+
+
अन्तर्वार्ता :

‘मतदाता परिवर्तनशील हुँदारहेछन्, चुनावमा २ लाख पनि खर्च भएन’

काठमाडौं-२ का मतदाताहरूले मलाई जिताउनुभयो । यहाँहरूकै सल्लाह-सुझाव लिन तथा सम्बन्धका दूरीहरू कम गरी अघि बढ्नेछु । विगतका जस्तै हराउने सांसदमा म पर्दिनँ, ढुक्क हुनुस् !

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २२:२४

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद जितेकी सोविता गौतम अहिलेसम्मको गणना अनुसार प्रतिनिधिसभामा जाने सबैभन्दा कान्छी सांसद हुनेछिन् ।

उनले युवा अभियानहुँदै राजनीतिसम्म जाँदाको आफ्नो अनुभव, चुनावको उम्मेदवारीदेखि विजय यात्रासम्मको संघर्ष अनि सफलताको कथा अनलाइनखबरसँग बाँडिन् । उनीसँग गरिएको यो कुराकानी भिडियोमा समेत हेर्न सकिनेछ ।

चुनावी नतिजालाई कसरी हेर्नुभएको छ ?

युवापुस्ता राजनीतिमा आउने क्रम बढ्दो छ । यो स्वाभाविक छ र सुरुवात होला सायद । मभन्दा पनि कान्छा सांसदहरू देख्न पाइयोस् ।

तपाईंले पहिलो प्रतिस्पर्धामै लामो राजनीतिक अनुभव भएका उम्मेदवारलाई हराउनुभयो, आफ्नो यो विजय कस्तो लागिरहेको छ ?

यो नतिजाले काठमाडौं-२ का मतदाता परिवर्तनशील हुनुहुन्छ भन्ने देखायो । यसअघि पनि हामीले त्यो देखेको हो । पछिल्लो समय राजनीतिप्रति वितृष्णा जागिरहेको थियो । हामी जस्ता युवा पुस्ता आउँदा फेरि नपत्याउने जस्तो, शरीर सानो, कद सानो, मोटाइ सानो तर पनि उहाँहरूले मेरो कुरा, अन्तर्वार्ता सुनेर पत्याउनुभयो । मलाई विश्वास गर्नुभयो भन्ने पनि संकेत गर्छ ।

पार्टीहरूलाई संगठनको दम्भ र घमण्ड हुन्छ । त्यो आधारमा उहाँहरूले मलाई यहाँबाट यति मत आउँछ भनेर आकलन गर्नुहुन्छ । त्यसैको आधारमा राजनीतिलाई विकृत रूप दिनुहुन्छ ।

यो मेरो मान्छे, यहाँ मेरो यति भोट आउँछ भनेर एक हिसाबको नागरिकहरूलाई पनि झण्डाको छाता ओढाएर बाँधिदिनुहुन्छ । तर, यो निर्वाचन नागरिक भनेका कुनै पार्टीका होइनन्, उनीहरू स्वतन्त्र र स्वच्छन्द हुन्छन् । आफ्ना विचारको निर्णय आफैं गर्न सक्छन् भन्ने उत्कृष्ट विचारको नमूना हो ।

उसो भए सबै मतदातालाई कार्यकर्ता ठान्ने परिपाटीबाट पार्टीहरू मुक्त हुनुपर्‍यो ?

यो त हो नि, बिल्कुलै हुनुपर्‍यो । तिनै मतदाताले हालेको मतबाट सदनमा पुग्ने र मत हाल्ने मतदातालाई बिर्सने उहाँहरूको परिपाटी अब बदलिएको छ । नागरिकले चाहेको परिवर्तनलाई अब उनीहरूले आफ्नो दल भनेर बस्दैनन् । उनीहरू स्वतन्त्र छन् । दलहरूप्रति आस्था त्यतिबेलासम्म थियो जतिबेलासम्म विश्वास थियो । दलहरूले विश्वास गुमाए, आस्था पनि गुम्यो ।

उम्मेदवार बन्छु भन्ने तपाईंको तयारी कहिलेदेखिको हो ?

