+
+

दामोदर बैरागी : पहिले वडामै हार, अहिले संसदको यात्रा

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर ९ गते १४:२६

८ मंसिर, पोखरा  । अवसर आएर पनि सफलता आफ्नो पक्षमा पार्न नसक्ने ‘अभागी’ नेताको विम्ब बोकेका थिए एमाले नेता दामोदर बैरागीले । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने चाहना थियो, तर मतदाताले वडा सदस्यमै हराइदिए ।

बैरागी २०७८ सालमा एमालेको कास्की जिल्ला अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँको चेपुवामा परे । कास्की जिल्ला अध्यक्ष पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङले जिते ।

माघ २०७७ मा भूमिसम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्षमा नियुक्त भएका बैरागी शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि ६ महिनामै फालिए । लामो समयदेखि राजनीतिमा सहभागी भएर पनि कुनै लाभको पदमा पुग्न नसकेका बैरागी यसपटक भने प्रतिनिधिसभा सदस्यमा चुनिए ।

यसअघि वडा सदस्यमै पराजित बैरागीलाई यसपटक कास्की क्षेत्र नम्बर ३ का मतदाताले संघीय सांसदमा जिताएका छन् । कर बढाएको भन्दै जनस्तरमा आलोचित गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालप्रति मतदाताको विकर्षण र सत्तारुढ गठबन्धनको असन्तुष्ट पक्षको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाउँदा एमालेका बैरागीले चुनाव जिते ।

बैरागीले २२ हजार ९८० मत ल्याउँदा बरालले १७ हजार ५३५ मत पाए । उनीहरुबीचको मतान्तर ५ हजार ४४५ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा कास्की–३ मा कांग्रेसको दाबी थियो । तर माओवादी केन्द्रले पाएपछि पार्टीभित्र असन्तुष्टि थियो । अर्कोतर्फ शहीदपुत्री अनिता भूर्तेलले बरालकै विरुद्धमा बागी उम्मेदवारी दिएकी थिइन् । उनले उल्लेख्य मत प्राप्त गर्न नसके पनि रामजीका विपक्षमा माहौल बनाउन सहयोगी बन्यो ।

अर्थमन्त्री बराल चुनावी घरदैलोमै रहेका बेला निर्वाचन आयोगले गण्डकी सरकारलाई चुनावको मुखमा घटाइएको करको दर सच्याउन निर्देशन दियो । यसले पनि बराललाई थप दबाबमा पार्‍यो । फलस्वरुप जनस्तरमा बढेको असन्तुष्टिको मत राष्ट्रिय स्वतन्त्र पार्टीले पायो भने एमालेले आन्तरिक असन्तुष्टिको केही मतबाहेक ठूलो जनमत जोगाउन सफल भए ।

अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमालेका जगत विश्वकर्माले चुनाव जितेका थिए । यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय गठबन्धन हुँदा माओवादी केन्द्रक बरालले जित्न सक्ने आँकलन नेताहरुको थियो । तर २०७४ सालमा प्रदेशसभामा बराललाई नै निर्वाचित गराउन खटिएका बैरागीले यसपटक उनलाई नै पराजित गरे ।

मजदुर संगठनको कामबाट राजनीतिमा परिचय बनाएका ५६ वर्षीय बैरागी २०३६ को विद्यार्थी आन्दोलनपछि राजनीतिमा आकर्षित भएका थिए । अनेरास्ववियु (एकता पाँचौं) को सहप्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्ष भएका उनी २०३९ मा नेकपा (माले) मार्फत् कम्युनिस्ट पार्टीमा लागेका हुन् । उनले २०४० देखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमा र करिब तीन वर्ष भूमिगत बनेर पार्टीको काम गरेका थिए ।

२०४५ देखि १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) मार्फत मजदुर आन्दोलनमा सक्रिय उनी २०५३ मा एमाले कास्कीको सदस्य बने । पार्टीका विभिन्न तह र पदमा रहेर काम गरेको बैरागी २०७० मा एमाले कास्कीको सचिव बनेका थिए । अहिले उनी एमालेको गण्डकी संगठन कमिटीको सचिवालय सदस्य छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?