी देउवाको प्रीय छन् ।

पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्यमा काम गरिसकेका छन् । वि.स. २०२६, वि.स. २०२८, वि.स. २०३०, वि.स.२०३९, वि.स. २०४२, वि.स. २०४६ र वि.स. २०४६ सालमा गरी झण्डै ३ वर्ष जति उनले जेल जीवन पनि बिताएका छन् ।

जनताबाट अनुमोदन हुने मौका भने उनलाई वि.स. ०४८ सालमा मात्रै मिल्यो । त्यसपछि लगातार उनी पर्सा क्षेत्र नं ४ मा चुनाव लडिरहेका छन् । वि.स. ०४८ सालमा सांसदमा विजयी भए । वि.स. ०५२ सालमा पनि उनलाई जताले प्रतिनीधि सभा सदस्य बनाए । ०५६ सालको निर्वाचनमा सुखद नतिजा आएन ।

वीरगञ्जमा चुनाव लडेका कृष्णप्रसाद भट्टराईको चुनावी अभियानमा खट्दा आफ्नो क्षेत्रमा ध्यान दिन नपाएकोले पराजित हुनु पुगेको उनी बताउँछन् ।

वि.स. ०६४ सालमा पूनः सांसद बने । त्यसपछि वि.स. ०७० र वि.स. ०७४ सालको निर्वाचनमा लगातार पराजित भए । ‘कांग्रेसलाई कांग्रेसले नै हराउँछ’ भनेजस्तै पार्टी भित्रको आन्तरिक द्वन्द्वले उनी पराजित हुने गरेका छन् ।

०७४ सालमा अप्रत्यासित रुपमा उनी पराजित भए । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निस्किए । कर्णले २० हजार ७ सय ३८ मत ल्याएका थिए । रिजालले १४ हजार ७ सय २ मत मात्रै पाए ।

मधेशी दलप्रति जनताको रुझान र पार्टी भित्रको अन्तरद्वन्द्वले त्यसबेला नेता रिजाल पराजित भएका थिए । ०७४ मा उनलाई पराजित गर्ने लोसपा नेता कर्णले निर्वाचन क्षेत्र परिवर्तन गरेर पर्सा क्षेत्र नं १ बाट प्रतिनीधि सभा सदस्यमा उठेका छन् ।

यसपटक पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको साथ पनि रिजालले प्राप्त गरेका थिए । विगतमा प्रतिष्पर्धी रहेकी माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले समेत उनका लागि भोट मागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?