+
+

वेडिङ फोटोग्राफी कसरी गराउने, कति लाग्छ खर्च ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १७:५६

काठमाडौं । विवाह जीवनको सबैभन्दा सुन्दर क्षण हो । हरेक बेहुला, बेहुली र उनीहरूको परिवारको लागि विवाह महत्त्वपूर्ण हुन्छ । विवाहको हरेक कुराको महत्त्व हुन्छ । वैवाहिक समारोहका हरेक क्षणलाई जीवनभरका लागि सँगालेर राख्नका लागि फोटो र भिडियोग्राफीको चलन छ ।

विगतमा पनि विवाहको भिडियो बनाउने, फोटो खिच्ने प्रचलन नभएको होइन । तर अहिले यसको प्रयोग अरू व्यापक र रचनात्मक हुन थालेको छ ।

नेपालमा अहिले वेडिङ फोटोग्राफीको प्रचलन बढ्दो छ । विवाहमा अरू केही कुराको कमी भए पनि फोटोग्राफी चाहिं राम्रो हुनुपर्छ भन्ने किसिमको ट्रेन्ड भित्रिएको वेडिङ फोटोग्राफर विक्रम न्यौपाने बताउँछन् । ‘विवाहको मिति तय हुने बित्तिकै राम्रो वेडिङ फोटोग्राफरको खोजी गर्ने बुक गर्ने चलन छ,’ उनी भन्छन् ।

प्रि वेडिङ (विवाहभन्दा अगाडि) फोटो सुट, पोस्ट वेडिङ (विवाहपछि गरिने) फोटो सुट र विवाहको दिन खिचिने फोटो र भिडियो सुट गरेर तीन पटक फोटो-भिडियो खिच्ने चलन अहिले बढी प्रचलित रहेको न्यौपाने बताउँछन् ।

पछिल्लो समय वेडिङ फोटोग्राफीमा बेहुला र बेहुलीलाई मात्र ध्यान दिएर फोटो भिडियो खिच्ने गरिन्छ । पारिवारिक जमघट, कला संस्कृति झल्किने फोटो सुटभन्दा पनि बेहुला र बेहुलीलाई मोडल बनाएर फोटो सुट गर्ने ट्रेन्ड रहेको उनी बताउँछन् ।

वेडिङ फोटोग्राफीका लागि दुलहा-दुलहीले तयारी गर्नुपर्छ

वेडिङ फोटोग्राफीका लागि दुलहा-दुलहीले सबैभन्दा पहिले त आफ्नो विवाह मिति तय हुने बित्तिकै राम्रो फोटोग्राफरलाई बुक गर्नुपर्छ । नेपालमा एउटै लगनमा धेरै विवाह हुने भएकोले फोटोग्राफरको अभाव पनि हुन सक्छ । त्यसैले चाँडै बुक गर्नुपर्ने न्यौपाने बताउँछन् ।

प्रि वेडिङ र पोस्ट वेडिङ फोटो सुट गर्ने हो भने त्यसका लागि ठाउँ रोज्नुपर्छ । फोटो भिडियो सुटको लागि राम्रो ठाउँको छनोट गरियो भने फोटो भिडियो पनि त्यही अनुसार राम्रो आउने उनी बताउँछन् ।

‘सबै कुरामा फोटोग्राफरको भर पर्नु हुँदैन । दुलहा-दुलहीलाई फोटोग्राफी र मोडलिङको बारेमा धेरै जानकारी हुँदैन । त्यसैले फोटोग्राफरले पोज सिकाइहाल्छन् भनेर ढुक्कले बस्नु भन्दा इन्टरनेट मार्फत केही विदेशी तथा नेपालीको फोटो हेरेर आफूलाई सुहाउने केही पोज सिक्दै गर्नुपर्छ,’ न्यौपाने सुझाउँछन् ।

दुलहा-दुलहीले कस्तो ड्रेस लगाउने भनेर पहिल्यै सल्लाह गर्नुपर्छ । अलग-अलग ड्रेसमा फोटो खिच्ने हो भने अतिरिक्त ड्रेस पनि साथमा लिएर जानुपर्छ । फोटो अलि रोमान्टिक आओस् भन्ने चाहना छ भने फूल, छाता, बेलुन लगायत सामग्री पनि साथमा लानुपर्ने न्यौपाने बताउँछन् । ‘दुलहा र दुलही आफ्नो कला संस्कृति झल्किने फोटो खिच्ने तयारी गर्नुपर्छ । कला संस्कृति रीतिरिवाज झल्किने फोटो सुट गर्दा अर्को पुस्ताले पनि त्यो फोटो भिडियो हेरेर केही कुरा सिक्न सकोस्,’ उनी भन्छन् ।

