+
+
आम चुनाव २०७९ :

पार्टीका गढमा कसरी उदाए नयाँ उम्मेदवार ?

शहरी भेगका मतदाताहरू स्वभावैले संस्थापन विरोधी हुन्छन् । अर्कोतर्फ राज्यको भेदभाव र दमनबाट असन्तुष्ट मतदाताहरु निर्वाचनबाट प्रकट भए र नयाँ विकल्प छाने ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ मंसिर ८ गते २०:३१
रञ्जिता श्रेष्ठ, सीके राउत, शिशिर खनाल र हरि ढकाल

८ मंसिर, काठमाडौं। लामो समयदेखि ठूलो दलका गढ र भोटबैंक भनिने क्षेत्रहरुमा यसपटक नयाँ जनप्रतिनिधिको अनुमोदन भएको छ । उही र उस्तै प्रकृतिका अनुहारहरु बारम्बार उम्मेदवारको रुपमा प्रस्तुत भएपछि मतदाताले अन्तत नयाँ र परीक्षण हुन बाँकी उम्मेदवारलाई सहजै विश्वास गरेका छन् । कसरी यस्तो सम्भव भयो होला ? हामीले विभिन्न ९ निर्वाचन क्षेत्रको परिणामलाई लेखाजोखा गरेका छौं ।

काठमाडौं-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २२९ मत सहित निर्वाचित भइन् । क्षेत्र नम्बर २ त्यही ठाउँ हो, जहाँ अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी दीपक कुईकेलले १४ हजार ९०३ मत ल्याएका थिए । यही ठाउँमा पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती उम्मेदवार थिइन् ।

अहिले काठमाडौं–२ मा यी ठूला दलको मत घटेको देखिन्छ । एमाले उम्मेदवार मणिराम फूयालले त्यतिबेलाको तुलनामा आधा भन्दा पनि कम ११ हजार ५५५ मत मात्रै ल्याए । अहिले कांग्रेसले उम्मेदवारी नै दिएन र माओवादी केन्द्रकी ओनसरी घर्तीलाई समर्थन गरेको थियो । त्यतिबेला विवेकशील साझा पार्टी पनि प्रतिनिधिसभामा आउन प्रयत्नशील थियो । विवेकशील साझाका नेता सूर्यराज आचार्यले ७ हजार ४३७ मत पाएका थिए । एमालेसँगको तालमेलका कारण माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

एकाएक आएको राष्ट्रिय स्वतन्त्र पार्टी र उसले उम्मेदवार बनाएको सोविता गौतमले मतदातालाई आफ्नो पक्षमा ल्याइन् । २०७४ सालको आम निर्वाचनमा काठमाडौं–२ मा राप्रपाले आफ्नै अस्तित्व देखाउन नसकेको बेलामा अहिले कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएर तेस्रो भइन् ।

२०६४ सालमा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले एमाले महासचिव माधवकुमार नेपाललाई यही क्षेत्रबाट पराजित गरेका थिए । २०७० मा दिपक कुईकेल निर्वाचित भएका थिए । २०७४ मा नेपाल निर्वाचित भए । ठूला नेताहरुको रोजाइमा पर्ने यो क्षेत्रले यसपटक नयाँ र युवा उम्मेदवारलाई प्रतिनिधिसभामा पुर्‍यायो ।

काठमाडौं-२
२०७९ २०७४
सोविता गौतम (रास्वपा) १५,२२९ माधव कुमार नेपाल (एमालें)  २७,३६६
मणिराम फूयाल (एमाले) ११,५५५ दिपक कुईकेल (कांग्रेस) १४,९०३
कुन्तीदेवी पोखरेल (राप्रपा) ११,०१४ सूर्यराज आचार्य (विवेकशील) ७,४३७
ओनसरी घर्ती मगर (माओवादी) ९,४४९

लेखक एवं काठमाडौं–२ बाट सांसद भइसकेका बामपन्थी विश्लेषक नारायण ढकालको विचारमा काठमाडौंमा पञ्चायतकालीन अवस्थादेखि नै पटकपटक ‘संस्थापन विरुद्धको मानसिकता’ निर्वाचन मार्फत प्रकट हुदै आएको छ ।

‘संस्थापनले जतिसुकै राम्रो र अरु सकारात्मक काम गरेपनि मतदाताले स्वीकार नगरेका कयौं उदाहरण भेटिन्छ’ उनी भन्छन्, ‘पछिल्लो समय राज्यसत्ता सम्हालेका दलहरुले गरेको व्यवहार र अरु क्रियाकलापमाथि जनताले निर्वाचन मार्फत प्रतिक्रिया प्रकट गरेको अर्थ लगाउन सकिन्छ ।’

