+
+
समानुपातिक मत विश्लेषण :

निरन्तर खुम्चिँदो माओवादीको जनाधार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते ९:४५

१८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणनाको सुरुवाती रुझानमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पनि पछाडि रह्यो । मत गणना अन्तिमतिर पुग्दा माओवादीले प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि तेस्रो स्थान त सुरक्षित गरेको छ, तर अघिल्लो पटकभन्दा कम मत पाएको छ ।

यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६१ हजार ९९२ मत पाएको छ, जुन कूल सदर मतको ११.१७ प्रतिशत हो । अर्थात यो हालसम्मका चुनावमा माओवादी केन्द्रले पाएको सबभन्दा कम मत हो ।

शान्ति प्रक्रियामा आएसँगै पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट जितेको माओवादीले समानुपातिकतर्फ पनि ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । तर त्यसलाई जोगाउन सकेन । दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीले १४ लाख ३९ हजार ७२६ अर्थात १५.२१ प्रतिशत मत पायो ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादीले १७.६ प्रतिशत (वडाध्यक्षका उम्मेदवारले पाएको आधारमा) मत पायो भने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १३.६६ प्रतिशत अर्थात १३ लाख ३ हजार ७२१ कूल सदर मत पाएको थियो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको मत १३ प्रतिशतमा झर्‍यो । अहिले नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गर्दा पनि माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको छ भने समानुपातिकतर्फ उसको मत पहिलेभन्दा घटेर ११.१७ प्रतिशतमा आइपुगेको छ । शनिबारदेखि चुनावी नजिताको समीक्षाका लागि छलफलमा जुटेको माओवादी केन्द्रका उपमहासचिव मातृका यादव भन्छन्, ‘हामी निरन्तर सत्ताधारी भयौं । तर जनताको जुन अपेक्षा थियो, त्यो पूरा गर्न सकेनौं ।’

कहाँ घट्यो ? कहाँ बढ्यो ?

हाल गणना भइरहेको दोलखा र बाजुराबाहेकका जिल्लाको समानुपातिक मत विश्लेषण गर्दा ७४ मध्ये ४७ जिल्लामा माओवादीको जनाधार खस्किएको देखिन्छ । बाँकी जिल्लामा भने धेरथोर मत वृद्धि भएको छ ।

माओवादीको सबैभन्दा धेरै मत घटेको मनाङमा छ । २०७४ मा उसले त्यहाँ १४३० मत अर्थात कूल समानुपातिक सदर मतको ३४.७ प्रतिशत मत पाएको थियो । यो पटक जम्मा १३३ पाएको छ, जुन सदर मतको २.६ प्रतिशत हो । अर्थात यहाँ माओवादीको जनाधार ३२.१ प्रतिशत विन्दुले घटेको छ ।

माओवादीले आफ्नो पकड क्षेत्र भन्ने गरेको रुकुम पूर्व, बर्दिया लगायतका जिल्लामा समेत उलेख्य मत घटेको छ । रुकुम पूर्वमा अघिल्लो पटक ८ हजार ८९१ मत पाएको थियो, यो पटक मतदाता थपिँदा पनि घटेर ८ हजार २७१ मा आएको छ । कूल सदर मतमा उसको हिस्सा १२.६ प्रतिशत घटेको छ ।

अर्घाखाँचीमा अघिल्लो पटक १४ हजार ९६२ मत पाएको माओवादीले यो पटक ७ हजार ३४२ मात्र पाएको छ । यहाँ लामो समय पार्टीमा रहेका टोपबहादुर रायमाझी एमालेतिर लागेको प्रभाव प्रष्ट देखिएको नेताहरु बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रभाव विस्तार गरेको कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लामा पनि माओवादी केन्द्रको जनाधार खुम्चिएको देखिन्छ । बर्दियामा माओवादीले अघिल्लो चुनावमा प्रत्यक्षतर्फ एक सिट (क्षेत्र नम्बर २) जितेको थियो भने समानुपातिकतर्फ ४५ हजार ६९८ अर्थात कूल सदर मतको २६.७ प्रतिशत मत पाएको थियो । यो पटक बर्दिया २ मा सरेश पन्थ पराजित हुँदा समानुपातिकतर्फ जिल्लामा २६ हजार ६५३ अर्थात १४.४ प्रतिशत मत पाएको छ ।

२०७४ को चुनावमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट विना मगर निर्वाचित भएकी थिइन् भने जिल्लाभरमा ३३ हजार ६६५ समानुपातिक मत पाएको थियो । यो पटक गठबन्धनको साझा उम्मेदवार बन्दा पनि विनाले जित जोगाउन सकिनन् भने माओवादीको समानुपातिक मत पनि २१ हजार ८७९ मात्र छ । कूल सदर मतमा माओवादीको हिस्सा ८.४ प्रतिशत  घटेको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बन्दा पनि कैलाली–२ मा भगतबहादुर बडुवाल र ३ मा कृष्णकुमार चौधरी पराजित भए । समानुपातिकतर्फ पनि माओवादी केन्द्रको मत ५.३ प्रतिशतले घटेको छ । २०७४ मा ४७ हजार ४९ मत पाएको माओवादीले यो पटक जम्मा २८ हजार ९१९ मत पाएको छ ।

प्रत्यक्षतर्फ माओवादी उम्मेदवारहरु पराजित भएको झापा, ताप्लेजुङ, मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, कपिलवस्तु, बाँके र जुम्लामा उसको समानुपातिक मत घटेकै छ ।

मुस्ताङ, म्याग्दी, रसुवा, रुकुम पश्चिम, गोरखा लगायतका जिल्लामा भने माओवादी केन्द्रको मत थोरै बढेको छ । सबभन्दा धेरै प्रतिशत समानुपातिक मत बढेको मुस्ताङमा देखिन्छ । २०७४ मा १२९ मत पाएको माओवादीले यो पटक ९८९ पाएको छ । म्याग्दीमा पनि ११.१ प्रतिशत मत बढेको छ । अघिल्लो पटक ४ हजार ३०३ मत पाएको थियो भने अहिले ९ हजार ७० पाएको छ । कूल सदर मतमा माओवादीको हिस्सामा ११.१ प्रतिशत बढोत्तरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?