विवाहको कुनै पनि समारोह क्यामरामा कैद हुन नछुटोस् भन्नेमा दुलहा-दुलहीले पनि ध्यान दिनुपर्छ । स्वयंवर गरेको, सिन्दूर हालेकोदेखि लाभा भुटेको र जुत्ता लुकाएको हरेक कुरालाई खिच्न फोटोग्राफरलाई सहयोग गर्नुपर्ने न्यौपाने बताउँछन् ।

वेडिङ फोटोग्राफीका लागि बेस्ट आइडिया    

वेडिङ फोटोग्राफीलाई राम्रो बनाउन सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संस्कार र संस्कृति झल्किने खालको तस्वीर हो । त्यो तस्वीर अर्को पुस्ताले हेरेर संस्कार र रीतिरिवाजबारे सिक्ने मौका पाउँछन् ।

फोटो र भिडियोमा केही क्याप्सन पनि राख्नुपर्छ । जसले सम्बन्ध, प्रेमकथा र रीतिरिवाजलाई पनि व्याख्या गरोस् । भिडियोमा संगीत र गीत मात्र भन्दा पनि परिवारका सदस्यहरुको कुरा भावना पनि समेट्नु पर्ने न्यौपाने सुझाउँछन् ।

फोटोग्राफीमा लाइटिङको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले तस्वीरलाई थप आकर्षक बनाउन पृष्ठभूमिमा कस्तो कलर तथा लाइट राख्ने, कस्तो कलरको कपडा लगाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

सबै जना विवाहित जोडीसँग एक अविस्मरणीय तस्वीर लिन चाहन्छन् । त्यसैले सबैलाई समय दिन भ्याइँदैन भने समूहमा सुट गर्नु राम्रो हुन्छ । क्यामेरामा सबै अतिथिहरूलाई कैद गर्ने प्रयास गर्नुपर्छ ।

न्यौपाने भन्छन्, ‘प्रि वेडिङ फोटो सुट गरियो भने रिसेप्सनको दिनमा त्यो फोटो र भिडियो तथा बेहुला-बेहुलीको लभ स्टोरीलाई प्रोजेक्टर मार्फत पहुनाहरुलाई पनि देखाउन सकिन्छ । जसले विवाहको माहौललाई झन् रमाइलो बनाउँछ ।’

फरक कसरी गर्ने ?

एउटै समुदाय हुँदा विवाह गर्ने विधि र प्रकृति एउटै हुने नै भयो । त्यसमा फोटोग्राफी र भिडियोग्राफी पनि एकैखालको हुन्छ । तर त्यसलाई फरक बनाउन मौलिकतालाई विशेष ध्यान दिन सकिन्छ । अरूले जे गर्‍यो त्यसलाई नक्कल गर्दा एकै खालको तस्वीर नै आउने न्यौपाने बताउँछन् ।

‘आफ्नो मौलिकता झल्किने खालको फोटो भिडियो खिचियो भने त्यो अलि फरक हुन्छ । अहिले मेहेन्दी हल्दी लगाउने र फोटो खिच्ने चलन छ त्यो हाम्रो संस्कृति हैन । विवाहको अघिल्लो दिन नानीमुखी श्राद्ध गर्ने हाम्रो परम्परा हो,’ उनी भन्छन्, ‘त्यसैले अरूको नक्कल गर्ने भन्दा पनि आफ्नो रीतिरिवाजलाई प्राथमिकता दिइयो भने फोटो भिडियो अरूको भन्दा फरक आउँछ ।’

वेडिङ फोटोग्राफीको न्यूनतम खर्च कति ?

वेडिङ फोटो सुट मात्र गर्ने हो भने एक दिनको न्यूनतम शुल्क १० हजार रुपैयाँ लाग्छ । फोटो र भिडियो खिच्दा एक दिनको न्यूनतम खर्च २५ हजार रुपैयाँ पुग्छ । वेडिङ फोटोग्राफीको लागि एकै किसिमको खर्च हुँदैन । फोटोग्राफरको अनुभव दक्षता, कति दिन सुट गर्ने र के के सुविधा लिने त्यसअनुसार खर्च फरक पर्न पर्ने न्यौपाने बताउँछन् । एक दिनको उच्चतम मूल्य १ लाख ५० हजारसम्म पनि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?