काठमाडौं–६ मा अघिल्लोपटक १६ हजार ७८५ मत ल्याएर निर्वाचित भीमसेनदास प्रधान योपटक करिव आधामात्रै मत (८ हजार ८०५) ल्याएर तेस्रो स्थानमा रहे । पार्टी एकीकरणको पूर्वसन्ध्यामा अघिल्लो पटक माओवादी केन्द्रका झक्कु सुवेदीलाई समर्थन गरेको एमालेले अहिले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए । एमालेका खनालले अहिले ८ हजार ९११ मतमात्रै ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए । त्यतिबेला विवेकशील साझा पार्टीका रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएकोमा अहिले त्यो मत अन्यत्र बाँडिएको देखिन्छ ।

त्यतिबेला कांग्रेस र माओवादी केन्द्रको करिव ३१ हजार मत थियो । अहिले एमाले उम्मेदवारले करिव ९ हजार मत पाएको छ । त्यतिबेला एमालेले समेत सुवेदीलाई समर्थन गरेकाले करिव १० हजार मत घटाउदा पनि २० हजारभन्दा बढी मतमध्ये प्रधानले करिव ९ हजार मतमात्रै पाए, बाँकी ११ हजार मतदाताले उनीहरुलाई मत दिएनन् ।

त्यसमाथि थप, विवेकशीलका रमेश चिलुवाललाई मत दिएका करिव ४२ सय मतदाताहरु समेत अहिले अन्यत्र छरिए । जसका कारण रास्वपाका खनाललाई १ हजार ४०४ मत ल्याउन सहज भयो ।

काठमाडौं-६
२०७९ २०७४
शिशिर खनाल (रास्वपा) १४,२०४ भीमसेनदास प्रधान (कांग्रेस)  १६,७८५
सर्वेन्द्र खनाल (एमाले) ८,९११ झक्कु सुवेदी (माओवादी) १५,४८५
भिमसेनदास प्रधान (कांग्रेस) ८,८०५ रमेश चिलुवाल (विवेकशील) ४२२५

काठमाडौंमा पञ्चायतकालमा नानीमैया दाहालको आगमन अप्रत्याशित रुपमा भएको थियो । बामपन्थी नेता पदमरत्न तुलाधर पञ्चायतकालमै निर्वाचित भएका थिए । मदन भण्डारी जस्तो युवा नेताले कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका र भट्टराई नै पछि फेरि हालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पराजित भएको उदाहरण पनि छ ।

२०१५ सालको निर्वाचनमा नै कांग्रेसका प्रभावशाली नेता सूर्यप्रसाद उपाध्यायले पराजय भोग्नुपरेको थियो । संविधानसभा निर्वाचिनमा एमाले महासचिव माधवकुमार नेपाल काठमाडौं–२ बाट पराजित भएका थिए ।

‘हाम्रा पुराना दलहरुको विचार र संगठनमा पुनर्संरचनाको आवश्यक छ भनेर म बारम्बार भन्दै आएको छु’ बामपन्थी विश्लेषक ढकाल भन्छन्, ‘दलहरुले आफ्ना कार्यक्रम कहाँ लैजाने र कसरी बनाउने भन्ने टुंगो छैन । उनीहरु लोकरिझ्याईंमा लागेका छन्, त्यसमा मतदाताहरुको विमती देखियो ।’ दलीय संरचनामा क्षमतावान व्यक्ति एकैचोटी फड्को मारेर अघि बढ्नुपर्नेमा त्यसलाई निषेध गर्दा समेत यस्ता प्रतिक्रिया आउने उनी बताउँछन् ।

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर निर्वाचित भए । त्यो ठाउँमा अघिल्लो पटक माओवादी केन्द्रको समर्थनमा एमालेका रामबीर मानन्धर १८ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसले आफ्नो उम्मेदवार नउठाई राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गरेको थियो, जसका कारण उनले १० हजार ७९ मत पाए । विवेकशिलकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन् ।

