+
+

योगेन्द्र मण्डललाई पार्टीले पत्याएन, मतदाताले पत्याए

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर ८ गते २०:१८

८ मंसिर,  विराटनगर । २५ वर्षअघि जीवन विकास समाज लघुवित्त वित्तीय संस्था गठन गर्दा योगेन्द्र मण्डलले गरिबीरहित नेपालको परिकल्पना गरेका थिए । सोही परिकल्पनालाई पछ्याउन थालेको २५ वर्षपछि उनी मोरङ-५ बाट स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

बिहीबार सार्वजनिक मत परिणाम अनुसार मण्डल २१ हजार ८२० मत पाएर विजयी भए । पराजित भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाए । तेस्रो स्थानमा रहेका एमाले-जसपा गठबन्धनका राजकुमार यादवले १७ हजार ३९० मत पाए ।

२०५४ सालमा तत्कालीन अमाही वरियाती गाविस (हाल धनपालथान गाउँपालिका-२) मा स्थापना गरेको जीवन विकास लघुवित्त २४ जिल्लामा फैलिएको छ । लघुवित्तमा तीन लाख भन्दा बढी सदस्य जोडिएका छन् ।

लघुवित्तसँगै कृषि, खानेपानी, दुग्धजन्य वस्तु, स्वास्थ्य र शिक्षा क्षेत्रको व्यवसाय गरिरहेका उनले दुई हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । लघुवित्त र अन्य व्यवसाय मार्फतमार्फत गरिबी निवारणमा योगदान गरेको उनको भनाइ छ । जनताको जीवनस्तर उकास्नका लागि नीतिगत तहमा पुगेर काम गनुपर्ने भएका कारण राजनीतिमा आएको मण्डल बताउँछन् ।

‘कुनै कुराको रिजल्ट दिनलाई पहिला नियत चाहिन्छ, नियतले भिजन बनाउँछ, भिजनले क्रियाकलाप बनाउँछ, नियत राम्रो भयो भने सोच पनि राम्रो हुन्छ,’ उनले भने, ‘नीति परिवर्तन हुनुपर्छ, जनताको आधारभूत आवश्यकता पूरा गर्न काम गर्छु ।’

लघुवित्त क्षेत्रमा सफलता पाएपछि उनी नेकपा एमालेबाट राजनीतिमा आए । २०७४ सालको निर्वाचनपछि नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर-५ केन्द्रित राजनीति सुरु गरेका उनी यो पटक टिकटको दाबेदार थिए । तर जनता समाजवादी पार्टीसँग तालमेल गरेको एमालेले यो क्षेत्र जसपाका राजकुमार यादवलाई छाड्यो ।

प्रतिनिधिसभा चुनावमा उठ्नकै लागि पाँच वर्षदेखि निर्वाचन क्षेत्र केन्द्रित भएर काम गरिरहेका उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए । घरदैलोमा उनले २५ वर्षयता आफूले गरेको काम र गरिबी निवारण गर्ने एजेण्डा सुनाए । मण्डलको चुनावी अभियानमा जीवन विकास लघुवित्तका सदस्य र सहयोगीहरु पनि सहभागी भए । दलका असन्तुष्ट कार्यकर्ता पनि उनीसँग थिए । लघुवित्तका सहयोगी र दलका असन्तुष्टको सहयोगमा उनले चुनाव जिते ।

चापाकल चुनाव चिह्नबाट चुनाव जितेका उनी आफू स्वतन्त्र हैसियतमै रहने बताए । ‘मेरो जितको कारण २५ वर्षदेखि यो क्षेत्रमा निरन्तर गर्दै आएको समाजसेवा हो,’ निर्वाचित भएपछि उनले भने, ‘पार्टीलाई, गठबन्धनलाई जनताहरुले नकारिसके, जालझेल बुझिसके ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?