+
+
अन्तर्वार्ता :

‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’

देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ मंसिर ७ गते १०:५५

शेरबहादुर देउवाले चुनाव जित्नु समाचार होइन, उनलाई कसले कसरी चुनौती दियो भन्नेचाहिँ समाचार हो ।

हामीले चुनावअघि एउटा स्थलगत रिपोर्टमा लेखेका थियौं– डडेलधुरामा धेरैजना उम्मेदवार उठ्छन्, अन्तिममा देउवाले जित्छन् । यसपल्ट पनि त्यस्तै भयो । निकटतम प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतान्तरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सातौंपल्ट चुनाव जिते ।

यसपल्ट निकटतम् प्रतिष्पर्धी भने उनकै अपेक्षा विपरीतका उम्मेदवार थिए– गुल्मीका सागर ढकाल ।

यसभन्दा अघिल्लोपल्ट प्रधानमन्त्री छँदा उनै शेरबहादुर देउवासँग टिभी शोमा योग्य जनप्रतिनिधि खोई भन्दै ‘बढ्ता बोलेर’ चर्चामा आएका सागर ढकाल कालान्तरमा उनकै विरुद्ध डडेलधुरामा चुनाव लड्न गए । चुनाव त देउवासँग लामो सहकार्यमा रहेका कर्णबहादुर मल्लले पनि लडेका थिए । उनी यसकारण पनि चर्चामा थिए– एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम नै गएर आफ्नो दलको समर्थन मल्ललाई रहने घोषणा गरेका थिए ।

तर यो पनि खासै समाचार होइन । समाचार उनै सागर ढकाल हुन्, जसले गुल्मीबाट डडेलधुरा गएर विभिन्न अभियानहरू चलाए । उनले देउवाले ल्याएको २५ हजार ५३४ विरुद्ध सागरले पाएको १३ हजार ४२ मत यो चुनावको उल्लेख्य पक्ष हो । चुनाव अघिसम्म देउवाका खास प्रतिष्पर्धी ठानिएका कर्णबहादुर मल्लले भने ७ हजार ५३५ मात्रै पाए ।
सुई चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सागर ढकालसँग बुधबार बिहान गरिएको लामो टेलिफोन संवादको अंशः

चुनाव परिणामलाई कसरी लिनुभएको छ ?
मैले जुन आँट गर्नुपर्ने हो, गरें । धेरै युवाहरूले यसपल्ट आँट गरेका छन् । काठमाडौंमा तोसिमा, सोविता, चितवनमा रविहरूले पाउँदै गरेको जीत मेरो पनि जीत हो । देउवाबाहेक अरु उम्मेदवार कांग्रेसबाट आएको भए मैले पनि सहजै जित्थें । यत्रो राज्यशक्तिको स्रोत पैसा खर्च गरेर चुनाव लड्ने कांग्रेसमा सायद देउवा मात्रै एक्लो हुनुहोला । गगन थापा, प्रकाशमान सिंहजस्तै आचारसंहिता पालना गरेर लडेको भए, गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफबाह नफैलाएको भए मैले जित्थें ।

देउवाले शक्ति प्रयोग गरेर तपाईंलाई हराएका ?
सीडीओ, डिएसपी, सरकारका प्रतिनिधिले घेरेर चुनाव गराए । निर्वाचन अधिकृत उनीहरूका अगाडि निरीह नै हुन् । अति पैसा बाँड्न थालेपछि मलाई पनि साथीहरूले पैसा खोजुँ भनेका थिए । तर मैले नाति पुस्ताले लाज मान्ने काम गर्नु हुन्न भनेर रोकेको । बरु हार्नु ठिक, गलत काम चैं गर्नुभएन । अब सुदूरपश्चिमका धेरैले मेरो सिको गर्नेछन् ।

धाँधली भयो भन्नुभएको ?
दुवै भयो । धाँधली पनि भयो । सत्ताको दुरूपयोग पनि भयो । फेरि यो दुरूपयोग उहाँ शेरबहादुरले मात्रै गर्न सक्ने कुरा रहेछ । कांग्रेसका अरुले यो गर्न पाएजस्तो मलाई लाग्दैन । सुदूरपश्चिममै यस्तो त कहीँ हुँदैन ।

चुनावको परिणाम स्वीकार गर्न तपाईंलाई गाह्रो भएको हो ?
होइन, मैले स्वीकारेको छु । आपत्ति छैन । उहाँलाई बधाइ पनि दिइसकें । मैले एउटामात्रै चुनाव सोचेर बसेको छैन । दश वटा चुनाव सोचेर बसेको छु । म ५० वर्ष सोचेर राजनीतिमा आएको हो । मेरा एजेन्डाहरू हेर्नुभयो भने त्यस्तै छन् ।