१८ हजारमध्ये अहिले पनि करिव ७ हजार मत कायम रहेकाले एमालेले पाएको त्यतिबेलाको ११ हजार मत अहिले अन्यत्र बाँडिएको देखिन्छ । अहिले राप्रपाका ध्रुवबिक्रम मल्लले २ हजार ८६३ मतमात्रै ल्याएका थिए । त्यतिबेला राप्रपामा मत दिएका करिव ७ हजार मतदाताले अरु उम्मेदवारलाई समर्थन गरे । त्यतिबेलाका दुई ठूला दलमा मत खसाले पनि अहिले विकल्प खोजिरहेका मतदातालाई आकर्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै कठिनाइ भएन, पराजुलीले सहजै जित हात पारे । सम्भवतः निर्वाचित हुने भनी ठानिएकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमात्रै पाइन् ।

काठमाडौं-७
२०७९ २०७४
गणेश पराजुली (रास्वपा) ८,७४३ रामवीर मानन्धर (एमाले) १८,१०२
श्यामकुमार घिमिरे (एमाले) ६,८०० विक्रम बहादुर थापा (राप्रपा) १०,०७९
मानुषी यमी भट्टराई (माओवादी) ६०६३ अनुपा श्रेष्ठ (विवेकशील) ५,३७६

काठमाडौं–८ मा अघिल्लोपटक १३ हजार ३९७ मत पाएर निर्वाचित भएका जीवनराम श्रेष्ठले पार्टी विभाजनको क्षतिको आँकलन नै गर्न सकेनन् । उनले त्यतिबेलाकै मतको तुलनामा करिव ९ हजार मत गुमाए ।

अघिल्लोपटक करिव १३ हजार मत पाएका नवीन्द्रराज जोशी (दिवंगत) को ठाउँमा कांग्रेस शुभचिन्तक मतदाताले कोही राम्रा उम्मेदवार खोजेका थिए, पाएनन् । वाम विश्लेषक ढकाल भन्छन्, ‘ठूला दलहरु उमेर, विचार र चरित्रले जीर्ण भएका छन् । पुनर्गठनको आवाज सुनुवाइ हुनुपर्छ ।’

विवेकशील साझाका पुकार बमले पाएको ४ हजार ४१४ मत पनि ठूलो हिस्सा थियो । जीवनरामले गुमाएको ९ हजार सहित अघिल्लोपटक ठूला दलहरुमा खसेको करिव २६ हजार मत नयाँ अनुहार खोज्न तयार भएर बसेको थियो । विवेकशील साझाबाटै प्रदेश सांसद भएर राम्रो छाप छाडेका विराजभक्त श्रेष्ठले काठमाडौं–८ मा उम्मेदवारी दिए ।

काठमाडौं-८ मा उदाएका दुई नयाँ उम्मेदवारले मात्रै १६ हजार मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले १० हजार मत पाएर निर्वाचित भए । गत वैशाखको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार भइसकेका सुमन सायमी हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर लडे र ६ हजार १७४ मत लाए । यी दुवै जना त्यस क्षेत्रमा नयाँ अनुहार हुन् ।

काठमाडौं-८
२०७९ २०७४
विराजभक्त श्रेष्ठ (रास्वपा) १०,१०६ जीवनराम श्रेष्ठ (एमाले) १३,३९७
सुमन सायमी (हाम्रो नेपाली पार्टी) ६,१७४ नविन्द्रराज जोशी(कांग्रेस) १२,९५३
जीवनराम श्रेष्ठ (एकीकृत समाजवादी) ४२६६ पुकार बम (विवेकशील) ४,४१४

ललितपुर–३ मा अघिल्लो निर्वाचनमा २४०३६ मत सहित निर्वाचित माओवादी केन्द्रकी नेता पम्फा भुसालले यसपटक त्यसको तुलनामा करिव एक तिहाइ मतमात्रै टिकाउन सकिन् । कांग्रेस उम्मेदवार मदन अमात्यले ल्याएको २२ हजार ३२८ मत अहिले उम्मेदवार नभएका कारण अन्यत्र बाँडियो ।

त्यतिबेला एमालेसँगको सहकार्यमा कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरेकी भुसाल अहिले आफ्ना पुराना प्रतिस्पर्धीसँगको सहकार्यमा एमालेसँग प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

त्यतिबेलाको तेस्रो विवेकशील साझाका उम्मेदवार उज्वलकृष्ण श्रेष्ठले करिब साढे ९ हजार मत ल्याएका थिए, ती मतदाताले अहिले उपयुक्त विकल्प खोजिरहेका थिए । श्रेष्ठले ल्याएको मतभन्दा रास्वपाकी तोसिमा कार्कीले अहिले तेब्बर मत ल्याएको देखिन्छ ।