मलाई आफूलाई राजनीतिक क्षेत्रमा आउँछु भन्ने चैं थियो तर जीवनको कुन कालखण्ड, कुन समयमा गएर भन्ने निक्र्योल गरिसकेको थिइनँ । तर आफूलाई कार्यकर्तामा मात्रै सीमित नराखी राजनीतिक चेतना चैं थियो ।

कुन समय थाहा थिएन, उम्मेदवारको हकमा चैं । स्वतन्त्र रूपमा भन्नु पर्दा राष्ट्रिय स्वतन्त्र पार्टी खुलिसकेपछि संस्थापक केन्द्रीय सदस्यको रूपमा भूमिका तयार गर्दागर्दै अब चुनाव आउँछ । आफूले केही न केही सोच्नुपर्छ भन्ने चैं मलाई थियो ।

काठमाडौं-२ मा नै जान्छु भन्ने पूर्वयोजना थियो ?

म बसेको क्षेत्र, म पढेको र हुर्केको क्षेत्र भएकाले २ नम्बर मलाई सहज थियो ।

सुरुमा त २ मा तपाईको पार्टी अध्यक्ष रवि लामिछानेजी उठ्ने कुरा थियो होइन ?

काठमाडौं-२ मा रविजीको सम्भावनाका क्षेत्रको रूपमा हामीले हेरेका थियौं सुरुमा तर चितवन २ र ३ का कुराहरू पनि थियो । पार्टी सभापतिलाई कुन क्षेत्रमा उठाउँदा हुन्छ भनेर हामीले अध्ययन गरिरहेका थियौं । यद्यपि रविजी चितवन जानुभयो । मेरो सबै कुरा भएका कारणले मलाई सहज भयो ।

जित निस्कियो, तर यो कथा त्यति सजिलो थिएन होइन ?

यसमा ठूलो मिहिनेत र कसरत छ । हामीले ठूला दलहरूको संगठन, नेता उठ्दे हुन्छ, पैसाको कुरा हुन्छ । पार्टी प्यालेस, बाइकमा तेल हाल्दे हुन्छ भन्ने कुरा हुन्छ । तर हाम्रो बिल्कुलै फरक । पार्टी पनि नयाँ, मेरो परिवार पनि कुनै पनि राजनीतिमा नलागेको, पार्टी स्थापना भए पनि सबैतिर विस्तार नभएको चुनौती नै चुनौती ।

चुनावी अभियान गरौं न त भने पनि मेरा अधिकांश साथी विदेश उडेका, त्यसमा पनि साथीहरू नै नहुने । महिला उम्मेदवार भएपछि महिला साथीहरू भइदिए बोल्न पनि सहज हुनेथियो । मतदातालाई कन्भिन्स गर्दा पनि सजिलो हुनेथियो । तर दुःखका कुरा महिलाहरू आउनुभएन ।

महिलाको मुद्दाका लागि त हामीले कति सडक संघर्ष गरेका थियौं । त्यस्तो नहुने रहेछ । तर, धेरै महिला आउनुभएन । एक जना महिला प्रकृति न्यौपाने चितवनबाट मेरो पुस्ताको ए्क जना मात्रै आउनुभयो । यो पुस्ता र विद्रोही हुनुपर्ने, युवा र महिला राजनीतिमा आउनुपर्छ भनेर आन्दोलन गर्नुपर्ने हो नि तर महिला अभियान गर्ने साथीहरू नै आउनुभएन ।

कुनै सडकमा मुद्दा भयो, बलात्कारको मुद्दा भयो भने वुमन इम्पावरमेन्ट भन्ने तर महिला साथीहरूले यो निर्वाचनको महत्व बुझ्नुभएन । यदि उहाँहरूले साँच्चिकै साथ दिनुहुन्थ्यो भने अझै बढी गज्जब हुन्थ्यो । जुन हिसाबको मतान्तर छ त्यो अन्तर बढाउन सकिन्थ्यो ।

चुनौती धेरै थियो, मेरो परिवार, आफन्त, त्यहाँका स्थानीयहरू पनि विस्तारै विस्तारै जोडिनुभयो । पार्टीको एउटा दबदबाबाट डराएर बाहिर निस्कने मान्छे कम हुन्छन् । पार्टीमा रहेका तर भित्रभित्रै सहयोग गर्छौं भन्ने धेरै थिए उहाँहरू खुल्न सक्नुभएको थिएन । जो-जो जोडिनुभयो उहाँहरू निष्पक्ष हुनुहुन्थ्यो ।

तपाईंको क्षेत्रमा सोवितालाई जिताउन हामीले काम गर्नुपर्छ भन्ने अवस्था स्वतन्त्र मतदाताहरूबीच बन्यो ?

