+
+

मोरङमा अमनलालले मिलाएको हिसाब

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर ९ गते १३:३१

९ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले ३७ वर्षमै संसद प्रवेशमा ह्याट्रिक’ पूरा गरेका छन् । २८ वर्षको उमेरमा २०७० सालको संविधानसभा चुनाव जितेका मोदीले त्यसपछि २०७४ सालमा पनि चुनाव जितेका थिए ।

लगातार तीन पटक संसदमा प्रतिनिधित्व गर्ने ४० वर्षमुनिका नेता मोदीले २०७४ सालको निर्वाचनमा मोरङ-४ बाट कांग्रेस नेता महेश आचार्यलाई हराएका थिए । यसपटक भने आचार्यको पनि सहयोेगमा एमालेका विनोद ढकाललाई पराजित गरे ।

मोदीले ३० हजार ६१२ र ढकालले २४ हजार ४६३ मत पाए । उनीहरुको मतान्तर ६ हजार १४९ छ । राप्रपाका रवि रिजालले ७ हजार ४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नेत्रप्रसाद सिवाकोटीले ५ हजार ३३३ मत पाएका छन् ।

चुनावी अभियानका क्रममा मोदीले आफू ६ हजारदेखि ९ हजारको मतान्तरले चुनाव जित्ने दाबी गरेका थिए । नेकपा एमालेले पनि सहज रुपमा चुनाव जित्ने क्षेत्रमा मोरङ-४ लाई राखेको थियो । किनकि स्थानीय तह निर्वाचनमा यस क्षेत्रका २३ मध्ये १७ वडाध्यक्ष एमालेले जितेको थियो ।

माओवादी उम्मेदवार मोदीले ७ हजार मतले जित्ने दाबी गर्नुको कारण थारु र मधेसी समुदायसँगको आश थियो । उनले वडा तहमा पाउने मतको आँकलन गरेका थिए । ‘केही वडामा हाम्रो आँकलन मिलेन नत्र सबैतिर हाम्रो आँकलन मिल्यो,’ माओवादीका नेता ताजिम अन्सारीले भने ।

मोरङ-४ (१) बाट कांग्रेस नेता गुरुराज घिमिरेलाई एमालेका जयप्रकाश चौधरीले पराजित गरे । चौधरीले १५ हजार ४६४ र घिमिरेले १५ हजार ६० मत पाए । मोरङ-४ (२) बाट कांग्रेसका भीम पराजुली ११ हजार ४८९ मत ल्याएर निर्वाचित हुँदा एमालेका जीवन घिमिरे ९ हजार ६६१ मत ल्याएर पराजित भए ।

संघर्षबाट राजनीतिमा

सामान्य परिवारका अमनलालले सात वर्षको छँदा बाबु पवनलाल बितेपछि खान लाउनकै लागि अनेक संघर्ष गरे । स्कुल पढ्नका लागि अनमनलालले अनेकौं अड्चन झेले । दिउँसो स्कुल र बिहान-बेलुका उद्योगमा काम गरेर उनले एसएलसीसम्मको पढाइ पूरा गरे ।

उनकी आमा बालोदेवीले सात छोराछोरीलाई हुर्काउन बनिबुतोसँगै हाटबजारमा आलुचप पनि बेचिन् । बालोदेवीका दुई छोरा र पाँच छोरीमध्ये कान्छा अमनलाल मोदी राजनीतिमा छन् ।

कक्षा ९ मा पढ्दा २०५६ सालमा अमनलाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भए । एसएसलसीपछि उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पढ्दै राजनीति गर्न थाले । पढाइ खर्च जुटाउन होटलहरुमा वेटर र क्लिनरको काम पनि गरे ।

मोदी माओवादीको सशस्त्र युद्धका बेला २०६० सालमा पक्राउ परेका मोदी दुई वर्ष तीन महिना कारागारमा बसे । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद भएका थिए भने २०७४ सालमा मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित भए ।

विकास निर्माण र प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गरेका कारण आफूलाई जनताले पुनः निर्वाचित गराएको मोदी बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?