त्यतिबेला एमाले सहितको माओवादी केन्द्रसँग कांग्रेसले प्रतिस्पर्धा गरिरहेको बेलामा विवेकशिल साझा पार्टी आफूलाई नयाँ राजनीतिक शक्तिको रुपमा उभ्याउने प्रयत्न गरेको थियो । मतदाताको एउटा ठूलो हिस्सा विकल्पको खोजी गरिरहेको बुझ्न कठिन देखिदैन ।

शुरुमा चर्चामा नआएकी तर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको चर्चा र उनीमाथिको सहानुभूति एकाएक बढ्यो । उनी विहीबार विहान ३१ हजार ११६ मत ल्याएर निर्वाचित भइन् । उनले ल्याएको मत अहिलेका निकटतम प्रतिस्पर्धीको दोब्बर त हुदै हो, यसअघि निर्वाचित भुसालको मतको तुलनामा करिव ८ हजार बढी हो ।

ललितपुर-३
२०७९ २०७४
तोसिमा कार्की (रास्वपा) ३१,११६ पम्फा भूसाल (माओवादी) २४,०३६
अमृत खड्का (एमाले) १२,९६३ मदन अमात्य (कांग्रेस) २२,३२८
पम्फा भूषाल (माओवादी) ८,७६९ उज्वलकृष्ण श्रेष्ठ (विवेकशील) ९,४५९

राज्यबाट विभेद भएको ठान्ने समुदायले समेत मतमार्फत नयाँ नेतृत्वको उदय हुने गरेको छ । थरुहटको आवाजलाई राज्यले सम्बोधन गर्न नसकेको र त्यसको प्रतिक्रियामा नागरिक उन्मुक्ती पार्टीको उदय भएको बाम विश्लेषक नारायण ढकाल बताउछन् । मधेशवादी दलहरुमाथि भरोसा नभएपछि मतदाताले जनमत पार्टीलाई यसपटक मत दिएका छन् ।

सप्तरी–२ मा अघिल्लोपटक संघीय समाजवादी फोरमबाट उपेन्द्र यादवले २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए । संविधान निर्माणका क्रममा मधेशको असन्तुष्टी बोक्ने प्रतिनिधिका रुपमा उनको ‘हाइहाइ’ थियो । तर यो अवधिमा उनले निकै उतारचढाव बेहोरे, अनेक पार्टी जोडे, फुटाए । उनीप्रति आशा गरेको मत नयाँ अनुहारतिर फर्केको देखिन्छ ।

अहिले उनले ल्याएको मतभन्दा करिव १४ हजार मत ल्याएर मधेशका किसानको मुद्दा उठाउने जनमत पार्टीका सीके राउत निर्वाचित भए । राउतले उठाएका कतिपय मागलाई मधेशका जनताले अपनत्व बोध गरेको बुझ्न सकिन्छ । यादवले अहिले करिव १७ हजार मतमात्रै पाए । यादवको पराजय र राउतको अनुमोदनलाई कतिपयले मधेशमा नयाँ शक्तिको उदयको रुपमा लिएका छन् ।

सप्तरी-२
२०७९ २०७४
सिके राउत (जनमत पार्टी) ३५,०४२ उपेन्द्र यादव (संघीय माजवादी  फोरम) २१,६२०
उपेन्द्र यादव (जसपा) १६,९७९ उमेश कुमार यादव (माओवादी) ११,५८०
जयप्रकाश ठाकुर (लोसपा) ७,३४७ जय प्रकार ठाकुर (स्वतन्त्र) ९,४५९

चितवन–२ मा अघिल्लोपटक एमालेका कृष्णभक्त पोखरेलले ल्याएको ४४ हजार ६७० मतभन्दा करिव ५ हजार मत बढी ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए । लामिछानेले ४९ हजार २६१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले एक तिहाइभन्दा पनि कम मत ल्याए । पोखरेलले अघिल्लो वर्षको तुलनामा करिव ३० हजार मत गुमाएका थिए ।

अघिल्लोपटक कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीले २७ हजार मत पाएकोमा यसपालि उमेश श्रेष्ठले करिव १२ हजार कम मत पाए । एमाले र कांग्रेसले अघिल्लोपटक पाएको ४२ हजार मत अहिले ती दलको विश्वासबाट बाहिरिएको देखिन्छ ।