तपाईं अर्को पल्ट डडेलधुरामै लड्नुहुन्छ ?
हो, यहीँ लड्छु । यसमा शंका छैन ।

त्यसपल्ट पनि हारियो भने ?
त्यसपल्ट पनि हारियो भने म राजनीति छाडिदिन्छु । किचिरपिचिर गरेर बस्दिनँ । अरुलाई छाडिदिए भैगयो नि ! आफ्नो काम गर्न गए भैहाल्यो नि ! यसैमा लागिरहनुपर्छ भन्ने के छ र ?

राजनीति नै छाड्ने ?
अँ, सक्रिय राजनीति छाड्ने । आफ्नो इन्जिनियरिङ कन्सल्टिङ गर्छु । कामको कमी छैन मलाई । यहाँ आउनुभन्दा अघि पनि चार देशको जिम्मेवारी पाएको थिएँ स्वीजरल्यान्डको संस्थाबाट । मैले ठूलो गफ दिएजस्तो सुनिएला । तर अक्सफोर्डमै हुँदा पनि विभिन्न देशका उपप्रधानमन्त्री, मन्त्रीहरूसँग मैले धेरै काम गरेको छु । नेपालको बजेट १५ खर्ब त हो नि, यहाँ प्रधानमन्त्री नै भए पनि कसैले हामीलाई चिन्दैन । नेपालमा जत्रो चहलपहल भइरहेको छ नि अहिले, यो सबै एउटा कुवाभित्रको हल्ला हो । अरु कुनै देशलाई यहाँको चुनावबारे मतलब पनि छैन । त्यसैले हाम्रो हैसियत बढाऊँ । पैसा र पावरका लागि राजनीति नगरौं ।

डडेलधुराका जनताबारे जुन मनोविज्ञान बनेको छ अन्यत्र । त्यस्तै हो ?
होइन, यहाँ पनि जनता जागिसकेका छन् । तराई र भित्री मधेसबाट राम्रो मत आएको छ । शेरबहादुरले चलखेल गरेको पहाडी बस्तीमा हो । त्यहाँका जनतालाई त यति गलत अफवाह फैलाइयो कि मैले त्यसलाई चिर्न भ्याइनँ । तर परिवर्तनको भोट मैले पाएँ । यहाँ त राणाशासन जस्तो छ । मान्छे नेता आयो भने बोल्न पनि डराउँछन् । नवदुर्गा पालिकाका दलित बस्तीमा त पावरमा भएका नेताले दबाएर राखेका रहेछन् । म जाँदा मसँग खुलस्त भन्नुभयो । नपत्याए तपार्इंहरू सर्वेक्षण गरेर हर्नुहोस् । मौन अवधिमा यहाँ पैसा बाँड्नेहरूको व्यापक भीड भयो । गोजीमा पैसा राखिदिनेदेखि बाइकमा तेल हाल्ने सबै सामान्य यहाँ ।

देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु ।

अब कहिलेसम्म डडेलुधुरा ?
डेढ महिनासम्म यहीँ हुन्छु । यहाँ पानीको लागि तत्काल केही काम गर्नुपर्ने छ । यो सबै गर्न चुनाव जित्नुपर्छ भन्ने केही छैन । जलाधार क्षेत्रको व्यवस्थापन लगायत काम गर्नुपर्ने छ । यहाँ बजेटको एकदमै दुरूपयोग र हेलचेक्र्याइँ छ । खोलाले बगाउने ठाउँमा पुल बनाइदिएको छ । भ्रष्टाचारको ठूलो काण्ड यहीँ भेटिन्छ, खोज्दै गयो भने । यो फाइल खोल्ने कसको आँट ? तर मैले गर्छु । यो अन्यायविरुद्ध बोल्न किन डराउने ? यति धेरै जनताको विश्वास मलाई छ ।
म डडेलधुरामात्रै होइन, देश नै बनाउन हिँडेको मान्छे हुँ । सुदूरपश्चिमलाई पछाडि राखेर यो देश बन्दैन । म बझाङ डोटी र अरु जिल्ला पनि जान्छु ।

मतदातालाई धन्यवाद दिने कार्यक्रम छ ?
म गाउँमा गएर धन्यवाद दिन्छु । म उहाँहरूको समस्या बुझ्ने, सक्दो समाधान गर्ने प्रयास गर्छु ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?