+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिगानाका सुन्तला बोटबाटै बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:१२

१४ मंसिर, बागलुङ । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका-८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे ।

सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् ।

केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान रु २ लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् भने अर्का किसान लेखनाथ गौतमले रु एक लाख ८० हजारमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गरे ।

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यसपटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए । उनले गतवर्ष रु तीन लाखको सुन्तला बिक्री गरेकामा यसवर्ष रु चार लाखको सुन्तला बिक्री गर्ने लक्ष्यमा छिन् ।

उनका अनुसार यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफै टिपेर बिक्री गर्ने गरेका छन् । ‘यसवर्ष केही नयाँ सुन्तलाका बिरुवाले उत्पादन दिए, सुन्तलामा औंशा कीराको प्रभाव कम देखियो गत वर्षको तुलनामा’, खड्काले भने, ‘१५ क्विन्टल सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेको छु, मूल्य राम्रो पाएपछि बिक्री गर्ने हो, अरु सुन्तला टिपेर सिधैँ पोखरा पठाउने लक्ष्य छ ।’

खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधैँ यहाँ आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् । सुन्तला उत्पादनको आधा आफै टिपेर पोखरा पुर्‍याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताए । उनको सुन्तला बगैँचामा दुई बोटमा लटरम्म सुन्तला पाकेका छन् ।

आफै टिपेर पोखरा पुर्‍याउँदा नाफा बढी हुने उहाँको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताए । ‘बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो रु ४० देखि ४५ पर्न जान्छ, आफै टिपेर लैजादा प्रतिकिलो ५० पर्न जान्छ’, उनले भने, ‘सुन्तलाका राम्रो दानालाई पोखरामा अहिले प्रतिकिलो रु एक सय ४० पर्न जान्छ, ढुवानी गर्नमै धेरै रकम खर्च हुन्छ, सुन्तला टिप्नेको ज्याला बढ्यो, तर सुन्तलाको मूल्य किसानको बगैँचामा बढेन ।’

सिगानाका किसानले सुन्तला बिक्रिबाटै वार्षिक रुपमा रु दुईदेखि तीन करोड भित्र्याउँदै आएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् ।

सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यस वर्ष २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ भने सिगानामा राम्रो फल दिने १३ हजारभन्दा बढी बोट रहेका छन् ।

पाँच वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले वर्सेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ । उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निर्वतमान वडाध्यक्ष राजन जिसीले जानकारी दिए । सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन् ।

अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?