त्यो मत लामिछानेले पाएको अनुमान गर्ने हो भने उनले थप ७ हजार मत अरु मतदाताहरुबाट आकर्षित गर्न सफल भए । दुई निकटतम प्रतिस्पर्धीको मत जोड्दा समेत लामिछानेले ल्याएको मतभन्दा कम देखिन्छ ।

चितवन-२
२०७९ २०७४
रवि लामिछाने (रास्वपा) ४९,२६१ कृष्णभक्त पोखरेल (एमाले) ४४,६७०
उमेश श्रेष्ठ (कांग्रेस) १५,०९९ शेषनाथ अधिकारी(कांग्रेस) २७,३१४
कृष्णभक्त पोखरेल (एमाले) १४,६४९ भुपेन्द्र बस्नेत (विवेकशील) १२,४५

थरुहट आन्दोलनका क्रममा राज्य संयन्त्रबाट थारुहरुमाथिको दमनको प्रतिवादमा पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको उदय भएको हो । कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले पाएको २३ हजार १२० मतलाई अघिल्लो पटकका विजेताको तुलनामा खासै फरक होइन । तर त्यो मत उक्त दलले उठाएको एजेण्डाको अनुमोदन हो भन्न सकिन्छ ।

चौधरीका निकटतम प्रतिस्पर्धीहरु कम मतमा खुम्चिए । अघिल्ला ेपटक निर्वाचित माओवादी केन्द्रका गौरीशंकर चौधरी अहिले एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनले अघिल्लोपटक २४ हजार ८७९ मत पाएकोमा अहिले करिव १५ हजार कम मत पाए । माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मतमात्रै ल्याए ।

कैलाली-३
२०७९ २०७४
गंगाराम चौधरी (नाउपा) २३,१२० गौरी शंकर चौधरी (माओवादी) २४,८७९
कुष्ण कुमार चौधरी (माओवादी) १७,७४९ रामजनम चौधरी (कांग्रेस) २०,४९४
गौरी शंकर चौधरी (एमाले) ९,८७४ मिना चौधरी(राजपा) ४,०४४

बर्दिया–२ बाट स्वतन्त्र हैसियतमा निर्वाचित भएपनि लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको समर्थन पाए । आफ्नो उम्मेदवारी खारेज हुनसक्ने ठानेर रेशम चौधरीले आफ्ना बाबुलाई उम्मेदवार बनाएका थिए । रेशमकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले अहिले उक्त पार्टीको नेतृत्व गरिरहेकी छन् ।

निर्वाचन आयोगबाट उम्मेदवारी खारेजीपछि नाउपाले लालविरलाई नै समर्थन गरेको थियो । अघिल्लोपटक माओवादी कन्द्र र कांग्रेसका उम्मेदवारबीच बाँडिएको करिव ८७ हजार मत यो पटक पाँचवटा दलमा बाडिएको देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टीसहित माओवादी र एमालेपछि राप्रपाका विनय रावलले १३ हजार २९२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ओम प्रकाश बसौलाले ३ हजार ८९१ मत पाएका छन् । यसपटक लालवीरले करिव डेढ सय मतान्तरले निर्वाचित भए ।

बर्दिया-२
२०७९ २०७४
लालवीर चौधरी (नाउपा) २६,५२० सन्तकुमार थारु (माओवादी) ५०,५५५
सुरेश पन्थ (माओवादी) २६,३८४ गोपाल दहित (कांग्रेस) ३६,७३५
पंकज सिंह राठौर (एमाले) १६,०१० मोहन चौधरी (नयाँ शक्ति) ४५६

बढ्दो भ्रष्टाचार र बेथिति, दैनिकी निर्वाहका लागि गर्नुपर्ने अथक परिश्रम र न्यून प्रतिफलले जनतालाई दिग्दार बनाएको हुन्छ । मतदाता त्यसको प्रतिक्रिया व्यक्त गर्ने उपयुक्त अवसरको पर्खाइमा हुन्छन् । त्यसैले गर्दा पञ्चायत विरोधी र २०६२-६३ को आन्दोलनले निषेध गरेको दल समेत २०७० सालमा प्रकट भएको र यसपटक पनि राप्रपाको आगमन देखिएको ढकाल बताउँछन् ।

‘लोकतन्त्रले दिएको लाभ थोरै मानिसहरुले मात्रै लिए । जनता र नेतृत्वबीचको ठूलो खाडल भयो’ वाम विश्लेषक ढकाल भन्छन्, ‘त्यसले प्रतिक्रिया बढायो र निर्वाचनमार्फत प्रकट भयो ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?