+
+

प्रदेश १ प्रतिनिधिसभा : कुन दलको अवस्था कस्तो ?

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर १२ गते ८:१०

१२ मंसिर, विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ ।

सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ । सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैत बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

२०७४ सालमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेले प्रदेश १ मा १६ वटा क्षेत्र जितेको थियो । जसपा र राप्रपासँग तालमेल गरेको एमालेले यो पटक १२ वटा सिट जितेको छ ।

२०७४ सालमा ६ सिट जितेको माओवादी केन्द्र तीन सिटमा खुम्चिएको छ । पाँच वर्ष अघि पाँच वटा क्षेत्र जितेको नेपाली कांग्रेसले यो पटक ७ वटा क्षेत्रमा विजयी भएको छ । जसपा, राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक क्षेत्रमा विजयी भएका छन् ।

कसले कहाँ जिते ?

ताप्लेजुङमा एमाले उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन् । २०७४ सालमा पनि उनी नै विजयी भएका थिए । पाँचथरमा पुनः एमाले उम्मेदवार बसन्त नेम्वाङ विजयी भएका छन् ।

इलाम १ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित हुँदा इलाम २ मा एमालेका सुवास नेम्वाङ झिनो मतअन्तरले विजयी भए । २०७४ सालमा इलाम १ बाट खनाल विजयी भएका थिए ।

झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा विजयी भए । यसअघि सो क्षेत्रबाट माओवादी नेता राम कार्की विजयी भएका थिए । झापा २ बाट एमाले उम्मेदवार देवराज घिमिरे विजयी भए । यसअघि सो क्षेत्रबाट एमाले नेता पवित्रा खरेल निर्वाचित भएकी थिइन् ।

झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भए । २०७४ सालको निर्वाचनमा कृृष्णप्रसाद सिटौलालाई पराजित गरेका उनले यो पटक पनि सिटौलालाई नै हराए ।

झापा क्षेत्र नम्बर ४ मा एलपी सावा र झापा ५ मा केपी शर्मा ओली निर्वाचित भए । २०७४ सालको निर्वाचनमा पनि दुवै उम्मेदवार विजयी भएका थिए ।

मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ मा कांग्रेसका डाक्टर सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी, क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ मा कांग्रेसका डाक्टर शेखर कोइराला निर्वाचित भए ।

२०७४ सालमा क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडा, २ मा कांग्रेसका मिनेन्द्र रिजाल, ३ मा एमालेका भानुभक्त ढकाल, ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल र ६ मा एमालेका लालबाबु पण्डित निर्वाचित भएका थिए ।

संखुवासभामा कांग्रेस उम्मेदवार दीपक खड्का निर्वाचित भए । यसअघि सो क्षेत्रबाट एमालेका राजेन्द्र गौतम निर्वाचित भएका थिए । तेह्रथुमबाट कांग्रेस नेता सीता गुरुङ निर्वाचित भइन् । यसअघि सो क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ निर्वाचित भएका थिए ।

भोजपुरमा माओवादी केन्द्रका सुदन किराती दोहोरिएका छन् । धनकुटामा एमाले नेता राजेन्द्र राई नै पुनः दोहोरिएका छन् ।

सोलुखुम्बुमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भए । यसअघि माओवादी केन्द्रका हेमकुमार राई निर्वाचित भएका थिए ।

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई प्रतिनिधिसभा सदस्य निर्वाचित भए । सो क्षेत्रबाट २०७४ सालमा एमाले उम्मेदवार विशाल भट्टराई निर्वाचित भएका थिए ।

ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भए । एउटा निर्वाचन क्षेत्र रहेको सो जिल्लामा यसअघि एमाले नेता यज्ञराज सुनुवार निर्वाचित भएका थिए ।

उदयपुर क्षेत्र नम्बर २ यसअघि माओवादी केन्द्रका नेता सुरेशकुमार राई निर्वाचित भएका थिए । यो पटक एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भए । सो क्षेत्र यो पटक माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडालाई छाडेको थियो ।

सुनसरी क्षेत्र नम्बर १ मा जसपा नेता अशोक राई १७ हजार ५९ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाइन् । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका जयकुमार राई अशोक राईलाई हराएर विजयी भएका थिए ।

सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् । २०७४ सालमा सो क्षेत्रबाट कांग्रेस नेता सीताराम मेहता निर्वाचित भएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?