यो समाजलाई सुन्दर बनाउन अब पनि हस्तक्षेप नगर्ने हो भने यो समाज बन्दैन, हाम्रा सन्तान पनि हामीसँग बस्दैनन् । यो नेपाल भन्ने देशको अस्तित्व के होला भन्ने कुराले उहाँहरूलाई झकझक्याउने रहेछ । अनि यस्ता मान्छेहरू स्वतस्फूर्त निस्किनुभयो ।

यस्तै म देखिन मिल्दैन तर फलानो फलानो मान्छेलाई भेट्नुस् भनेर सल्लाह दिने मतदाताहरू धेरै हुनुभयो । खर्च पनि निकै कम भयो । मलाई लाग्छ मेरो निर्वाचन खर्च २ लाख पनि नाघेको छैन । हुनत म भर्खरै निर्वाचित भएकी छु, खर्च हिसाब गर्नै बाँकी छ । तर त्योभन्दा बढी खर्च भएको छैन । हामी जहाँ जहाँ गयौं उहाँहरूले हामीलाई पत्याउनुभयो ।

अस्ति भर्खरै माओवादी अध्यक्षले अब त १० करोड भन्दा कम्तीमा चुनाव लड्नै सक्दिनँ भनेको सुनेको छु, झलनाथ खनाल, नरहरि आचार्यको पनि यस्तै सुनेको थिएँ । अरू थुप्रै छन् । अहिलेको अवस्थामा मध्यम वर्गका मानिसले चुनावै लड्न नसक्ने भनेको सुनेको तर तपाईं यस्तो भन्दै हुनुहुन्छ ?

त्यो भाष्य उहाँहरू आफैंले निर्माण गर्नुभएको हो । त्यही भाष्यलाई परिवर्तन गर्न निस्किएकी हुँ । मेरो परिवार त्यस्तो परिवार पनि होइन करोडौं करोड खर्च गर्न सक्ने । त्यसो भएतापनि त्यो गर्नुहुँदैन भन्ने मान्यता राख्ने हाम्रो पार्टी हो ।

यस्तै गर्ने भए त के राजनीति गर्ने भन्ने पनि हो । हामी जहाँ गयौं त्यहाँ यो त गरिब पार्टी, पैसा छैन भनेर चिया र खाजा सित्तैंमा दिनुहुन्थ्यो । पहिलो एक हप्ता जति त भात खाएको पैसा आफैं तिर्‍यौं तर पछि उहाँहरूले गरिब पार्टी भनेर तिर्न लगाउनुभएन । शुभचिन्तक भेटिनुभयो । मैले चिनेको, मप्रति कुनै स्वार्थ पनि होइन । कुनै सम्झौता पनि होइन ।

हामी ८÷१० जना हिंड्थ्यौं । हामी गएको ठाउँमा चिया खाएको तिरिदिनुहुन्थ्यो । खाना खाएको हामीले ८-१० दिन तिर्नुपर्‍यो । खाना ५० प्रतिशत छुटमा दिनुहुन्थ्यो । पछि राम्रो हुँदै गएपछि तपाईं जस्तो मान्छे संसदमा आउनुपर्छ भनेर पछिल्ला दिनमा पैसा लिन पनि छोड्नुभयो ।

खाना खाएको तिरिदिने शुभचिन्तकहरू भेटिनुहुन्थ्यो । उहाँसँग आशा, अपेक्षा वा शर्त पनि केही थिएन । सिर्फ उहाँहरूमा नयाँ पुस्ता आओस् भन्ने थियो ।

महिला नेतृत्वको सन्दर्भमा पुरानो लोकतान्त्रिक देश भनिने अमेरिका समेत उदार छैन । नेपालको सन्दर्भमा तपाईंले आफैं उम्मेदवार भएर हेर्दा कस्तो पाउनुभयो ?

