+
+

‘महापुरुष’ले चार सातामा कमायो १० करोड ग्रस, निर्माताले केक काटेर बाँडे खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:४५

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ । प्रदर्शनको ३१ औं दिन शनिबारसम्म फिल्मले १० करोड १४ लाख रुपैयाँ कमाएको हो ।

फिल्मले दुई अंकको कमाइ गरेपछि निर्माताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर सफलताको खुसीयाली मनाए । कार्यक्रममा फिल्मका निर्माता, निर्देशक, कलाकार र प्राविधिक सहभागी थिए । ‘हामीले रेकर्ड तोड्ने उद्देश्यले फिल्म बनाएका होइनौं, मनदेखि बनाएका हौं,’ निर्देशक प्रदीप भट्टराईले भने, ‘फिल्म उद्योग बढ्ने क्रममा छ । महापुरुषको सफलताले त्यही संकेत गर्छ ।’

निर्माता दीपेश म्याक्स खत्रीले दर्शकलाई मनोरञ्जन दिने खालका फिल्म सफल हुने बताए । ‘राम्रा फिल्म बनाउँदा व्यापार पनि हुन्छ र भविष्य पनि बन्छ,’ उनले भने, ‘स्तरीय फिल्मलाई दर्शकले साथ दिन्छन् भन्ने प्रमाणित भएको छ ।’

अहिले अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले छोरा मोहितवंशमार्फत दर्शकलाई धन्यवाद दिए । ‘बुवा अमेरिका जानै मान्नुभएको थिएन । हलमा चलेको दुई दिनमै उहाँ त्यता लाग्नुभयो । अहिले पनि दैनिक कुरा हुन्छ र आधा विषय महापुरुष नै हुन्छ,’ उनले भने ।

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले महापुरुषको सफलतामा दर्शकसहित पर्दा पछाडि बसेर साथ दिने प्राविधिकको योगदान रहेको बताए । अभिनेता राजाराम पौडेलले नेपाली कला, संस्कृति र धर्मलाई नेपालीले नै बचाउनुपर्ने बताए ।

प्रौढ पुरुषको एक्लोपन र पुनर्विवाहको कथा प्रस्तुत गर्ने फिल्म चुनाव र विश्वकप फुटबलको माहोलमा पनि अहिले राम्रै अकुपेन्सीसहित चलिरहेको छ । फिल्ममा हरिवंशसहित गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको प्रमुख अभिनय छ ।

षट्कोण आर्ट्सले यसपछि फिल्म महाजात्रा निर्माण गर्ने जनाएको छ । यो ब्यानरकै अर्को फिल्म ‘डाकिनी’ पनि प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?