+
+

कमल थापा र डिनालाई हराउँदै सांसद बनेका दीपक सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:३८

८ मंसिर, हेटौंडा । मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त हेरेका थिए, तर प्रतिस्पर्धी मान्न तयार थिएनन् ।

जब हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डिनालाई अग्रता जोगाउन सकस मात्रै परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै कमल थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।

एकाएक नगर क्षेत्रबाट आएको मतले दीपक सिंहलाई संसदको ढोका खोलिदियो । जुन, मतपरिणाम कांग्रेस, एमाले, राप्रपा नेपालका लागि ‘सरप्राइज’ थियो ।

अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।

अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।

२०५४ सालमा पहिलोपटक मेयरमा राप्रपाबाट चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १ हजार २०० मतान्तरमा पराजित भएका थिए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग र २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए ।

गत ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार ५३१ उनी तेस्रो भएका थिए । पटक–पटक हारे पनि गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा राम्रो मत ल्याएपछि उनी यसपटक हारको अर्को खराब रेकर्डबाट बच्ने प्रयासमा थिए ।

तर, वडागत रुपमा राप्रपाले राम्रो भोट पाएको थिएन । राप्रपासँग ४ हजार ७० मात्र भोट थियो । उनी विरुद्धको सत्ता गठबन्धनसँग मात्रै ५३ हजार ९१७ मत थियो भने नेकपा एमाले एक्लैसँग ३८ हजार ५६ मत थियो ।

तर, यसपटक भने सिंह सत्तागठबन्धन र एमाले पार्टीभित्रैको मत आफुतिर तान्न सफल भएका छन् । स्थानीय तह चुनावमा आएको मत न सत्तागठबन्धनले जोगाउन सक्यो न त एमालेले नै ।

पञ्चायतकालदेखिका नै कमल थापालाई साथ दिंदै आएका थिए सिंहले । उनै सिंहको लोकप्रियतासँग यसपल्ट थापाले माथ खानुप¥यो । एमालेको बलमा चुनाव जित्ने थापाको रणनीतिलाई सिंहको जितले फिक्का सावित गरिदियो । सँधै एमालेको प्रमुख प्रतिस्पर्धी रहेका थापाले बालकोटबाट पार्टीको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुग्दा एमालेभित्र चरम असन्तुष्टि थियो । तर, चुनाव नजिकंदै गर्दा असन्तुष्टिको स्वर मत्थर हुँदै गएको थियो ।

एमालेको आफ्नै उम्मेदवार नभएकाले कांग्रेसीकी उपाध्याय बिहीबार विहानसम्म पनि झिनो मतान्तरमा आफू जित्न सकिने आशामा थिइन् । चुनावी सभामा ‘समानुपातिकको १ नम्बर छोडेर जनताबाट अनुमोदित हुन आएकी हुँ’ भन्ने गरेकी उपाध्यायका लागि सिंहको जित आफ्नो राजनीतिक ‘करियर’को अर्को खराब रकेर्ड बन्न पुग्यो ।

दुई पटक समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी डिनाले प्रत्यक्षतर्फको चुनावमा चौंथो पटक प्रयास सफल हुन सकिनन् । तर, दीपकबहादुर सिंह भने पाँचौं प्रयासलाई सार्थक बनाउँदै सांसद बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?