केही केही ठाउँ एकदम संकुचित छ । महिलाको नेतृत्वलाई स्वीकार्न एकदमै असहज छ । बोल्ने मान्छेहरू धेरै भइसकेपछि फैलने अवस्था हुने रहेछ ।

युवाहरूको सञ्जाल आयोन भन्ने संस्थामा यसअघि आवद्ध थिएँ । सदस्य भइसकेर पछि अध्यक्षको प्रतिस्पर्धामा भाग लिएकी थिएँ । त्यहाँ म हारें । किन हारें भन्दाखेरि महिलाको नेतृत्व स्वीकार्न पुरुषहरू तयार हुनुभएन ।

पछाडि-पछाडि धेरै कुरा सुनें । महिला तथा कद सानो भएकै कारणले मलाई कुन रूपमा जज गरे भन्ने महसुस हुन्थ्यो । महिला भएकै कारणले पत्याएनन् भन्ने हुन्थ्यो । परिवर्तनका लागि हिंड्ने भने पनि घेरा सानो थियो । उहाँहरूको विचारमा पनि सानो थियो जस्तो लाग्छ ।

अहिले म ठूलो घेरामा आइपुगें । मेरो पक्षमा वकालत गर्ने मान्छेहरू पनि धेरै भए । आफ्नो एजेण्डाहरू प्रस्तुत गर्दा मेरो पक्षमा बोल्नेहरू धेरै भए । त्यसमा महिला साथीहरू कम र पुरुष साथीहरू धेरै थिए । आमा र हजुरबुबा जेनेरेशन एकदमै धेरै मेरो पक्षमा हुनुहुन्थ्यो । अत्यन्तै धेरै त्यो पुस्ताको माया पाएँ ।

बुधबार बिहान थलीमा भेटघाट हुने भनेर एउटा स्टाटस राखेकी थिएँ । त्यहाँ त धेरै उपस्थित भइसक्नुभएको रहेछ । त्यहाँ माला, खादा गर्दिन थाल्नुभयो । गाडी कहाँबाट ल्याइयो, त्यसको व्यवस्थापन मैले गरेको पनि होइन । मलाई नै थाहा छैन ।

यसरी स्वतस्फूर्त आइरहनुभएको छ । घरको झ्यालबाट बुढी हजुरआमाहरू खुसी भएर हात हल्लाउनुभयो । त्यसले मलाई भावविह्वल बनायो । मेरो पुस्ताले बुझ्नुपर्ने हो यस्तो खासमा । मेरो पुस्ताका कतिपयलाई हाई-हेल्लो गर्दा मुन्टो फर्काएर हिंड्ने गरेको देखेकी छु ।

यो चुनावमा तपाईंले धेरै खालको अनूभूति गर्न पाउनुभएछ है ?

हो ।

अब त काम गर्ने पदमा पुग्नुभयो । वास्तविक परीक्षण त अब सुरु हुन्छ । त्यो परीक्षाका लागि तपाईं कत्तिको तयार हुनुहुन्छ ?

उम्मेदवारीको लागि तयार गर्दागर्दै यो प्रश्न आफैंले आफैंलाई सोधेकी थिएँ । इच्छा त राखें मैले सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । त्यो जिम्मेवारी बहन गर्न सकिएन भने आजसम्म कमाएको इज्जत सबै सकिन्छ भनी यी सबै प्रश्न आफैंलाई गरिसकेकी थिएँ ।

तर, एउटा न एउटा पुस्ताले यो भारी बोक्ने साहस गरेन भने परिवर्तन सम्भव हुन्न । अब राजनीतिमा हस्तक्षेप गर्नुपर्छ भनी आएकी हुँ । त्यसैले निर्वाचन प्रक्रियामा भाग लिनु स्वाभाविक रूपमा लिएकी छु ।

मेरो जित होइन, जिम्मेवारी प्राप्ति हो । सबैसँग सहकार्य गरेर विगतमा केही कमी-कमजोरी भयो होला, ती कुराहरूलाई सूक्ष्म अध्ययन गरेर अघि बढ्छु । फरक फरक दलमा भएका सांसदहरूसँग भएको दूरी हटाएर काम गर्छु ।

तपाई आवद्ध पार्टी भर्खर बनेको छ । पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । यो पार्टी कसरी अघि जाला ?

पार्टीको विधान अनुरुप नै हामी अघि बढ्ने हो । महाधिवेशन छिट्टै गर्नुपर्नेछ । २१२ जनाको केन्द्रीय सदस्य बनाउन बाँकी छ । कार्यविभाजनको काम पनि बाँकी छ ।

काठमाडौं जिल्लाको मात्रै कुरा गर्दा हामी कुल सांसदको ४० प्रतिशत छौं । त्यसमा पनि आ-आफ्नो क्षेत्रमा विज्ञता बोकेका युवा साथीहरू हुनुहुन्छ । तपाईं नै सोच्नु त हामी जस्ता युवा सदनमा पुगेर कस्ता कस्ता कुरामा बहस गरौंला !

