+
+

काठमाडौंमा घण्टी उदाउँदा खुम्चियो एमाले, माओवादी पत्तासाफ

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ । कांग्रेसले ५ वटा क्षेत्रमा जित हासिल गर्दा एमालेले एउटा क्षेत्र मात्र जितेको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर ७ गते १०:४८

७ मंसिर, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाउँदा नेकपा एमाले खुम्चिन पुगेको छ । नेपाली कांग्रेसले एक सिट बढाएको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिस्पर्धामै आएनन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा एमाले विजयी भएको थियो । बाँकी चार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपटक नतिजा उल्टिएको छ । एमालेले आफ्नो वर्चस्व गुमाएको छ ।

०७४ मा एमाले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा विजयी भएको थियो । २ मा माधव कुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए ।

यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा थिए । यीमध्ये निर्वाचन क्षेत्र नम्बर ९ मात्रै एमालेले जोगाउन सकेको छ । क्षेत्र नम्बर ९ बाट पुनः कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ । रास्वपाका उम्मेदवारहरु निर्वाचन क्षेत्र नं. २ बाट सोविता गौतम, क्षेत्र नं. ७ बाट गणेश पराजुली र क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै शिशिर खनाल जित नजिक छन् ।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगनकुमार थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

कांग्रेसले ०७४ मा जितेको निर्वाचन क्षेत्र नं. ६ भने यसपटक गुमाएको छ । ०७४ मा क्षेत्र नं. ६ बाट विजयी भीमसेनदास प्रधान यसपटक पनि सोही क्षेत्रबाट उठेका थिए । तर, रास्वपाका उम्मेदवार शिशिर खनालभन्दा पछि रहे ।

निर्वाचन क्षेत्र नं. १ बाट ०७४ कै प्रतिस्पर्धी मुख्य प्रतिस्पर्धामा देखिएका थिए । तर, ०७४ भन्दा झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान विजयी भए । ०७४ मा ८१८ मतान्तरले रविन्द्र मिश्रलाई हराएका प्रकाशमान यसपटक १२५ मतान्तरले विजयी भएका छन् । प्रकाशमानले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२, नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेलले ३ हजार १२४ मत पाए ।

काठमाडौं क्षेत्र नं. २ बाट सोविता गौतमलाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याएका थिए । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती चौथो स्थानमा रहिन् । ओनसरीले ९ हजार ४४९ मत मात्र पाइन् ।

क्षेत्र नं. ३ मा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी भए । उनीसँग प्रतिस्पर्धामा एमालेका कृष्ण कुमार राई थिए । उनले ११ हजार १९६ मत पाए । तेस्रो भएका माओवादी केन्द्रका बद्रि प्रसाद बजगाईंले ५१८ मत पाए । यहाँ सत्ता गठबन्धनका दुई घटक कांग्रेस र माओवादी केन्द्र ‘मित्रवत’ प्रतिस्पर्धामा थिए ।

क्षेत्र नं. ४ बाट यसपटक पनि जित निकाल्दै कांग्रेस महामन्त्री गगन थापाले ह्याट्रिक गरे । गगनले पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७ हजार बढी मतान्तरले पराजित गरे । थापा २१ हजार ३०२ मत लएर विजयी हुँदा भट्टराईले १३ हजार ८५५ मत पाए । तेस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाए ।

क्षेत्र नं. ५ को चुनावी परिणाम अझ रोचक छ । काठमाडौं ५ बाट एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल पराजित भए । यो क्षेत्रबाट एमालेले सहज जित निकाल्ने आँकलन गरेको थियो । तर कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी भए । एमालेका पोखरेल जम्मा १० हजार १७५ मतमा समेटिए । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणाले ३ हजार १५५ मत पाएका छन् ।

क्षेत्र नं. ७ को चुनावी परिणाम पनि रोचक छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पुराना र स्थापित दलहरु मात्रै पछि पारेनन्, गठबन्धन बनाएर चुनाव लडेका दलका उम्मेदवारलाई समेत प्रतिस्पर्धामै आउन दिएनन् । ८ हजार ७४३ मत ल्याएर पराजुलीले जित निकाल्दा एमालेका श्याम कुमार घिमिरेले ६ हजार ८ सय मत पाए ।

पाँच दलीय सत्ता गठबन्धनकी उम्मेदवार मानुषीयमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जम्मा २ हजार ४६१ मत पाए । यसअघि एमालेबाट जितेका तर, यसपटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका रामवीर मानन्धर प्रतिस्पर्धामै आउन सकेनन् ।

क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठसँग प्रतिस्पर्धामा स्थापित दलहरु आउनै सकेनन् । १० हजार १०५ मत ल्याएर विराजभक्त विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भए ।

पर्यटनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए । उनले जम्मा ४ हजार २६६ मत पाएका छन् । यस क्षेत्रमा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य प्रतिस्पर्धामै देखिन सकेनन् ।

काठमाडौं क्षेत्र नं. ९ र १० मा भने पुरानै अनुहार दोहोरिएका छन् । ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत पाउँदा साझा पार्टी नेपालका मिलन पाण्डेले एक हजार ८५० मत पाए ।

क्षेत्र नं. १० बाट अविचलित रुपमा कांग्रेसका राजेन्द्र कुमार केसी निर्वाचित भए । यस क्षेत्रमा सत्ता गठबन्धन पनि भत्किएको थियो । माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाएको थियो । तर, केसीले एक्लै जित निकालेका छन् ।

१४ हजार ४५८ मत ल्याएर केसी निर्वाचित हुँदा एमालेका हिमेस केसी ११ हजार ७८६ मतमा समेटिए । तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७२६ र राप्रपाका बलराम थापाले ६ हजार ०५६ मत पाए । कांग्रेससँग गठबन्धन तोडेर उम्मेदवारी दिएकी माओवादी केन्द्रकी अन्जना विशंखे ५ हजार २६२ मतमा समेटिइन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?