२०६४ सालको पहिलो संविधानसभामा धेरै युवा पुस्ताका सांसद भएका थिए । त्यो संसदको कार्यकाल निराशामा सकियो । राजनीतिमा लागेका व्यक्तिले त त्यो क्षितिज पनि हेर्नुभएकै होला ?

पार्टीलाई हामीले व्यवस्थित गर्‍यौं भने यी सबै कुराको हल हुन्छ जस्तो लाग्छ । अहिले पार्टीहरूमा देखिएको समस्या आन्तरिक लोकतन्त्र सुदृढ नहुनु हो । संगठन मजबुत नहुने समस्या छ । दलहरूमा आन्तरिक खिचातानी तथा पदको मोह एकदमै धेरै हुन्छ । त्यसले गर्दा विकासका एजेण्डा प्राथमिकतामा पर्दैनन् ।

मलाई चाहिं कुर्सीको लागि राजनीति गर्नु छैन । कुर्सीका लागि राजनीति गर्नुहुँदैन भन्ने मेरो मान्यता छ । युवाहरू आउँदा कम्तीमा पनि संसदमा मुद्दामा बहस त हुनेभयो नि ! राम्रा कुराहरूमा बहस भएर निष्कर्षमा पुग्ने वातावरण त बन्छ नि ! सुन्दर संसदको आशा लाग्न थालेको छ ।

गगन थापा, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, रवि लामिछाने, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुलीलगायत व्यक्तिहरू संसदमा आउनुभएको छ । यस्ता व्यक्तिहरू संसदमा जाँदै गर्दा कस्तो मुद्दामा छलफल गर्छौं होला त !

तपाईंहरू गगन थापालाई प्रधानमन्त्री बनाउने मिसनसहित अघि बढ्दै हुनुहुन्छ ?

तपाईंले यो प्रश्न सोध्नु स्वाभाविक हो । यो विषय सोविता गौतमले बोलेर मात्रै हुने कुरा पनि होइन । केन्द्रीय समितिको बैठक बसेर पार्टीले निर्णय गर्छ । सरकारमा जाने/नजाने वा प्रधानमन्त्रीमा कसलाई समर्थन दिने वा प्रतिपक्षमा बस्ने पार्टीमा छलफल गरेर निर्णय हुन्छ ।

आउने दिनहरूमा कसरी अघि बढ्ने सोच्नुभएको छ ?

पक्कै चुनौतीपूर्ण दिनहरू आउनेछन् । भोलि फिल्डमा जाँदै गर्दा आज जस्तै सहज नहोला । जुन प्रकारको संरचना बनाएका छौं, विकासका कार्य गर्न साह्रै जटिल संरचना हामीले बनाएका छौं ।

ढिलासुस्ती, टेण्डरको प्रक्रिया जटिल छ । जतिसुकै वाद, सिद्धान्तका कुरा गरे पनि नागरिकलाई चाहिएको विकास हो । त्यसमा एउटा सांसदको भूमिका समन्वयकारीको रूपमा हुन्छ । नीति-नियम भन्दा पनि समन्वयकारी भूमिका निर्वाह गर्ने कार्यलाई एकदमै चुनौतीपूर्ण देखिरहेको छु ।

सदनमा हामी नीति बनाउँछौं । लोकतन्त्रमा नागरिक पनि उत्तिकै सचेत हुन थाल्नुभएको छ । नागरिकले जवाफदेहीको कुरा गर्नुभयो भने त्यो पनि गज्जब हुन्छ । मिडियाले जवाफदेही खोज्दा त्यो पनि गज्जब हुन्छ । चौतर्फी शक्तिहरू एकीकृत मोडेलबाट गयौं भने सफल नहोला त ? सबैलाई जोडेर एकीकृत माध्यमले जानुपर्ने लाइनमा म छु ।

काठमाडौं-२ का मतदाताहरूले मलाई जिताउनुभयो । यहाँहरूकै सल्लाह-सुझाव लिन तथा सम्बन्धका दूरीहरू कम गरी अघि बढ्नेछु । विगतका जस्तै हराउने सांसदमा म पर्दिनँ, ढुक्क हुनुस् !

तस्वीर-भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?